अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला उद्घाटन समारोह भव्य रुपमा सम्पन्न

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला उद्घाटन समारोह भव्य रुपमा सम्पन्न

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला उद्घाटन समारोह काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको अडिटोरियम हलमा मङ्गलवार भव्य रुपमा सम्पन्न भएको छ । संगठन निर्माण तथा जनपरिचालन अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।

विशेष राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को यो विशेष राष्ट्रिय भेलाले विधान तथा प्रतिवेदन छलफल, बहसबाट पारित गर्दै एक सुयोग्य नेतृत्वको चयन गरोस् भन्दै कार्यक्रमको शानदार सफलताको कामनासहित यो विद्यार्थी आन्दोलनमा एक कोशेढुंगा साबित हुने बताए ।

प्रमुख अतिथि किरणले वर्तमान सरकारको वामपन्थी तथा समाजवादी ढोंग निकै छोटो समयमा वेनकाब भएको भन्दै राष्ट्रियताका कुरा उरालेर नथाक्ने यो सरकारले कालापानी लगायतका मिचिएका सीमाहरु भारतीय क्षेत्रमा परिएको नक्सा प्रयोगमा ल्याइरहेको खुलासा गरे । उनले यसको आधिकारिक धारणा जनतामा नदिइएको भन्दै जनतालाई गुमराहमा राखेर जनताको सूचनाको हकबाट बञ्चित गरिएको बताए ।

यसलाई विद्यार्थी साथीहरुले राम्रो गरी बुझ्नुपर्छ भन्दै किरणले राष्ट्रियता, जनताका जनतान्त्रिक हक र जनजीविकाका कुराहरुलाई संघर्षका रुपमा लिएर अघि बढ्नुपर्ने बताए । एक आँधीबेहरीको उठान जरुरी छ भन्दै युवाहरुलाई संघर्षमा अग्रमोर्चामा लामबद्ध हुन आग्रह पनि गरे । यसका लागि कित्ताबन्दी जरुरी छ भन्दै उनले अब युवा क्रान्तिकारीहरु एक ठाउँमा उभिन जरुरी भएको बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष तथा विशिष्ट अतिथि सीपी गजुरेलले आजका विद्यार्थीहरु नै भविष्यका कर्णधार भएकाले विद्यार्थीमा आएको चेतना, जागरुकता, अध्ययन र विशिष्ट क्षमता आदिले नेपालले भविष्यमा योग्य नेतृत्व प्राप्त गर्ने छ भने । २०३६ सालको आन्दोलन, त्यसपछिका पनि निरन्तर चलेका विद्यार्थी आन्दोलनहरुले नेपालमा हुँदै आएका परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेका छन् भन्दै विद्यार्थीहरु आज योद्धाका रुपमा परिवर्तन हुन जरुरी छ भन्ने कुरामा उनले जोड दिएका थिए ।

राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवी मञ्च नेपालका अध्यक्ष हुुकुमबहादुर सिंहले विद्यार्थी उदाउँदो सूर्य भएकाले यसले अबको आन्दोलनको अगुवाई गर्नुपर्ने बताए । २०३६ सालको विद्यार्थी आन्दोलनको स्मरण गर्दै उनले फेरि पनि विद्यार्थी जुर्मुराएमा देशले मुहार फेर्ने कुरामा जोड दिंदै एकताबद्ध विद्यार्थी आन्दोलनमा जान पनि जोड दिए ।

नेकपा (विप्लव) निकटका अनेरास्ववियु (क्रान्तिकारी) महासचिव प्रकाश शाहीले कार्यक्रमको भव्य रुपमा सफलताको शुभकामना दिंदै देशमा प्रतिक्रान्ति हाबी भएको यो अवस्थामा युवाहरु शिक्षाका लागि एक जुट हुनु पर्ने बताए । उनले यसका लागि अब अर्को क्रान्तिको नेतृत्व गर्न क्रान्तिकारी नेताहरु एकजुट हुनु पर्ने पनि बताए ।

नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष विवेक ओलीले कार्यक्रमको शुभकामना मन्त्व्य व्यक्त दिंदै हालको अवस्थामा विद्यार्थी राजनीतिलाई मसानघाटमा पुर्याइएको छ भन्दै यो भेलाले विद्यार्थी आन्दोलनलाई उचाइमा उठाउनु पर्ने बताए । उनले विश्व विद्यालयमा रहेका विद्यार्थीहरुका लागि यसले परिवर्तनका कार्यक्रमहरु बनाओस् भन्दै फेरिएको परिस्थितिअनुसार संघर्षका कार्यक्रमहरु बनाउनु पर्ने कुरामा जोड दिए ।

नेपाल विद्यार्थी संघकी सम्झना खत्रीले देशका विद्यार्थीहरु एक ठाउँमा आउनु पर्ने समय सिर्जना भएको भन्दै हामीले गरेका र लिएका केही महत्वपूर्ण उपलब्धिहरु पनि गुम्दै गएका छन् र यिनको संरक्षणका लागि हामी उठ्नु पर्ने भएको बताइन् । उनले शहीदले दिएको बलिदान र प्राप्त केही उपलब्धी रक्षाका लागि उठ्नु पर्ने बताउँदै देश तहसनहस पारेर नेकपा सरकारमा बसिरहेको छ भन्दै यस अवस्थामा हामीहरु शैक्षिक मागहरु लिएर उठ्नु पनि जरुरी भएको कुरामा जोड दिइन् ।

राष्ट्रवादी विद्यार्थी संघका बलदेवले यो विशिष्ट अवस्थामा हुन गइरहेको क्रान्तिकारी विद्यार्थीको विशेष भेला भव्य रुपमा सम्पन्न होओस् भन्दै नेपाली जनताले साच्चिकै लोकतन्त्र वा गणतन्त्रको महसुस गर्न नपाइरहेको बताए । विदेशीको राजनीतिक, शैक्षिक, कुटनीतिक तथा अन्य सबै हस्तक्षेपमा नेपाल र नेपाली बाँचिरहेका छन् भन्दै उनले दुर्घटनाको मुखमा परिरहेको देशलाई जोगाउने जिम्मेवारी आज विद्यार्थीको काँधमा आइपरेको कुरामा जोड दिए ।

पूर्व माओवादी निकट विद्यार्थीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले विशेष राष्ट्रिय भेलाको सफलताकाको शुभकामना व्यक्त गर्दै हिंजो विशिष्ट क्षमता भएका नेताहरु एक हुँदा नेपालमा माओवादी आन्दोलन अघि बढ्यो तर आज फुटहुँदा त्यो हाम्रो माझमा रहन भन्दै एकताबद्ध भएर जानका लागि यो भेलाले महत्वपूर्ण निर्णय गरोस् भने ।

अनेरास्ववियुका एक प्रतिनिधिले कलम र तारा अंकित रातो झण्डा विर्सजनवादीहरुको पाउमा नपार भन्दै दलाल तथा तस्करहरुको हातमा जानबाट यसलाई बचाउनु विद्यार्थीको दायित्व हो भन्ने कुरामा जोड दिए । यो सरकारले फरक मत राख्नेहरुलाई निमिट्यान्न पार्न लागिपरेको भन्दै उनले तस्कर तथा दलालहरुलाई संरक्षण गरिरहेको सरकारलाई फ्याँक्न भेलाले गम्भीरतापूर्वक जिम्मा लिने छ भन्ने कुरामा जोड दिएका थिए ।

अनेरास्ववियु पाँचौका घनश्याम मिश्रले देशको रक्षाका लागि अब युवाहरु उठ्नुपर्ने बताउँदै भेलाले यसका बारेमा संघर्षका विशेष कार्यक्रमहरु निर्माण गर्नका लागि सोच्नुपर्ने कुरामा जोड दिए । जसरी दक्षिणपन्थीहरु एक ठाउँमा गए, त्यसैगरी क्रान्तिकारीहरु एक ठाउँमा आउनुपर्ने जरुरी भएको कुरामा जोड दिंदै आज जनताका छोराछोरीहरु देशमा उच्च शिक्षा अध्ययन गर्न नपाइरहेको खुलासा गरे । यसका लागि फेरि पनि विद्यार्थी आन्दोलन उठानको अति जरुरी भनदै उनले देश मुक्ति र परिवर्तनका लागि पर्खिइराखेको बताए ।

नेकपा निकटका विद्यार्थी संगठनका अध्यक्ष जागृत रायमाझीले समाजवाद ल्याउने भनेर हिंडेकाहरु आज आएर विकृत पुँजीवादमा मुन्टो गाडेर रमाइरहेको बताए । अब फेरि अर्को महाभारतका लागि गीता लेखिनु जरुरी छ भन्दै उनले परिवर्तनका लागि युवा विद्यार्थी साथीहरु अब एकजुट हुने बेला आएको बताए ।

अनेमसंघ (क्रान्तिकारी) का सचिव शारदा महतले आज देश अभिभावकविहीन भइरहेको बेला विद्यार्थीहरु उठिबस्नुपर्छ भन्दै अबको आन्दोलन विद्यार्थीहरुको आन्दोलन भएको कुरामा जोड दिइन् ।

कार्यक्रमको उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु तथा सहभागी सबै विद्यार्थीहरुलाई स्वागत गर्दै क्रान्तिकारीका सचिव पेशल दाहालले हाल देशको शिक्षा क्षेत्र शैक्षिक माफियाहरुको हातमा पुगेको उल्लेख गर्दै शिक्षा साधारण जनताको पहुँचभन्दा बाहिर लान खोजिएको बताए । उनले हाम्रा भविष्यका कर्याारहरु तथा प्रतिभाहरु देशबाहिर पठाउने योजनामा वर्तमान सरकार रहेको कुरा उजागर गर्दै यी सबै कामहरु वर्तमान संविधानको भावना विपरीतभएको बताए । संविधानमा व्यक्त मर्मअनुसार माध्यमिक तहसम्म शिक्षा निःशुल्क नै नभएको भन्दै देश शैक्षिक निजीकरणको दिशामा निकै अघि बढिरहेको र उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेशिने क्रम बढ्दो रहेकाले शैक्षिक बहस पनि जरुरी भएको बताएका थिए ।

कार्यक्रममा अतिथिका रुपमा मोहन वैद्य किरण, सीपी गजुरेल, रामसिंहश्रीस, दिनेश शर्मा, हुकुबहादुर सिंह, कृष्णभक्त महर्जन, सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, अमिर महर्जन, ईश्वर तिमिल्सिना, शारदा महत, वसन्त, घनयाम मिश्र, सुरेन्द्र बस्नेत, बलदेव, सम्झना खत्री, विवेक ओली, प्रकाश ओलीको उपस्थिति रहेको थियो ।

सेवन्तराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव राम नेपालीबाट गरिएको थियो । कार्यक्रमको बीचबीचमा सांस्कृतिक कार्यक्रमहरुका साथै गीत र कविताहरु पनि वाचन गरिएको थियो ।