पाँच किलो सुनसहित एक युवक पक्राउ

काठमाडौं, असोज १७ । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।

स्थायी घर रसुवा भएका १८ वर्षीय सोमबहादुर तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार बालाजुको तिनपिप्ले भन्ने स्थानबाट सुनसहित पक्राउ गरेको हो । तामाङले उक्त सुन रसुवागढी नाकाबाटै भित्र्याएका थिए ।

बरामद गरेको ५ केजी सुनको बजार मूल्य दुई करोड ५० लाख रुपैयाँ हुन आउँछ । परिसरले केही दिन अगाडि पनि रसुवा नाकाबाट भित्र्याइएको तीन केजी सुनसहित दुई जनालाई पक्राउ गरेको थियो ।