कञ्चनपुर, भदौ ७ । कञ्चनपुरको महेन्द्रनगरमा लगातार चार दिनेदेखि चर्किएको आन्दोलनमा बिहीबार दिउँसो गोली चलेको छ । प्रहरीद्वारा आन्दोलनकारी माथि गोली बर्साउँदा सात जना घाइते भएका छन् । घाइतेहरुको कसैको टाउकोमा त कसैको खुट्टामा चोट लागेको छ ।
प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तीर्थ पनेरु, भण्डाराका अर्जुन, कैलालीका सन्तोष कडरिया र भासीका तेज भट्ट लगायतका रहेका छन् । अहिले घाइतेहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा केही दिन अघि प्रहरीले एकजना मानसिक सन्तुलन ठिक नभएका युवकलाई सार्वजनिक गरेपछि उक्त आन्दोलन सुरु भएको थियो ।
महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रित रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको थियो । प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।
ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन् । त्यही क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो ।
बिहानैदेखि बजार व्यवसाय पूर्णरुपमा बन्द गरेर स्थानीयबासी आन्दोलित भएका हुन् । शिक्षण संस्था र यातायात सेवा समेत बिहानैदेखि सञ्चालनमा आएका छैनन् ।
बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार अभियुक्त सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो । आन्दोलन नेतृत्वबिहीन हुँदा उग्र बनिरहेको छ ।