काठमाडौं, असोज ९ । यहि असोज १५ गतेदेखि बङ्गलादेशको राजधानी ढाकामा सुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुन आजबाट नेपाली राष्ट्रिय फुटबल टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ ।
विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण सातदोबाटोको एन्फा मैदान भएको जानकारी गराउनु भयो । साविक विजेता भएका कारण नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । अघिल्लो संस्करणको पुरस्कार रकम अन्तिम समयमा पाएपछि नेपालले एक साताभन्दा कम समयको तयारीका साथ सो प्रतियोगिता खेल्न जाने भएको छ ।
यस पटकको टोलीको समेत बालगोपाल महर्जनले नै नेतृत्व गर्नेछन् भने कप्तानीको जिम्मेवारी विराज महर्जनलाई नै दिइएको छ । तयारी छोटो समयको रहेकाले प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टोली नै जाने एन्फाले जनाएको छ । हालै बङ्गलादेशमा साफ च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ खेलाडी नेपाली टोलीमा यथावत छन् । गोलकिपर किरण लिम्बू चेम्जोङ र रोहित चन्द विदेशी लिगमा व्यस्त रहेकाले सो स्थानमा विशाल श्रेष्ठ र तेज तामाङलाई समावेश गरिएको छ । किरण माल्दिभ्स र रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन् ।
एन्फाले सोमबार दुई खेलाडीलाई टोलीमा बोलाउँदै बङ्गबन्धु खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । तेज तामाङ नेपाल पुलिस क्लब र विशाल राई मनाङ मस्र्याङ्दी क्लबबाट ‘ए’ डिभिजनका लागि दर्ता भएका खेलाडी हुन् । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।
असोज १५ देखि २६ गतेसम्म हुने बङ्गबन्धु गोल्डकपमा नेपालले पहिलो खेल असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । नेपाली टोली असोज १४ गते त्यसतर्फ प्रस्थान गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । आइतबार अघिल्लो संस्करणमा विजेता भए वापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको हो ।