
काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका जिल्लाको सम्मेलन शुक्रवार बालाजुस्थित इञ्जिनियरिङ कलेजमा भव्य रुपमा सम्पन्न भएको छ । सीटीईभीटी अन्तर्गत रहेका अध्ययन संस्थानहरुलाई अखिल (क्रान्तिकारी)ले उपत्यका जिल्लाका रुपमा समावेश गरेको छ ।
जिल्ला सम्मेलनले दिनेश गिरीको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ । उक्त सम्मेलनका अवसरमा कालीकोट जिल्लाका नेपाल विद्यार्थी संघका जिल्ला सभापति नहकुल खड्का अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका थिए । सम्मेलनमा उपस्थित सैयौं विद्यार्थीहरुले गडगडाहट तालीद्वारा नवप्रवेशी खड्काको स्वागत गरेका थिए ।
संगठनका केन्द्रीय अध्यक्ष सेवन्तराज भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलन कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का ३ नम्बर प्रदेश सेक्रटरी दिनेश शर्माको विशेष उपस्थिति थियो । साथै, केन्द्रीय कोषाध्यक्ष शिलु न्यौपाने र प्रदेश संयोजक पेशल दाहालको पनि अतिथिका रुपमा उपस्थिति थियो ।






























