भारतीय विस्तारवाद र ओलीको दलाल सरकारविरुद्ध देजमो ३ नं. प्रदेशद्वारा भदौ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गरिदै

ओली सरकारको निशान छापमै कालापानी, लिपुलेक र लिम्पियाधुरा गायब

प्रकाशित मिति : २०७५ भाद्र २७

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ३ नम्बर प्रदेशले भारतीय विस्तारवाद र ओलीको दलाल सरकार विरुद्ध भदौ २८ गते काठमाडौंमा एक विशाल प्रदर्शन र कोणसभा गर्ने भएको छ । प्रदर्शन दिउँसो १२.० बजे सुनधाराबाट सुरुभई न्यरोड गेटहुँदै असनबाट भित्रिएर इन्द्रचोकमा पुगी कोणसभामा परिणत हुने बताइएको छ ।

लिम्पियाधुरा तथा कालापानी नेपालको नक्साबाट हटाई नेपालका सरकारी कार्यालयहरुमा नक्कली निशान छाप तथा नक्कली नक्साहरु झुण्ड्याउन लगाएको सत्य तथ्य खुल्न आएपछि मोर्चाले यो प्रदर्शन तथा कोणसभा गर्न लागेको हो । मोर्चाले केही दिन अघि नै भारतीय सुरक्षकर्मीहरुले दिनदिनै नेपालका सीमास्तम्भहरु सारिरहेको, दशगजा सीमा अतिक्रमण गरिरहेको, सीमाक्षेत्रमा रहेका आम नेपाली जनता सीमा अतिक्रमणका विरुद्ध लडिरहेकाले देशभरका देशभक्त, प्रगतिशील तथा वामपन्थी अग्रगामी शक्तिहरुसहित सिङ्गो पार्टी पङ्क्ति र आम जनसमुदायलाई सीमा सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सङ्घर्षको तयारी गर्न विशेष अनुरोध गरेको थियो ।

दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतीय विस्तारवादले निरन्तर अतिक्रमण गर्दै आएको छ । अर्कोतर्फ देशभक्त तथा जनगणतान्त्रिक शक्तिहरुको नेतृत्व गर्दै मोर्चाले उक्त हस्तक्षेपविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएका छ । मोर्चाले अब भारतीय विस्तारवाद र त्यसको नेपाली दलाल ओली सरकारका विरुद्ध जनआन्दोलनको उठान गर्नुपर्ने आवश्यकतामा जोड दिन थालेको छ ।

प्रधानमन्त्री बने लगत्तै ओलीले भारत भ्रमण गरी सन् १८१६ को सुगौली सन्धिदेखि भएगरिएका सबै असमान सन्धिसम्झौताहरु कार्यान्वयन गरिने सहमति गरेर आएका छन् । त्यसै अनुरुप हाल कालापानी, लिपुलेक र लिम्पियाधुरा नै गायब पारिएको सरकारी निशाना छाप ओलीको सरकारले प्रयोगमा ल्याएको छ ।