जनयुद्धको उपलब्धि, इतिहास, आदर्श सबै माटोमा मिल्यो । शहीद, बेपत्ता, घाइते, अपाङ्ग र बिस्थापितहरुको बिचल्ली भयो । किसान र श्रमजीवी, जनयुद्धका पूर्व सेना, लडाकु र छापामार आदिको ‘उडायो सपना सबै हुरीले’ भनी जतासुकै चर्चा हुन्छन् । जनयुद्ध रक्षात्मक अवस्थामा पुगेर शान्ति प्रक्रियामा ओर्लिन परे पनि त्यसका कमाण्डरहरु र चालकहरु भ्रष्ट नभइदिएको भए शक्ति, ऐश्वर्य, देह र आत्मरक्षामा पतन नभइदिएको भए आन्दोलन र युद्धको कति ठूलो गरिमा रहिराख्ने थियो । यो पनि जनताका माझमा यत्रतत्र परिचर्चा हुन्छ ।

अप्रत्याशितरुपले क्रान्तिकारी र संशोधनवादी ठूल्ठूला पार्टीहरुको लगनगाँठो कसिए पनि तिनले निर्दिष्ट गरेका समृद्धि, स्थिरता र शान्तिका सङ्कल्पहरुले ढोंग र धाकहरुबाट फड्को मारेर कर्महरुमा परिवर्तित हुने भइदिएको भए जनताका दुःख र बेदनाहरु हराउने त थिए । ती पनि छलफल हुन्छन् । यी टेम्पोका डाइभरहरु बोइङका पाइलट र को–पाइलट भएपछि बोइङ उडाउन नलागेर किन त्रिभुवन एयरपोर्टमा थन्क्याउँछन् भनेर आक्रोश, असन्तुष्टि र विरोधका स्वरहरु पनि छयाप्छयाप्ती उर्लिएका सुनिन्छन् ।

नागरिकहरु कुर्लिन्छन्् । पाइलटले उखानटुक्का र व्यङ्ग्यविनोद घटाएर मात्र हुँदैन, अघि बढाएका गम्भीर कुराहरुमा प्रतिज्ञाको खेती गर्नसक्नु पर्छ । कोपाइलटले पटक पटक भरतपुरको ‘मालाधारी’ मा पुगेर राताम्यै हुने र ‘कुण्ठा’ छोप्ने मात्र होइन, समृद्धि रोप्नेतिर अग्रसर हुनुपर्छ । सोझा र भोलाभाला गृहमन्त्री थापामगरले चोर औंलो उठाएर यातायात सिन्डिकेट र कमिशन, बिचौलिया र आतंक–गुण्डागर्दीका सिन्डिकेटहरु समाप्त गर्ने कुरा बाँडे । तर यातायात सिन्डिकेट तोडेको निर्णय किन केरकार गरी मेटियो ? उनको मुख पाइलट र कोपाइलटले किन थुने ? उनी मुख नखोली वा पच्पच्ती नबाझी किन निरीह भएर बसिरहे ? आफ्नो निष्ठाको त्यस्तो अपमान भएपछि पनि लाचार भएर बसिरहनुको पछाडि कुन स्वार्थ छ ? पछौडे जनजातिका छोरा, मुखमा किन बुजो लागेको छ । उनी किन मुख फोर्दैनन् ? उनले खाने ‘दालमे कुछ काला है’ । मोसो, गाजल वा अलकत्रा ?

अरु जो इमान्दार र संघर्षशील प्रतित हुने नेता र कार्यकर्ताहरु छन्, किन नैतिकता र मूल्यको ह्रास भयो भनेर त्यही ‘मूल्यह्रास’को तबेलामा बाँधिइरहेका छन् ? किन आफ्ना भ्रष्ट, कायर र महत्वाकाङ्क्षी अगुवाहरुको ‘सती’ जान्छन् ? कस्तो स्वार्थमा रङ्गिएका छन् तिनीहरु ? नभएदेखि तिनीहरु अटाउने अरु कुनै स्वाभिमानी र गौरवशाली समूहहरु छैनन् ? उनीहरु तिनमा क्रान्ति र मुक्तिका बेजोड सम्भावनाहरु देख्तैनन् ?

राष्ट्रका मेरुदण्ड भनिने बुद्धिजीवी, चिन्तक, राष्ट्रवादी र सचेत नागरिकहरु प्रधानमन्त्रीदेखि सांसदहरुलाई अयोग्य, अकर्मण्य र असक्षम भनिरहन्छन् मात्र किन ? तिनीहरुलाई हुत्याउने कुनै आँधीबेहरी ल्याउन किन सक्तैनन् ? तिनीहरु पनि कतिपय ‘महको चटनी’ मा मोहित भइरहेका त छैनन् । निष्पक्ष र निर्लोभी भनिने स्रष्टा, कलाकार र गायक–गीतकारहरु पनि प्रदत्त ‘लिसोका पदहरु’मा टाँसिएर पखेटा फट–फटाइरहेका देखिन्छन् ।

समृद्धिका सङ्केतहरु किन देखिदैनन् ? सडकहरु टालिन्छन् र छोपिन्छन् मात्र । किन बन्दैनन् नयाँ सडकहरु ? किन दिगो कानुनहरु नबनी कमजोर कानुनहरु बन्छन् । र, स–साना धक्काहरुले पनि ढल्छन् ? गणतन्त्रको संसद किन पञ्चतन्त्र र बहुदलको भन्दा पनि दुर्बल प्रतित हुन्छ ? सरकारलाई दह्रो गरी उभ्याउनु पर्नेमा किन हल्लाउँछन् सांसदहरु आफ्ना दुनो सोझ्याउन ? खडा उभिन पर्नेहरु किन हल्लिन्छन्, उभिएकाहरु ?

पाइलट र कोपाइलटहरु आफ्ना इच्छाशक्ति र निर्णय सामथ्र्य गुमाएर, तीन थौचाई शक्तिको टाकुरामा उभिएर पनि किन तल बेसीमा पुगेको अनुभूति गर्छन् ? ‘हाम्रो कतै पनि समर्थनमा लेखिन्न–बोलिन्न’, ‘भ्रष्टाचारमा कर्मचारीको सम्लग्नता हुन्छ’, ‘कोटा’ले गर्दा सबैलाई सम्मान पु¥याउन नसकिएको हो’ –देश हाँक्नेहरुको आत्मविश्वास यसरी किन धराशायी हुन्छ ?

अनुभव, त्याग र अनुहारले भरिपूर्ण पाइलट र कोपाइलटहरुको प्रशिक्षणहरुबाट शिक्षित शिकारु र ‘किञ्चित अनुभवी’ मन्त्रालयहरुका विभागाध्यक्षहरु किन आफ्ना विभागहरुका काममा गति र सार्थकता दिन सक्तैनन् ? कर्म नगरेर किन जगमा इँटा राख्ने र पर्दा उधार्ने निरर्थक काम गरेर मात्र हिँड्छन् ? किन सभाहरुमा धार्नीका बोली नबोलेर तोलाका जिभ्रो लतारी बोलेर हिंडछन् ? यस्ता विशेषज्ञता र क्षमताहीन यात्रुहरुलाई पाइलट र कोपाइलटहरु किन बोइङको टिकट दिइरहन्छन् ? किन घितिन्याउन सक्तैनन्; सिट सिटबाट ? तिनीहरुले उनीहरुका सिटहरुमा ‘अडेस’ दिइरहेकाले ‘अर्धचन्द्राकार’ दिन नसकेका होलान् ।

भोकाहरु हजार धाकले भन्दा एक छाकले १ दिन अघाउँछन् । ‘घ्याम्पेहरु’ जुम्लाको कालो मार्सीको चालम र गोरखाको दाल डकारिरहेका पनि ‘सारङ्गीहरु’ चूँदीको घैयाको चामल र चितवनको खेसरीको दालमा रमाइरहन सन्तुष्ट छन् ।

राज्यको धर्म देशमा समृद्धिको थालनी गरिहाल्ने हो । धाक दिइरहने होइन । मुख प्याचप्याच चलाइ रहने होइन । जनताहरुको मुखमा थुकका छिटा पार्दै गफ दिएरहनु राम्रो हुँदैन । कर्मशील हात चलाउन थाल्नु पर्छ । हात चलाउने भनेर जनताहरुका टाउकामा मुड्की बजार्ने होइन । बुद्धुहरुले त यस्ता उल्टो अर्थ लगाउन पनि सक्छन्, आफू मिल्दो गरी । तर त्यस्तो होइन । देश चलाउनु भनेको नेपालको फूलबारीका झार र बुटाहरु उखेल्नु, गोड्नु र पानी पट्याउनु हो ।

नेपालीहरु मुख्य मालीहरुले साझा फूलबारी गोडून् । डोर्याउन् भनेर पाँच वर्ष पर्खिन तयार छन्, तर तिनीहरु गोडेको हेर्न चाहन्छन् । गोड्न थाल न त । गोडौं भनेर गफ लगाएको देख्न चाहदैनन् जनता । उनीहरु त्यस फूलबारीमा आफ्ना पसिना पोख्न उद्यत छन् । तर आफ्नो पसिना मुख्य माली र तिनका मतियारहरुलाई चढाउन कदापि तयार छैनन् ।

खुसी भए जनता–जनार्दन आफ्नो ज्यान दिन पनि तयार हुन्छन् । तर धोका हुने देखे एउटा कपालको रौं पनि दिदैँनन् । तिनीहरु पानी हुन्, तर परे तिनीहरु आगो हुन सक्छन् । मालीहरुले यिनीहरुलाई गफ गरेर नजिस्क्याऊ, बरु काम गरेर खुशी गराऊ ।

प्रतिक्रिया

सम्बन्धित खवर