मोदीको हिन्दू फासिवादी सरकारद्वारा प्रतिष्ठित वामपन्थीहरुमाथि भारतभर दमन र धरपकड

प्रकाशित मिति : २०७५ भाद्र १३

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले नेपालमा यही भाद्र १४ र १५ गते हुन गइरहेको बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउन लागेको पूर्वसन्ध्यामा भारतभरका वामपन्थी नेता तथा कार्य कर्ताहरुलाई भारतीय पुलिस लगाएर गिरफ्तार गर्न लगाएका छन् । मंगलवार भारतभर भएको यो खाले गिरफ्तारीमा जनताका बीचमा लोकप्रियता प्राप्त गरेका नेता तथा कार्यकर्ताहरु पनि रहेका छन् ।

गिरफ्तार गरिएका यी सबैलाई विगत एक वर्षभित्र घटेका वा घटाइएका कुनै न कुनै घटना वा हिंसासँग जोडेर आरोपसमेत् लगाइएको छ । गिरफ्तारीको यो सिलसिला महाराष्ट्रबाट सुरु गरिएको थियो । त्यहाँ गिरफ्तार गरिएकाहरुलाई एल्गर परिषद्को आह्वानमा अघि बढाइएको जातिय हिंसासँग जोडेर मुद्दा लगाउने तयारी गरिएको बताइएको छ ।

गिरफ्तार गरिएका सबैलाई गैरकानुनी गतिविधि रोक्न बनेको ऐन अन्तर्गत कारवाहीको दायराभित्र ल्याइएको प्रदेश सरकारहरुले जनाएका छन् । भारतीय दण्डसंहिता अन्तर्गत कारण नखुलाएर पनि गिरफ्तार गरिएका पार्टी नेता, कार्यकर्ता र स्वतन्त्र व्यक्ति व्यक्तित्वहरुलाई ६ महिनासम्म थुनामा राख्ने सकिने व्यवस्था गरिएको छ ।

गिरफ्तार गरिएकाहरु धेरैजसोलाई भारतीय माओवादीसँग जोडिएको आरोप लगाइएको छ । गिरफ्तार गरिएकाहरुमा प्रतिष्ठित कवि, साहित्यकार, वकिल, पत्रकार, मजदुर नेता तथा स्वतन्त्र व्यक्ति व्यक्तित्वहरु रहेका छन् ।

यी सबैलाई मोदी सरकारको कडा आलोचना गरेर राज्यविरुद्ध लागेको भनिएको छ । सरकारले यी व्यक्तिहरुको घर, कोठा, डेरा र संपर्कस्थानमा छापा मारेर गिरफ्तार गरेको छ । अरुन्धती रोयजस्ती स्थापित विदुषिले भन्ने गरेकी छन् कि ‘जजसले दिनदाहाडै सार्वजनिक स्थल र मूल सडकहरुमा मान्छे मार्दै र गुण्डागर्दी गर्दै हिंड्छन्, उनीहरुलाई समातेर कारवाही गर्नुको बदला प्रतिष्ठित वकिल, कवि, लेखक, साहित्यकार तथा दलित लगायतका जनताकोे अधिकार माग गर्ने मान्छेहरु र वुद्धिजीवीहरुलाई अनाहक गिरफ्तार गरी यातना दिने गरेको छ ।’

गिरफ्तार गरिएकाहरुमा वारबरा राव, सुधा भारद्वाज, गौतम नवलखा, अरुण फेरेइरा र भेर्नोन गोन्साल्भ्स जस्ता स्थापित व्यक्ति तथा व्यक्तित्वहरु रहेका छन् ।

वारबरा राव तेलगु कवि तथा माओवादी विचारक हुन् । सुधा भारद्वाज ट्रेड युनियनवादी नागरिक अधिकारपक्षधर वकिल हुन् । गौतम नवलखा दिल्लीस्थित नागरिक अधिकार पक्षधर वकिल हुन् । अरुण फेरेइरा देशभक्ति युवा मञ्चका नेता हुन् र उनी यसअघि ७ वर्षभन्दा बढी जेलमा बसेर निर्दोष भनी छाडिएका थिए । भेर्नोन गोन्साल्भ्स नक्सलाइट आन्दोलनमा दख्खल राख्ने वुद्धिजीवी हुन् । उनी यसअघि गिरफ्तार परी ६ वर्ष जेल जीवन बिताएर निर्दोष ठहर पछि छुटेका थिए ।

यस अघि स्वयम् मोदीकै निर्देशनमा भारतीय पुलिसहरु मार्फत् भारतीय माओवादीहरुले मोदीको हत्या गर्ने योजना बनाएको भनेर निकै सनसनीपूर्ण समाचार सञ्चारमाध्यमहबाट प्रचार गर्न लगाई मंगलवार गरिएको देशव्यापी दमन र धरपकडका लागि पृष्ठभूमि तयार पारिएको भारतीय राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

(एजेन्सीहरुको सहयोगमा)