काठमाडौं । नेपालको प्रहरीलाई सबैभन्दा असक्षम र निकम्मा साबित गरेको छ निर्मला बलात्कार तथा हत्याकाण्डले । प्रहरी प्रशासन अपराधको घरमा परिणत भएको छ । जनताको विश्वास इतिहासमा सबैभन्दा बढी गुमाएको छ ।
अध्यागमनमा प्रहरी तस्करीको सेटिङमा छ । देशभर प्रहरी अपराध ढाकछोप र पैसा असुलीको सेटिङमा छ । वनमा प्रहरी काठ तस्करीको सेटिङमा छ । सिमानामा प्रहरी भारतीय बोनस बुझ्ने सेटिङमा छ । जहाँ जे काम नियमन र कार्यान्वयनका लागि पठायो, त्यहाँ ठीक सो कामको विरुद्ध सेटिङमा छ नेपाल प्रहरी । यो सेटिङ नेपाल सरकार र सरकारमा आसिन ठूलाबडा शासकहरुको हो । देश यसरी चलिरहेको छ ।
बुधवार गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफदिए–‘निर्मला लगायतकाहरुको बलात्कार र हत्या सामन्तवाद र पुँजीवादले गर्यो ।’ उनले बचाउ गरे– ‘त्यसैले समाजवाद ल्याउनु पर्छ ।’ सांसदहरु हाँसे । संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिका अहिले सबैभन्दा सुरक्षित र सम्पन छ भनेको सुनेर जसरी त्यहाँ उपस्थित भएका विभिन्न देशका प्रतिनिधिहरु हाँसेका थिए, त्यसै गरी ।
सामन्तवाद र पुँजीवादले बलात्कार तथा हत्या गर्दा कुर्सीमा बसेका गृहमन्त्री कुन वादका हुन् ? उनी सामन्तवाद र पुँजीवादका गृहमन्त्री हुन् कि होइनन् ? उनी यसमा जबाफदेही छन् कि छैनन् ? उनको दलाल तथा नोकरशाही पुँजीवादले के हेरेर बसेको छ ?
धामी झाक्री बस्दा मसान लागे, देउती लागे र दृष्टि लागे भनेर कालो बोका काटेर मन्साएको जस्तो हो ? अमूर्त र छलिने कुरा गरेर गृहमन्त्रीले सुख पाउँछन् ? निर्मलाको बलात्कार र हत्याका प्रमाणहरु सबै प्रहरीले नै मेटायो । यो दुनियाँलाई थाह छ, गृहमन्त्री थापाले भनिरहनु पर्दैन । अझ त्यसलाई बढि ढाकछोप र सन्देहात्मक बनाइरहनु जरुरी छैन ।
के थापाको पनि ज्यान खतरामा परेको हुनाले उनले अधिकांशले नबुझ्ने निकै अमूर्त र ‘मसाने’ भाषामा सामन्तवाद र पुँजीवादले निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्यो भन्नु पर्छ । कथित वामको नाममा बनेको दलाल तथा नोकरशाही सरकार यति पत्तुर साबित भएको छ कि यसले अब सामन्तवाद वा पुँजीवादका अमूर्त कुरा गरेर धर पाउने अवस्था नै छैन ।
यो भारतको र स्वयम् गृहमन्त्री थापाले स्वीकार गरेको सामन्तवाद तथा पुँजीवादको खेतालाका रुपमा रहेको दलाल तथा नोकरशाही सरकार अमूर्त जबाफ दिएर सुखसँग बस्न पाउने छैन ।