काठमाडौं । सेप्टेम्बर ११ देखि १५ तारेखसम्म जम्मा ५ दिनसम्म रुसको भोस्टोकमा लगातार गरिएको ठूलो सैन्य अभ्यास सकिएको छ । संयोगवस यो अमेरिकामा ट्वीन टावर ढलेकै दिनबाट सुरु भएको थियो । यो अभ्यासले रुसविरोधी तथा विशेष गरी अमेरिकी समर्थकलाई केही नजानिदो तर गहिरो खालको सैन्य सन्देश दिन खोजेको देखिएको छ ।
महाद्वीपका हिसाबले एशिया र र युरोपीय (त्यसमा पनि विशेष गरी अमेरिकी ध्रुव) का बीचमा हाल बढिरहेको तनावलाई तन्काउन पनि यसले काम गर्ने गरेको छ । तथापि रुसले यसलाई नियमित तर केही ठूलो सैन्य अभ्यासका रुपमा प्रचार गरिरहेको छ ।
यसमा केही कुराहरुले निकै महत्व राखेका छन् । पहिलो हो, यो आफैमा रणनीतिक महत्वको अभ्यास हो । यसले राजनीतिक, फौजी, प्राविधिक, क्षेत्रीय, महाद्विपीय आदि केही कुरामा गहिरो प्रभाव पारेको छ । हुन त यसलाई रुसी भाषामा ‘भोस्टोक’ भनिएको छ । यसको सामान्य अर्थ ‘पूर्व’ वा रुसको पूर्वीक्षेत्र भन्ने बुझिन्छ ।
दोस्रो कुरा, यो सैन्य अभ्यासबाट ठूलो सैन्य ताजगी प्राप्त भएको छ । हालसम्म निर्माण भएका अस्त्र तथा शस्त्रहरुको पनि प्रयोग र परीक्षण भएको छ । नयाँको प्रयोग र पुरानाको ताजगी भएको छ । अर्को महत्वपूर्ण कुरा भनेको सैन्य अभ्यासबाट जुसुकै अवस्थामा पनि रुस र चीन तम्तयार अवस्थामा रहेका देखिन्छन् ।
तेस्रो कुरा, यसको अभ्यास ठूलो स्केलमा गरिएको छ । यो महाद्विपीय स्केलको छ । यसले विश्वयुद्ध भए पनि तयार रहेको सङ्केत गरेको छ । साथै संसार एक ध्रुवीय होइन, सैन्य रुपमा पनि दुई ध्रुवीय नै रहेको देखाएको छ ।
चौथो कुरा, चीन र मंगोलियाको सहभागिताले एशिया महादेशमा रुसको नेतृत्वमा ठूलो सैन्य अलाइन्स बन्दै गएको देखाएको छ । यसले रणनीतिक सैन्य सम्बन्धलाई विस्तार पनि गरेको छ । साथै, एकअर्काको सैन्य रणनीति तथा युद्ध कलाका बारेमा जान्न पनि सघाउ पुर्याएको छ ।
पाँचौं कुरा, अमेरिकी राष्ट्रपतिले ‘नेटो’ अब काम नै लाग्दैन भनिरहेको बेला ‘वार्सा’को झझल्को दिने गरी यो सैन्य अभ्यास सम्पन्न भएको छ । साथै, अमेरिकाले ‘स्टार वार’को कुरा गर्दा पृथ्वीमा नै उसलाई यो ठूलो चुनौती खडा गरिएको छ ।
यो सैन्य अभ्यासमा ३ लाख रुसी सैनिक प्रत्यक्ष सहभागी भएका छन् । यो महासैन्य अभ्यासमा ३६ हजार आधुनिक ट्यांकहरु, १ हजार भन्दा बढी आधुनिक लडाकु विमानहरु र रुसले भर्खरै निर्माण गरेका आधुनिक अस्त्रहरु यो अभ्यासमा प्रयोग गरिएको छ । यी अबका दिनमा ‘टेस्टेड’ भएका छन् ।
क्रेमलिनले भनेअनुसार ‘आक्रामक र अमित्रवत’ व्यवहारको जवाफमा यसो गरिएको पनि देखिन्छ । हाल १० लाख सैन्य शक्ति रहेको भनिएको रुसमा जल, थल र बायु गरी तीन थरीका सेनाहरु व्यवहारिक रुपमा नै सहभागी भएका छन् । यसमा चीनका तर्फबाट पहिले भनेअनुसार नै ३ हजार २ सय सेना, ९०० विभिन्न आधुनिक हतियार र ३० लडाकु विमान सामेल भएका थिए ।
रुसी स्टाफ जनरल भ्यालरी गेरासिमोभले भने अनुसार रुसले पछिल्लो चरणमा निर्माण गरेका अस्त्रहरु विहीवारको सैन्य अभ्यासमा सफलतापूर्वक प्रयोग गरिएका छन् । हालसम्म निर्मित रुसी सैंन्य अस्त्रहरुमा सबैभन्दा बढी चर्चामा आएका सुखोइ सु–३५ फाइटर जेट, सुखोइ सु–३४ फूलब्याक फाइटर बम्बर र अत्याधुनिक ट्यांक, ब्याटल ट्यांक तथा क्रुज मिसाइलको प्रयोग यो सैन्य अभ्यासका सबै भन्दा आकर्षक र खतरनाक अभ्यास मानिएका छन् ।