कञ्चनपुर । ‘दलाल संसदीय व्यवस्थाको भण्डाफोर गरौं, नयाँ जनवादी क्रान्तिको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ सम्पन्न भएको नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरको चौथो जिल्ला सम्मेलनले पार्टीको जिल्ला सेक्रेटरीमा विक्रान्तलाई निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न सम्मेलनले विक्रान्तको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
क्रान्तिकारी माओवादीका पिविएम तथा ७ नं. प्रदेश सचिव मानसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले बलात्कार गरी हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई लामो समय वितिसक्दा पनि सार्वजनिक नगरेकाले पीडितलाई चाँडोभन्दा चाँडो हत्याराहरुलाई कारबाहीको दायरामा ल्याई पीडितलाई न्याय दिन जोडदार माग गरेको छ । सम्मेलनले गरेका निर्णयहरुलाई सार्वजनिक गर्न नवनिर्वाचित सेक्रेटरी विक्रान्तद्वारा शनिबार जारी गरिएको वक्तव्यमा सम्मेलन सफल पार्न प्रत्यक्ष परोक्ष रुपमा सहयोग पु¥याउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै जनताका समस्याहरु समाधान गर्न जस्तोसुकै आपत विपतमा पनि पार्टी संघर्षका निमित प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरिएको छ ।
विक्रान्तको अध्यक्षता, चिन्तकको सञ्चालन र शितलको स्वागत मन्तव्यमा सम्पन्न सम्मेलनमा पार्टी केस तथा कञ्चनपुर जिल्ला इन्चार्ज क्षितिजको समेत आतिथ्यता रहेको थियो ।