‘‘ताम्सालिङ प्रदेश’ निर्माण गर, ‘एकसिंगे गैंडा’ लाई राष्ट्रिय जनावर घोषणा गर’– तामाङ राष्ट्रिय मुक्ति मोर्चा

‘‘ताम्सालिङ प्रदेश’ निर्माण गर, ‘एकसिंगे गैंडा’ लाई राष्ट्रिय जनावर घोषणा गर’– तामाङ राष्ट्रिय मुक्ति मोर्चा

अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाले ताम्सालिङ प्रदेशको निर्माण र एकसिंगे गैंडालाई राष्ट्रिय जनावर बनाउने अभियानलाई जोडदार रुपमा अघि बढाउने भएको छ । मोर्चाले एकताको दोस्रो राष्ट्रिय भेला यही असोज ६ र ७ गते काभे्रको बनेपा नगरीमा गर्ने गरी आफ्नो तयारी सुरु गरिरहेका बेला गरिएको अपिलमार्फत् यो कुरा बाहिर आएको हो ।

‘सम्पूर्ण उत्पीडित जाति, वर्ग र तामाङहरु एक होऔँ ! ताम्सालिङको आन्दोलनलाई सशक्त बनाऔं !’ भन्ने नाराका साथ गरिएको अपिलमा भनिएको छ– ‘वर्तमान सरकारको रबैयाबाट आज आम नेपाली जनताले वास्तविक संघीयता र लोकतन्त्रको अनुभूति गर्न पाइरहेको छैन । जथाभावी कर वृद्धि, मूल्य वृद्धि, शिक्षा स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरुमा भएको माफियाको पक्षपोषण लोकतन्त्रमा शान्तिपूर्ण धर्ना, सभा, जुलुस गर्न पाउने अधिकारलाई निस्तेज पार्न सार्वजनिक स्थानहरुमा गरेको निषेध, २०७५ भाद्र १ गतेबाट लागु गरिएको विवादस्पद संशोधित नँया मुलुकी ऐनको कार्यान्वयनले गर्दा यो सरकार बदनाम भइरहेको छ । आज राष्ट्रियता झन् कमजोर बनाइएको छ ।’

लोकतन्त्र र लोकतान्त्रिक शासनपद्धतिको अनुभूति जनताले गर्न नपाएका र उल्टै नवसम्भ्रान्त शासक र शासन व्यवस्थाको फेरि पनि मारमा पर्न गएको कुरामाथि प्रकाश पार्दै अपिलमा भनिएको छ– ‘भीरबाट लडेको गाईको मासु खाएबापत तामाङहरुले जेल सजाय भोग्नु परिरहेको छ । हिन्दु खस ब्राह्मणवादी राज्य व्यवस्थाबाट बहिस्करण र उत्पीडनमा परेका आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायलाई परिवर्तित राजनीतिक स्थितिमा राज्यका हरेक निकायमा समावेशी सहभागिता र समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा झनै शासक जाति र अभिजात वर्गीय मानिसहरुलाई नै उक्त अवसर दिइरहेका छन् । लोकतन्त्र आज मुठ्ठीभरका हिजोका सामन्त वर्ग दलाल (प्रशासक) नोकरशाही पँुजीपति वर्गकै हातमा केन्द्रित भएको छ । आज लोकतन्त्र के.पी. शर्मा ओलीको भोकतन्त्र र नवोदित पुँजीपति वर्गको भोगतन्त्रको रुपमा विकास भइरहेका छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘यी यावत समस्या र उत्पीडनबाट मुक्त हुनका निम्ति हामीले संघर्षको माध्यमबाट तामाङहरुको आफ्नो ठाउँमा आफ्नो लागि आफ्नै शासनको अनुभूति हुने “ताम्सालिङ” स्वायत्व तथा स्वशासित प्रदेशको स्थापना गर्न जरुरी छ । वास्तविक ताम्सालिङको प्राप्तिका लागि मुलुकमा विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रको ठाउँमा नयाँ संघीय जनवादी गणतन्त्रको स्थापनाले मात्रै पूर्णता दिने छ । तसर्थ, हामीले सबै उत्पीडित जाति, वर्ग र जनसमुदायसँग एकाकार हुँदै आफ्नो मुक्तिका लागि संघर्ष गर्नुको विकल्प नरहेकोले यसै परिप्रेक्षमा संगठनको ठोस नीति र नेतृत्व निर्माण गर्नका लागि राष्ट्रिय भेला गर्न गइरहेका छौं ।’

तय गरिएका नाराहरुमा तामाङहरुको बसोबासको ऐतिहासिक भूगोल “ताम्सालिङ” को घोषणा गर्न माग गर्दै धर्म निरपेक्षतालाई व्यवहारमा कार्यन्वयन गर्न र गाईसट्टामा एक सिङ्गे जनावर “गैंडा”लाई राष्ट्रिय जनावर बनाउन माग गरिएको छ । त्यसै गरी “ताम्सालिङ” भूगोल भित्रका तामाङहरुको भौतिक, सांस्कृतिक धरोहरहरुलाई सूचिकृत गरी इतिहासमा अभिलेखीकरण गर्न, विना मुआब्जा तामाङहरुको जमीनहरु हडप्ने र अधिग्रहण कार्य बन्द गर्न, चेलीबेटी बेचबिखन र महिला हिंसा अन्त्य गर्न, तामाङ युवाहरुलाई गुण्डागर्दीबाट मुक्त पार्न विशेष रोजगार प्याकेजको व्यवस्था गर्न, र “ताम्सालिङ” भूभागको प्राकृतिक सौन्दर्यलाई कुरुप हुने गरी भइरहेको प्राकृतिक स्रोतहरुको दोहनलाई बन्द गर्न पनि अपिलमा माग गरिएको छ ।

तामाङहरुको भाषा, परम्परागत ज्ञान, सीप र प्रविधिलाई मान्यता दिन माग गर्दै “ताम्सालिङ” भूगोलभित्र तामाङ भाषालाई प्रमुख भाषा घोषणा गरी प्रत्येक विद्यालयमा अनिवार्य पठनपाठनको व्यवस्था गर्न माग गरिएको छ ।