अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७५ आश्विन ६

काठमाडौं । अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम काभ्रेमा भव्य रुपमा सम्पन्न भएको छ । संगठन निर्माण तथा जनपरिचालन अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको यो दोस्रो राष्ट्रिय भेलाले नीति, कार्यक्रम तथा सुयोग्य नेतृत्वको चयन गर्दै कार्यक्रम शानदार रुपमा सफल रहोस् भनी सफलताको शुभकामना मन्तव्य दिंएका थिए । नेपालमा माओवादीहरुले स्थापना गर्न चाहेको वास्तविक कुरा वर्गीय मुक्ति अन्तर्गत जातीय स्वशासन र आत्मनिर्णयको अधिकार हो भन्दै किरणले नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्तिद्वारा जनवादी राज्यसत्ताको स्थापनासँगै जातीय तथा क्षेत्रीय पहिचानसहितका प्रदेशहरु तथा स्वायत्त क्षेत्रहरु स्थापनाका लागि लागिपरेको बताएका थिए । तर जब फल प्राप्तिको अन्तिम चरणतिर आइपुगियो, त्यतिबेला मूल नेतृत्वले देश र जनतालाई र सर्वहारा वर्गीय क्रान्तिलाई निकै धोखा दिएको भन्दै उनले अहिले पनि राष्ट्रियता, जनतन्त्र र जाजीविकाका समस्याहरु ज्यँका त्युँ रहेको बताए ।

क्रान्तिको उद्देश्य पुरानो राज्यसत्ताको पूर्णतः अन्त्य र नयाँ राज्य व्यवस्थाको स्थापना गर्नु नै रहेका भन्दै किरणले अहिले घुमीफिरी रुम्जाटारमा आएजस्तो उही संसदीय व्यवस्था नै पुनस्र्थापना भएकाले फेरि अर्को संघर्षको तयारी गर्नुपर्ने बताएका थिए । उनले नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्ति भनेको केवल वर्गीय क्रान्ति मात्र होइन भन्दै यो जातीय तथा क्षेत्रीय उत्पीडनबाट पनि मुक्तिको क्रान्ति हो भनेका थिए ।

नेपालमा वर्गमात्र भनेर हुँदैन भन्दै यहाँ उत्पीडित जाति, क्षेत्र र वर्गका कुरा एकैसाथ लानुपर्ने कुरामा जोड दिएका थिए । नेपालको क्रान्ति भनेको एकैसाथ राजनीतिक, भाषिक, सामाजिक, सांस्कृतिक तथा वैचारिक क्रान्ति हो भन्दै किरणले यसको अर्थ संपूर्ण उत्पीडनबाट मुक्ति पाउनु हो भनेका थिए ।

जातीय उत्पीडनबाट मुक्तिका कुरा गर्दा वर्गीय मुक्तिका कुरा बिर्सने र वर्गीय मुक्तिका कुरा गर्दा जातीय उत्पीडनका कुरा विर्सने समस्याबाट क्रान्तिकारीहरु मुक्त हुनुपर्छ भन्दै किरणले नेपालको सन्दर्भमा जातीय मुक्तिका कुरालाई भूरेटाकुरे राजारजौटा देख्ने व्राह्मणवादी चिन्तन र व्राह्मणवादको विरोध गर्दा साम्राज्यवादी तथा विस्तारवादको विरोध गर्न हुँदैन भन्ने चिन्तन दुवै निकै घातक रहेको बताएका थिए । नेपालको सन्दर्भमा आन्तरिक तथा बाह्य राष्ट्रियतालाई निकै गहिराइका साथ बुझिनु पर्ने कुरामा पनि उनले जोड दिएका थिए ।

अतिथि सीताराम तामाङले यति धेरै तामाङहरु छोटो समयमा पनि जम्मा हुन सकेकोमा संगठनका अध्यक्ष फुनाम्गेल मोक्तानलाई धन्यवाद दिंदै तामाङहरुले शीरमा लगाउने तागी वा टोपी वा ताज तथा दौरा सुरुवालको ऐतिहासिक सन्दर्भ कोट्याउँदै तामाङ निकै पुरानो जाति भएको र यसको पहिचान कसैले पनि मेटाउन नसक्ने बताएका थिए । तामाङको आफ्नो भूमि रहेकाले तामाङ आफैले उक्त भूमिमा शासन गर्न चाहना राखेको कुरामा जोड दिंदै उनले हामी जातीय आत्मनिर्णयको अधिकारसहित स्वशासन चाहन्छौं भन्ने कुरामा जोड दिएका थिए ।

उनले नेपालमा हालसम्मको निकै ठूलो र प्रजातान्त्रिक संविधान निर्माण गरिएको भनिएको चर्चा गर्दै त्यति ठूलो संविधानमा नेपालका तामाङलगायतका जनजातिका अधिकारहरु किन अटाएनछन् भनी व्यङ्ग्य समेत गरेका थिए ।

आदिवासी जनजाति महासंघका महासचिव नागेन्द्र राईले उत्साहित हुँदै यसरी जनजातिहरु एकपछि अर्को गरेर भेलाहुँदै र एकताबद्ध हुँदै गयौं भने नेपालमा क्रान्ति संभव छ भन्दै नेतृत्व सही र वैज्ञानिक हुनुपर्ने कुरामा जोड दिएका थिए ।

आज मधेश र पहाडमा आगो बल्ने अवस्था आउँदा पनि प्रधानमन्त्री केपी ओली राजा निरो झैं बाँसुरी बजाएर बसेको झैं गरी कसैका कुरा र सल्लाह पनि सुन्ने गरेका छैनन् भन्दै राईले देश यस्तै हो भने गृहयुद्धमा जानबाट कसैले रोक्न नसक्ने बताएका थिए । हामीले वैचारिक रुपमा कुरा उठाउँदा नसुन्ने ओली सरकारले मंगोल नेश्नल अर्गनाइजेशन र सीके राउतका बारेमा के सुनेको छ भनेर प्रश्न पनि गरेका थिए ।
राईले मधेश पहाडमा एकै पटक समस्या आयो भने केपीले के गर्ने हुन् भन्दै जनताले उठाएको आवाज कसरी केपीका लागि अपाच्य हुनसक्छ भनेका थिए ।

त्यसैगरी भेलाको उद्घाटन समारोहलाई संबोधन गर्दै नेवा मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले ताम्सालिङको सपना हामी सबैको सपना हो भन्दै जनजातिहरुको तर्फबाट ऐक्यवद्धता जनाएका थिए । हिंजो लडेको जनययुद्ध संपूर्ण उत्पीडित जनजातिका मुक्तिका लागि थियो भन्दै श्रेष्ठले नेतृत्वले गद्दारी गर्नाले आजको यो हालत बेहोर्नु परेको कुरामा जोड दिएका थिए ।

पहिचान सहितको संघीयतामा नेपालका सबै जाति तथा जनजातिहरु एक थिए भन्दै श्रेष्ठले त्यसैका लागि देशभरका जनतासँग तामाङ एकाकार भएर अघि बढेका थिए भनेका छन् । जुनसुकै आन्दोलनमा पनि तामाङहरुको योगदान कम नभएको चर्चा गर्दै श्रेष्ठले अबको आन्दोलनमा सबै मिलेर अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रममा अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सहसंयोजक दण्डवीर तामाङ, अनेमसंघकी अध्यक्ष लक्ष्मी मुडभरी, अनेशिसंका महासचिव टंकराम अधिकारीलगायतका जनवर्गीय संगठनका पदाधिकारीहरुले शुभकामना मन्तव्य दिएका थिए ।
उद््घाटन कार्यक्रमका बीचबीचमा तामाङ सेलो नृत्य तथा स्वागत गीतहरुले कार्यक्रममा निकै रौनकता थपेको थियो । सबैभन्दा रमाइलो उत्साह त त्यति बेला आएको थियो, जति बेला नव प्रवेशीहरुलाई प्रमुख अतिथिले अबीर टीका लगाइदिएर तथा खादा ओढाइदिएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुमा मोहन वैद्य किरण, रामसिंह श्रीस, सीताराम तामाङ, दीनेश शर्मा पवमान श्रेष्ठ, नागेन्द्र राई, कान्छाराम तामाङ सुरेश श्रेष्ठ, लक्ष्मी मुडभरी, हरिकृष्ण गजुरेल, सोनाम तामाङ, गणेश खड्गी, अमीर महर्जन, टंककराम अधिकारी रहेका थिए ।