काठमाडौं । मलेसियामा नेपाली दुतावासभन्दा त्यहाँ रहेका दलाल तथा दलाल कम्पनीहरु झनै बलिया देखिएका छन् । ती बलिया दलाल कम्पनीहरुले त्यहाँ अवैधानिक रुपमा रहेका नेपालीहरुलाई दुतावास जान नदिएर आफैले महंगोे रकम असुली स्वदेश फिर्ता गर्ने गरिरहेका छन् । मलेसियाली सरकारले मलेसियामा अवैधानिक रुपमा लुकेर काम गरिरहेका विदेशी कामदारहरुलाई गृह देशमा फर्कनका लागि गरिएको पुनः आह्वानको एक साताभन्दा बढी समय बिसिकेपछि सिर्जना हुन पुगेको स्थितिको अभिव्यक्ति हो यो ।
नेपाली दुतावासबाट अवैध भनिएका कामदारहरुलाई नेपाल पठाउँदा १८०० रिंगेट दस्तुरका रुपमा लाग्ने गरेको छ । तर दलाल तथा दलाल कम्पनीहरुबाट नेपालमा कामदारहरुको स्वदेशी फिर्तिका लागि भने ३००० रिंगेट दस्तुर लिने गरिएको छ ।
त्यहाँ बाध्यताले लुकेर बसेका र काम सकिएर पनि समयमा नै घर फर्कन नसकेका कामदारहरुले आफू अवैध रहेको कारण दुतावाससम्म पुग्न नसकेको बताएका छन् । जहाँ पनि दलालको बिगबिगी रहेको र उनीरुको संजाल दुतावाससँग जोडिएको हुनाले मलेसिया स्थित नेपाली कामदारहरु निकै मारमा परेको दुख व्यक्त गरेका छन् ।
दुतावास र त्यहाँस्थित कर्मचारीहरुका अनुसार ती अवैध नेपाली कामदारहरु कहाँ हुन्छन् उनीहरुलाई जानकारी नै हुने गरेको छैन । त्यहाँ बसेर पक्राउ परी जेलको जीवन बिताउनु भन्दा दलालहरु मार्फत् नेपाल फर्किन पाए पनि त्यो ठूलो काम हुने भन्दै दलाहरुले नराम्रो काम नगरेको स्वीकार गर्ने गरेका छन् । कर्मचारीहरुका अनुसार रकम केही महंगो तिरे पनि देश फर्कन र अवैध बसेवापत नेपालीहरुले जेल र यातना त भोग्नु परिरहेको छैन । हालसम्म पनि नेपाली अवैध कामदारहरुको संख्या मलेसियामा उल्लेख्य रहेको बताइएको छ ।