६ नं.मा बादल र ५ नं. मा दाहाल पक्षधरबीच शीत युद्ध

६ नं.मा बादल र ५ नं. मा दाहाल पक्षधरबीच शीत युद्ध

काठमाडौं । नेकपाले पार्टी केन्द्र निर्माणपछि लगातार अभ्यास गरिरहेको प्रदेश कमिटीको टुंगो लगाउँदै गर्दा ६ नम्बर प्रदेशमा गृहमन्त्री बादल पक्षबाट विद्रोह भएपछि ओली प्रचण्डको टाउको केही दिन अझैं दुख्ने भएको छ । ५ नं. प्रदेशमा पुर्वी रुकुमका गणेशमान पुनले अध्यक्षमा दाबी गर्दा र ६ नम्बर प्रदेशका बादल पक्षका मान्छे मायाप्रसाद शर्माले केन्द्रले तोके अनुसार आफू नबस्ने भनी कमिटीबाट विद्रोह गरेपछि भद्रगोल सिर्जना भएको हो । उनी ६ नं. प्रदेश कमिटीमा सचिवमा नियुक्त गरिएका थिए ।

नेकपाको शुक्रवार बसेको बैठकले लिएको निर्णयअनुसार प्रदेश नम्बर १ का इञ्चार्जमा भीम आचार्य, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् । आचार्य माधवकुमार नेपाल पक्षधर हुन् भने सहइञ्चार्ज काफ्ले रामबहादुर थाप पक्षधर हुन् । त्यसै गरी घिमिरे अध्यक्ष ओली र सचिव राई दाहाल पक्षका हुन् ।

त्यसै गरी प्रदेश नं. २ को इञ्चार्जमा सत्यनारायण मण्डल, सहइञ्चार्जमा विश्वनाथ साह, अध्यक्ष प्रभु साह र सचिवमा सुमन प्याकुरेल रहेका छन् । मण्डल र प्याकुरेल ओली पक्षधर हुन् भने विश्वनाथ नारायणकाजी पक्षधर हुन् । प्रभु साह दाहाल पक्षधर हुन् ।

प्रदेश नम्बर ३ को इञ्चार्जमा अष्टलक्ष्मी शाक्य, सहइञ्चार्जमा हितबहादुर तामाङ, अध्यक्षमा नारायण दाहाल र सचिवमा आनन्द पोखरेल नियुक्त भएका छन् । शाक्य, नेपाल र पोखरेल ओली पक्षधर र तामाङ र दाहाल दाहाल पक्षधर हुन् ।

प्रदेश नं. ४ गण्डकीका इञ्चार्जमा पृथ्वी सुब्बा गुरुङ, सहइञ्चार्जमा खगराज अधिकारी, अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द बहादुर नेपाली नियुक्त भएका छन् । गुरुङ र अधिकारी ओली पक्षधर, पाण्डे दाहाल पक्षधर र नेपाली नेपाल पक्षधर हुन् ।

त्यसै गरी प्रदेश नं. ५ मा शंकर पोखरेल इञ्चार्ज, दलबहादुर राना सहइञ्चार्ज, ओनसरी घर्ती अध्यक्ष र जगप्रसाद शर्मा सचिव नियुक्त भएका छन् । पोखरेल ओली पक्षधर, घर्ती र शर्मा दाहाल पक्षधर तथा राना बामदेव गौतम निकट मानिन्छन् ।

प्रदेश नम्बर ६ अर्थात् कर्णालीमा जनार्दन शर्मा इञ्चार्ज, सहइञ्चार्ज यमलाल कँडेल, अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा नियुक्त भएका छन् । तर मायाप्रसाद शर्माले विद्रोह गरेको बताएका छन् । शर्मा दाहाल पक्षधर, कँडेल गौतम पक्षधर, बोगटी ओली पक्षधर र विद्रोही शर्मा भने थापा पक्षधर हुन् ।

त्यसै गरी प्रदेश नम्बर ७ मा भीम रावल इञ्चार्ज, सहइञ्चार्ज लक्ष्मण जोशी, अध्यक्षमा कर्ण थापा र सचिवमा नेपबहादुर चौधरी नियुक्त भएका छन् । रावल नेपाल पक्षधर, जोशी र चौधरी थापा पक्षधर तथा थापा ओली पक्षधर हुन् ।