टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटमा आज नेपाल र म्यानमार भिड्दै

टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटमा आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं, असोज १७ । टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटको एसिया अन्तरगत समूह ‘बी’ को खेलमा आज (बुधबार) नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार १२ बजेर १५ बाट सुरु हुने उक्त खेल मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुनेछ । नेपाल र म्यानमारले पहिलो पटक सन् २००६ मा एसीसी ट्रफीमा खेलेको थियो । जुन खेलमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।

त्यतिबेला नेपालले चमत्कारिक प्रदर्शन गर्दै म्यानमारलाई १० रनमा नै अलआउट गर्न सफल भएको थियो । ११ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले मात्र २ बलमा खेल जितेको थियो ।

यो सँगै नेपाल म्यानमारलाई पराजित गर्दै सुखद सुरुवातको दाउमा छ भने म्यानमार पनि नेपाललाई रोक्ने प्रयासमा रहेको छ । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।