काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई पछिल्लो पटक सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेपछि थुनामुक्त गरिएको छ । सर्वोच्चको आदेशसँगै प्रकाण्डलाई रिहा गरिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले यसअघि पटक–पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत समेत गराएको थियो । थुनामुक्त हुँदै सर्वोच्च अदालत परिसर बाहिर प्रकाण्डले यो सत्तालाई भदौमा उम्रेको च्याउको संज्ञा दिएका छन् । उनले भने, ‘जब नेपाली जनताको राज्यसत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ ।’
उनले भने, ‘जनताको पक्षमा संघर्ष गर्दा हामीलाई ज्यान मुद्दा लगाउने गर्छौं भने प्रचण्डको विरुद्धमा १० हजार नेपाली जनताको हत्या गरेको हत्याराको मुद्दा नेपाली जनताको अदालतमा दर्ता हुन्छ । यसको फेस कसरी गर्छौं ।’ उनले भने, ‘नेपालमा अहिले भएको यो परिवर्तन ओली र ओलीको पार्टीले ल्याएको होइन् । त्यो बेलाको माओवादी पार्टीले ल्याएको हो । हामीले ल्याएको हो ।’ रिहा भएपछि प्रकाण्डको स्वागतका लागि नेकपा (विप्लव)का थुप्रै नेता कार्यकर्ताहरु अदालत पुगेका थिए ।