देशको सीमा तथा स्वाधीनता रक्षाका लागि सङ्घर्षको तयारी गर्न सिंगो पार्टीपङ्क्ति र आम जनसमुदायलाई नेकपा (क्रान्तिकारी माओवादी) को विशेष अनुरोध

देशको सीमा तथा स्वाधीनता रक्षाका लागि सङ्घर्षको तयारी गर्न सिंगो पार्टीपङ्क्ति र आम जनसमुदायलाई नेकपा (क्रान्तिकारी माओवादी) को विशेष अनुरोध

काठमाडौं । देशको सीमा सुरक्षा तथा राष्ट्रिय स्वाधीनता रक्षाका लागि सङ्घर्षको तयारी गर्न सिङगो पार्टीपङ्क्ति र आम जनसमुदायलाई नेकपा (क्रान्तिकारी माओवादी) ले विशेष अनुरोध गरेको छ । भारतीय सुरक्षकर्मीहरुबाट दिनानुदिन सीमा अतिक्रमण भइरहेको, सीमाक्षेत्रमा रहेका आम नेपाली जनता सीमा अतिक्रमणका विरुद्ध लडिरहेका र लिम्पियाधुरा तथा कालापानी नेपालको नक्साबाट हटाई र हटाउन लगाई नेपालका प्रशासन कार्यालयहरुमा नक्कली नक्साहरु झुण्ड्याउन लगाएको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) ले यस्तो अनुरोध गरेको हो ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा हस्ताक्षरित र पार्टी कार्यालय बुद्धनगरबाट प्रेषित एक विज्ञप्तिमा जनाइएअनुसार जनताका जनजीविकाका समस्याहरुका साथै राष्ट्रियताका समस्याहरु पनि संघर्ष उठान गरेर मात्र हल गर्न सकिने अवस्थामा पुगिसकेका छन् । यसबारेमा विज्ञप्तिको सुरुमा भनिएको छ– ‘दार्चुला जिल्लामा अवस्थित कालापानी नेपालको अभिन्न भूभाग हो । यस भूभागमा एकातिर भारत सरकारले हस्तक्षेप गर्दै आएको छ भने अर्कोतिर हामीले त्यस प्रकारका हस्तक्षेपका विरुद्ध निरन्तर संघर्ष गर्दै आएका छौं ।’

पछिल्लो चरणमा आएर प्रबुद्ध व्यक्ति तथा समुहहरुको वैठकको निहुँ पारेर गुपचूपमा ओली सरकारको निर्देशन र मिलेमतोमा नेपाली तथा भारतीय समुहले नेपालको सीमा नक्साबाट सार्वभौम नेपालको भूभागहरु हटाई भारतीय सीमाभित्र देखाएर तयार पारिएको र नेपालका प्रशासन कार्यालयहरुमा झुण्ड्याइएका नक्कली नक्साहरु तुरन्त हटाएर सीमा भूभागको रक्षा गरिनु पर्ने कुराहरु उठाउँदै विज्ञप्तिमा भनिएको छ– ‘सरकारले तयार गरेको नक्सामा कालापानीलाई नेपालबाट कटाएर भारतमा पारिएको र त्यही नक्सा नेपाल सरकारका कार्यालयहरुमा समेत टाँग्ने गरिएको कुरा प्रकाशमा आएको छ । यो विषय अत्यन्तै विडम्बनापूर्ण तथा आपत्तिजनक रहेको छ । यसबारे सरकारको नापी विभागका महानिर्देशक र विभागीय मन्त्रीले समेत गल्ती भएको स्वीकार गरिएको पाइएको छ ।’

वर्तमान ओली सरकारले भारतीय शासकप्रति देखाएको चरम दलाली र चाकरीको धज्जी उडाउँदै र नेपालको सार्वभौमसत्ता, माटो र स्वाभिमान बन्धक राख्न गरिएका हरेक कर्तुत र हथ्कण्डाहरुको पोल खोल्दै विज्ञप्तिमा थप भनिएको छ– ‘यसरी भारतद्वारा नियोजित रुपमा यथार्थको निर्लज्ज रुपमा तोडमोड तथा विद्रुपीकरण गरी प्रस्तुत गरिएको नक्सालाई प्रतिबन्ध लगाउन र सरकारी कार्यालयमा त्यस प्रकारका नक्सा राख्नेलाई कारवाही समेत गर्न सरकारद्वारा अविलम्ब कदम चालियोस् भनी हामी जोडदार माग गर्दछौं ।’

प्रधानमन्त्री बन्ने बित्तिकै ओलीले भारत भ्रमण गरिने र कुनै पनि नयाँ सम्झौता नगरिने भन्दै भारत भ्रमणपछि १८१६ देखिका सुगौली सन्धि लगायतका सबै असमान सन्धिहरु कार्यान्वयनमा लैजाने भनी गरेका सबै सन्धिहरुको अनुमोदन र कार्यान्यनको परिणामस्वरुप नेपालका सीमाक्षेत्रका रणनीतिक महत्वका भूभागहरु गुम्न थालेको प्रति संवेदनशील हुँदै विज्ञप्तिमा भनिएको छ– ‘ठीक यहींनेर अर्को महत्वपूर्ण विषय के छ भने सन् १८१६ को सुगौली सन्धिद्वारा निर्धारित गरिएको हाम्रो सीमा कालीनदी (अर्थात् महाकाली) को उद्गम स्थल लिम्पियाधुरा हो । यस्तो महत्वपूर्ण विषयमा नेपाल सरकारद्वारा तयार पारिएको नक्सामा पनि उल्लेख नगरिएको कुरा बुझिन आएको छ । अतः लिम्पियाधुरासम्मको अखण्ड नेपाली भूभागलाई दर्शाउने गरी अविलम्ब नयाँ नक्सा तयार पार्न र लागू गराउन समेत हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।’

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अब संघर्षविना हल हुन नसक्ने अवस्थामा घचेटिंदै लगिएका हुनाले विशेष संघर्षको लागि उठी बस्न पार्टी पंक्ति र आम जनसमुदायलाई आह्वान गर्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘देशको राष्ट्रिय स्वाधीनता तथा अखण्डताका निम्ति कालापानीका साथै सुस्ता, महेशपुर लगायतका देशका विभिन्न भागमा हुँदै आएको भारतीय विस्तारवादी हस्तक्षेप तथा अतिक्रमणका विरुद्ध संघर्ष गर्नु बाहेक हाम्रा सामु अर्को विकल्प छैन । तसर्थ, हाम्रो पार्टी सम्पूर्ण देशभक्त शक्ति तथा जनसमुदायसित विषयको गम्भीरतालाई राम्रोसित आत्मसात् गरी संघर्षको तयारी गर्न विशेष अनुरोध समेत गर्दछ ।’