नेकपा (क्रान्तिकारी माओवादी) कपिलवस्तु जिल्ला संगठन समितिको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोह वाणगंगा–३ को हतौसामा शनिबार भव्य रुपमा सम्पन्न भएको छ । संगठन विस्तार तथा जनपरिचालन अभियानअन्तर्गत उक्त अधिवेशन आयोजना गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै ५ न.प्रदेश सेक्रेटरी क. भीषणले वर्तमान केपी ओलीको नेतृत्वमा रहेको दलाल सरकार र सत्ता लोकतान्त्रिक गणतन्त्रका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविका विरोधी भएकाले देश अन्यौलतातर्फ धकेलिएको बताए । अतिथि भीषणले देश अब यही तरिकाले अगाडि बढे विदेशी तथा स्वदेशी जनविरोधी शासकहरुको स्वार्थका कारणले देशको राजनीति, संस्कारसंस्कृति, समाज तथा जनताको मनोविज्ञान विघटन र विसर्जनको दिशातर्फ अघि बढ्ने कुराको खुलासा गरे । उनले यस्तो अवस्थामा संघर्ष बाहेक अरु कुनै पनि विकल्प बाँकी नरहेको कुरामा जोड दिए ।
उद्घाटन समारोहमा सि.सि.एम द्वय क. जीवराज र क. समिरले शुभकामना मन्तव्य दिएका थिए भने आशिषले स्वागत मन्तव्य द्वारा उपस्थित सबैलाई हार्दिक स्वागत गरेका थिए । अधिवेशन उद्घाटन समारोहको अवसरमा नयाँ शक्ति, विप्लव नेकपा, ओली–प्रचण्डको नेकपा र राजपाबाट तीन दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरु नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका थिए ।
ज्ञानीराम पुरीद्वारा संचालन गरिएको उक्त उद्घाटन समारोह जिल्लाका सेक्रेटरी आकाशको अध्यक्षतामा सम्पन्न भएको थियो ।