नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति दैलेखको प्रथम जिल्ला अधिवेशन दैलेखको तल्लो डुङ्गेश्वरमा भदौ २० र २१ गते सम्पन्न भएको समाचार प्राप्त भएको छ । संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत दैलेख जिल्ला संगठन समितिले यो अधिवेशन सम्पन्न गरेको हो ।

सम्पन्न अधिवेशनले ३१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । जिल्ला समितिको चयनपछि बसेको पहिलो बैठकबाट सर्वसम्मतिले क. चेतनलाई सचिवमा निर्वाचित गरेको छ ।

प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमरेड परि थापाले समाजमा भएका व्याप्त भ्रष्टचार, कमिसनखोर, बलात्कार आदिका बारेमा प्रकाश पार्दै वर्तमान दलाल सरकारको जनविरोधी चरित्र उदांगो पारेका थिए । त्यसै गरी तीन तहमा रहेका तीन थरीका सरकारहरुले गरेका कर वृद्धि, महं्गी, डोजर आतङ्क र विभिन्न विद्युत परियोजनामा भएको राष्ट्रघात लगायतका थुप्रै विषयहरुमा आफ्नो भनाइ राख्दै अब आन्दोलनको विकल्प नभएको कुरामाथि जोड दिएका थिए ।

उद्घाटन समारोहको शुभकामना मन्तव्यको कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका कार्यबाहक सेक्रेटरी तथा कार्यक्रमका विशेष अतिथि चक्रपाणी शर्माले अहिलेको दुईतिहाई सरकारले जनतालाई राहत महसुस गराउनु भन्दा उल्टै आहात दिएको भन्दै कर वृद्धिलगायतका जनजीविकाका समस्याहरुसँगै राष्ट्रियता र जनघातका कामहरु पनि गरिरहेको कुरा खुलासा गरेका थिए । उनले यो सरकार कम्युनिष्ट सरकार नभई दलालहरुको सरकार भएको बताएका थिए ।

कार्यक्रम जिल्ला इन्चार्ज दीपकबहादुर शाहीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन भरत रेग्मीबाट भएको थियो ।