काठमाडौं, भदौ १७ । जारी एसिया कप छनौट अन्तरगतको खेलमा आइतबार नेपालले सिङ्गापुरलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ राजेको सिङ्गापुर ४२ ओभरमा १५१ रन बनाउँदै अलआउट हुन पुग्यो । जसमा नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले महत्वपुर्ण समान ३–३ विकेट लिए भने सोमपालले २ र बसन्तले १ विकेट लिए ।
१५२ रनको विजय लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए । यसक्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३ चौका र एक छक्कासहित ३३ रन बनाए भने ज्ञानेन्द्र मल्लले २ छक्का र १ चौकासहित २९ रन बनाए । सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए ।
नेपालकोे बलरहरुको उत्कृष्ट प्रदर्शन
नेपालको बलरहरुको सामु सिङ्गापुरको ब्याट्म्यान निरह रहे । सिङ्गापुरका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन पनि जोड्न सकेनन् । सिङ्गापुरको शुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई सोमपाल कामीले चौथो ओभरभित्र पभेलियन फर्काए ।
त्यसपछि कप्तान चेतन रामचन्द्र सूर्यवंशी तथा अनिश एडवार्ड पारामले सिङ्गापुरको पारीलाई सम्हाल्ने प्रयास गरे । सूर्यवंशीले सर्वाधिक ६० तथा पारामले ३१ रनको योगदान दिए । सूर्यवंशीले ८८ बलमा ८ चौका र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर कार्तिकेन सुब्रमनियनले २० रन बनाए ।
यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा युएईसँग नेपाल पराजित भइसकेको छ । शनिबार मलेसियाबिरुद्ध नेपालले पहिलो जित हासिल गरेको थियो । अब नेपालले हङकङसँग १९ गते खेल्नेछ ।