काठमाडौं, भदौ २८ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर जानको लागि केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको छ । लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच मुक्तिनाथ मन्दिरसम्म केबलकार विकास तथा सञ्चालनका लागि समझदारी भएसँगै यो प्रक्रिया अघि बढेको हो ।
बुधबार लगानीका बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र प्रवद्र्धक कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीमा हस्ताक्षर गरेका छन् । मुक्तिनाथ जाने केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) १८ महिनाभित्र पूरा गरी बोर्डसमक्ष प्रस्तुत गर्ने गरी समझदारी भएको बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए ।
२०७५ वैशाख १५ मा बसेको लगानी बोर्डको ३० औ बैठकले मुक्तिनाथ केबलकार प्रालिले गरेको प्रस्तावलाई स्वीकृति दिँदै डीपीआर तयार गर्नका लागि निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार बोर्डले प्रवद्र्धक कम्पनीसँग छलफल गरेर डीपीआरको अवधि लगायत टुंग्याएको हो । यसअघि कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ ।
८३.६५ किलोमिटर लामो मुक्तिनाथ केबलकार प्रणाली ६ खण्डमा विभाजन गरी निर्माण गर्न लागिएको छ । डीपीआरले आर्थिक तथा प्राविधिक रुपमा केबलकार आयोजना निर्माण हुने सम्भव देखिएमा यो नेपाललकै सबैभन्दा ठूलो र लामो केबलकार बन्नेछ ।
योजनाअनुसार कास्कीको बिरेठाँटीदेखि घोरेपानीसम्म १३.३ किलोमिटर, घोरेपानीदेखि तातोपानीसम्म १२.७ र तातोपानीदेखि लेतेसम्मको भाग १६.४ किलोमिटर हुनेछ छ भने लेतेको मार्फामा ट्रान्जिट प्वाइन्ट राख्ने योजना छ । लेतेदेखि जोमसोमसम्म २३.९ किलोमिटर, जोमसोमदेखि कागबेनीसम्म ८.२ किलोमिटर र कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्म ९ किलोमिटरको केबलकार निर्माण हुने छ । डीपीआर आएपछि योजनाबारे विस्तृत हुने भएपनि प्रारम्भिक अध्ययनले डीपीआर सम्पन्न भएर वित्तिय व्यवस्थापन भएपछिको ३ देखि ४ बर्षसम्ममा केबलकार निर्माण भैसक्ने देखाएको छ ।
करिब ३५ करोड अमेरिकी डलर अर्थात ३५ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजना निर्माणपछि यात्रुहरुले पोखराबाट सिधै केबलकारमार्फत मुक्तिनाथ मन्दिर जान पाउनेछन् । हाल पोखराबाट पर्वत, म्याग्दी हुँदै वा ट्रेकिङमार्फत आन्तरिक तथा वाह्य पर्यटकहरु र धर्मालम्बीहरु मुक्तिनाथ जाने गरेका छन् । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्ने लक्ष्य राखेको आयोजनामा प्रवद्र्धक कम्पनीले स्थानीयवासी र सर्वसाधारणलाई समेत सेयर दिने लक्ष्य राखेको छ ।