आयल निगमको तेल बोक्नु पर्ने ट्यांकरमा गाँजा बोकेपछि

आयल निगमको तेल बोक्नु पर्ने ट्यांकरमा गाँजा बोकेपछि

काठमाडौं, असोज १७ । नेपाल आयल निगमको इन्धन बोक्ने ट्यांकरबाट मंगलबार २ सय ९५ केजी गाँजा बरामद भएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उक्त ठूलो मात्राको गाँजा नेपालमा तेल खन्याएर भारततर्फ फर्किंदै गरेको ना.४ख ३९६९ नम्बरको ट्यांकरबाट नियन्त्रणमा लिएको हो ।

ब्युरोले मकवानपुरको मनहरी–७ रमनटारमा गुडिरहेको ट्यांकर नियन्त्रणमा लिएको छ । तस्करीमा संलग्न रहेको अभियोगमा ट्यांकर चालक बाराको जितपुर सिमनाका ३८ वर्षीय प्रह्लाद ठकुरी पक्राउ परेका छन् ।

ब्युरोका एसएसपी विश्वराज पोखरेलले इन्धन बोक्ने ट्यांकरमा लागुऔषध तस्करी हुनु देशकै लज्जाको विषय भएको बताए । उनले भने, ‘लागुऔषध तस्करले तस्करीका लागि अनेक उपाय लगाउँछन् । तर, पछिल्लोपटक इन्धन बोक्ने ट्यांकर नै प्रयोग गरेको पाइयो । यसो हुनु लज्जाको विषय हो । यस विषयमा गम्भीर अनुसन्धान हुन आवश्यक छ । प्रहरी यसैमा केन्द्रित छ ।’

तस्करले ट्यांकरको तीनवटा खोपामध्ये एउटामा गाँजाको चाङ लगाएर तस्करी गरेको प्रहरीले बतायो । उक्त ट्यांकर केही दिनअघि मात्रै भारतबाट तेल बोकेर आएको थियो । फर्किंदा खाली ट्यांकीमा लागुऔषध भरेर फर्किएको अवस्थामा नियन्त्रणमा परेको हो । प्रहरीका अनुसार मंगलबार बरामद गरिएको गाँजाको बजारमूल्य करिब ४५ लाख रुपैयाँ हुन आउँछ ।