काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गर्दै भारतीय सरकारले २८ अगस्तमा विभिन्न सामाजिक तथा बौद्धिक क्षेत्रमा क्रियाशील बुद्धिजीवी, कवि, लेखक, कानुनविद्, पत्रकार तथा मानवअधिकारकर्मीहरुलाई गरेको गिरफ्तारीको दृढ विरोध एवम् भत्र्सना गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बुधबार जारी गरिएको वक्तव्यमा क्रान्तिकारी माओवादीले यो कदमलाई आफूलाई लोकतन्त्रको मसिहा बताउने भारतीय प्रतिक्रियावादी सरकारको चरम निरंकुशताको अभिव्यक्ति भनेको छ । वक्तव्यमा गिरफ्तार गरिएका सबै बौद्धिक व्यक्तित्वको अविलम्ब रिहाईको जोडदार माग समेत गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “यही २८ अगस्तमा भारतीय सरकारद्वारा विभिन्न सामाजिक तथा बौद्धिक क्षेत्रमा क्रियाशिल भारतका बरबर राव, गौतम नवलखा, आनन्द तेलतुम्बडे, सुशान अब्राहम, सुधा भारद्वाज, बेरन गोन्जाविल्सलगायतका मानवअधिकार तथा सामाजिक अभियानकर्मी, पत्रकार, वकिल एवम् प्रगतिशील बुद्धिजीवीहरुलाई अनेकौं झुठ्ठा आरोप लगाई उहाँहरुका निवासमा एकै समयमा छापा मारी गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखेर कठोर शारीरिक तथा मानसिक यातना दिइएको कुरा विभिन्न सञ्चारमाध्यममार्फत् प्रकाशमा आएको छ । यो आफूलाई लोकतन्त्रको मसिहा बताउने भारतीय प्रतिक्रियावादी सरकारको चरम निरंकुशताको अभिव्यक्ति हो । हाम्रो पार्टी भारत सरकारको यस प्रकारको बौद्धिक समुदायविरोधी तथा निरंकुश गतिविधिको दृढ विरोध एवम् भत्र्सना गर्दछ । र, गिरफ्तार गरिएका सबै बौद्धिक व्यक्तित्वको अविलम्ब रिहाईका लागि जोडदार माग गर्दछ ।”