संस्थागत सुन तस्करीको सेटिङमा छ सरकार

प्रकाशित मिति : २०७५ आश्विन १८

काठमाडौं । नेपाल प्रहरीले बुधवार काठमाडौंको बालाजुबाट पाँच किलो सुन भित्र्याउँदै गरेका सोमबहादुर तामाङलाई सुनसहित पक्राउ गर्यो । प्रहरीका अनुसार यो सुन प्रहरीका अनुसार रसुवा गढी नाकाबाट भित्र्याइएको थियो । प्रचारमा आएअनुसार साधारण जनतालाई प्रहरीले तस्करीको कमी गर्न यो सुन ठूलो अनुसन्धानपछि फेला पारिएको जस्तो हाउँगुजी बनाइएको छ ।

तर कुरा यसो होइन । सुन तस्करीको संस्थागत अन्डरग्राउण्ड रुटबाट आउनु पर्ने केही किलो सुन नआएपछि प्रहरीलाई शंकास्पदहरुका पछाडि लगाइएको थियो । कुरा के हो भने कहिलेकाहीं दुईचार किलो सुन तस्करीको सेटिङमा रहेकाहरुले पनि यताउती पार्दा रहेछन् । त्यही यताउति पारेको सुनलाई प्रहरीले सुन फेला पार्यो भनेर बाहिर प्रचार गरिन्छ पनि ।

कुरा त यतिसम्म पनि काल्पनिक बनाइन्छ कि नेपालको प्रहरी अनुसन्धानमा संसारका ‘टप टेन’ भित्र पर्दछ । जबकि नेपालकै प्रहरी संस्थागत रुपमा तस्करीको सेटिङमा छ । जहाँसम्म कार्यक्षमता, दक्षता र निष्पक्षताको कुरा हो यो त निर्मला बलात्कार तथा हत्या काण्डपछिका पुलिसका हर्कतहरुले आफै प्रस्ट पारिसकेका छन् नै । ३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड संस्थागत तस्करीको सेटिङ र रुट भन्दा बाहिरबाट पठाइएकाले त्यसैको अन्तर कलहमा शाक्यलाई मारिएको थियो ।

नेपालमा सुन तस्करीको आन्तरिक तथा बाह्य गरी दुई संस्थागत सञ्जाल कायम छन् । आन्तरिक सञ्जालमा सरकार र सरकारी उच्च ओहदाका मानिसहरुको सरकारकै तर्फबाट सेटिङ छ । नेपालका गृह अन्तर्गतका विमानस्थलमा खटाइएका प्रहरीहरु यसै प्रयोजनका लागि सेटिङ गरिएका हुन्छन् । उनीहरुको वृत्तिविकास, प्रमोशन तथा सेवा सुविधा कति सुन आयात गरियो भन्ने आधारमा सरकार वा गृहले आन्तरिक रुपमा गर्ने गरेको छ ।

अर्को छ बाह्य सञ्जाल । यसमा अन्तर्राष्ट्रिय तस्कर तथा सुन माफियाहरुको आफ्नै जालो छ । अन्तर्राष्ट्रिय नामुद तस्कर चाल्र्स सोभराजले ‘नेपालको एयरपोर्टबाट हात्ती पनि आयात निर्यात गरेर पास गर्न गराइदिन सक्छु’ भनी त्यसै भनेका होइनन् । यो अन्तर्राष्ट्रिय गिरोहले नेपाल सरकारबाट सञ्चालित सुरक्षा तथा अन्य कर्मचारीहरुसँगकै मिलेमतोमा सुन तस्करी गर्ने गरेको छ । स्वार्थ हुँदा र आफूलाई सजिलो हुँदासम्म दिल्लीले यो सेवा र पहुँचलाई निकै नै उपयोग गर्ने गरेको छ । तर केही निहुँ खोज्नु परेमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय तस्करीका लागि ट्रान्जिट बनेकाले आतङ्कवादको त्रास रहेको पनि भनिरहने गरेको छ ।

नेपालमा सबै कुरा दलालहरुले चलाएका छन् । शासन सत्तामा आफैमा दलाल संसदीय व्यवस्था छ । सरकारमा दलाल शासकहरु छन् । विचौलियो सर्वत्र बिगबिगी छ । राज्यको प्रवृत्ति नै दलाल छ । तस्करीेको सुनले नपुगेर स्वयम् प्रधानमन्त्री एक किलो चिनीको मूल्य तोक्न र त्यसवापत आउने मुनाफा बाँडफाँडका लागि ठाडो आदेशमा निर्णय गराएरै कृत्रिम अभाव सिर्जना गराउँछ ।

यो तस्करहरु तथा सरकारी नेता र उच्च पदस्थ कर्मचारीहरुका लागि त शुभलााभको विषय हुनसक्ला पनि, तर आम जनता र नेपालका लागि भने निकैै ठूलो लज्जाको विषय हो ।