काठमाडौं, असोज १२ । शनिबारदेखि सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ । अखिल नेपाल फुटबल सघं (एन्फा) द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताए ।
लिग हुने दुबै मैदानमा सिसी क्यामेरा राखेर खेलको निगरानी हुनेछ र त्यसको साथै अर्को क्यामेरा पनि हुँनेछ । यदि म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार नै कारवाही हुने भएको छ । लिगका खेलहरु सातदोबाटोस्थित एन्फा मैदान र हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।
टिकट मूल्य ५०० र २००
एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए अनुसार लिग खेलको टिकट मूल्य हल्चोक मैदानमा हुँदा २०० र एन्फा कम्प्लेक्समा हुँदा २०० र ५०० हुनेछ ।
प्रिम्याच कन्फ्रेन्स
‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले लिगअघि शुक्रबार सबै १४ क्लबका प्रशिक्षकलाई राखेर ‘प्रि म्याच कन्फ्रेन्स’ आयोजना गरिने बताए । उहाँले यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी गराउने सकिने उनले जानकारी दिए ।
लिगको मार्केटिङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ‘ए’ डिभिजन लिगको लागि टाइटल स्पोनसरको सम्झौता गरिसकेको छ । सम्झौतापछि लिग पल्सर शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ । चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिगको दोस्रो खेल आइतबार संकटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएपछि केही समयका लागि लिग स्थगित हुनेछ । रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म हुनेछ ।
लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।
लिगको विजेताले रु ५० लाख पाउनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ ।
लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिने छन् ।