नेपाल–चीन जोड्ने कोरला नाका  

नेपाल–चीन जोड्ने कोरला नाका  

काठमाडौं । नेपाल चीन जोड्ने मुस्ताङको कोरला नाकाले प्राचीन कालदखि नेपाल र चीनलाई मित्रतामा गाँसिरहेको छ । दैनिक जीवन धान्ने उपभोग्य सामानहरुको निकासी र पैठारीसँग जोडिएको यो नाका नेपाल र चीन बीचको जनस्तरमा सम्बन्ध स्थापित र प्रगाढ बनाइ राख्ने एक भौतिक तथा सांस्कृतिक सञ्जाल पनि हो ।

नेपालका दक्षिणी भागहरु भारतसँगका सम्बन्धमा जोडिने र बाँच्ने बचाउने गरिहेका बेला उत्तरका हिमाल पारिका जिल्ला र नेपाली वस्तीहरु यी नाकाहरु मार्फत् चीनसँग जोडिएर बाँचिरहे । यो नेपालीहरुका लागि गौरवको कुरा हो । यहाँका सीमाहरु भारसँग जोडिएका सीमाहरु जस्तो दिन गुणा र रात चौगुणा अतिक्रमण पनि भैराखेका छैनन् ।

हाल समयले गति लिएसँगै कोरला जस्ता नाकाहरु नेपाल र चीनबीचको मात्र होइन, नेपाल र भारबीचको सम्बन्धलाई पनि जोड्ने र गतिदिने ‘कनेक्टिभिटी’ का रुपमा विकास हुन गइरहेका छन् । कोरला नाकाको उत्तरतिर रहेको चीनको भूभागमा द्रुत गतिमा सडकहरु निर्माण र चेकपोस्टहरु खडा भएर नयाँ स्वरुपमा देखिन थालिसकेका छन् ।

तर नेपालतिरको भाग भने ओलाएको साग जस्तो छ । नेपालको तर्फबाट त्यहाँ चेकपोस्टहरु पनि राखिएका छैनन् । बाटो निर्माण र स्तरोन्नतिको कुरा पनि केही आएका छैनन् । सरकार निरीह बनेको छ । नयाँ निर्माणको कुरा त छोडौं, पुरानो सञ्चालनमा पनि ध्यान गएको छैन । यो बाटोलाई कालीगण्डकीको करिडोरबाट जोड्ने भनेको पनि वर्षौ भइसक्यो । अहिले त झन् भूतले खाजा खाने बेला भएको जस्तो छ ।

त्यहाँका स्थानीय वासीहरुले सीमामा चौकीहरु निर्माण गर्न र बाटो बिस्तार गर्नका लागि सरकारको बारम्बार ध्यानाकर्षण गराइरहेका छन् । चीनले सिमानासम्म विकासको विस्तार गरिसकेपछि यसलाई अवसरका रुपमा लिएर नेपाल सरकारले आफ्नो देशमा भित्र्याउनुपर्ने स्थानीयको ठूलो माग रहेको पनि छ ।