काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट प्राध्यापक, बुद्धिजीवी, जनसाँस्कृतिक महासंघ, क्रान्तिकारी पत्रकार महासंघ, अनेमसंघ (क्रान्तिकारी), अखिल नेपाल ट्रेड यूनियन महासंघले संयुक्त रुपमा वक्तव्य जारी गर्दै भारतीय बुद्धिजीवी, लेखक, कानुनविद, सञ्चारकर्मी, मानवअधिकारवादी तथा प्रोफेसरहरुको अविलम्ब रिहाईको माग गरेका छन् । उनीहरुले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, “आफूलाई प्रजातन्त्रको अद्वितीय नमूना र प्रेरक ठान्ने विस्तारवादी भारतीय शासक मोदीको सरकारले जनताका प्रिय क्रान्तिकारी बुद्धिजीवी, स्रष्टा वरवर राव तथा बौद्धिक व्यक्तित्व, लेखक, कानुनविद् तथा प्रोफेसर अरुण फरेरा, वर्णन गाल्सालविस, गौतम नवलखा र राधा भारद्वाजलाई गिरफ्तार गरी अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको खिल्ली उडाएको छ ।”
वक्तव्यमा अगाडि भनिएको छ, ‘साम्प्रदायिक तथा हिन्दू्र अतिवादी मोदी अभिव्यक्ति स्वतन्त्रताविरोधी कदमको हामी नेपालका बौद्धिक समुदाय, पत्रकार, साँस्कृतिककर्मी, मानवअधिकारप्रति प्रतिबद्ध संगठन र समुदाय उक्त कदमको तीव्र भत्र्सना र निन्दा गर्दछौं । साथै, भारतीय बुद्धिजीवी, लेखक, कानुनविद, सञ्चारकर्मी, मानवअधिकारवादी तथा प्रोफेसरहरुको अविलम्ब रिहाईको माग गर्दछौं । साथै विश्वभरिका सम्पूर्ण न्यायप्रमी समुदायलाई उक्त गिरफ्तारीको निन्दा गर्न र उहाँहरुको रिहाईका लागि संयुक्त आवाज उठान आव्हान समेत गर्दछौं ।’
वक्तव्यमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउत, अखिल नेपाल लेखक संघका अध्यक्ष मित्रलाल पंज्ञानी, क्रान्तिकारी राष्ट्रिय बुद्धिजीवी मञ्चका अध्यक्ष हुकुमबहादुर सिंह, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष लक्ष्मी मुडभरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक ईश्वर तिमिल्सिनाको नाम उल्लेख गरिएको छ ।