निर्मला हत्याकाण्डको दोषी पत्ता नलगाउनुमा नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरको गम्भीर ध्यानाकर्षण

निर्मला हत्याकाण्डको दोषी पत्ता नलगाउनुमा नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले एक विज्ञप्ति जारी गरी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको विभत्स हत्याकाण्डका दोषीको हालसम्म पहिचान नगरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उल्टै छिटोभन्दा छिटो खोजविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विरोधमा उत्रिएका स्थानीय सर्वसाधरणहरुमाथि गोली हानी सातजना निर्दोष जनतालाई गम्भीर घाइते बनाएपछि पार्टीको ध्यान गहिरिंदै गएको पनि बताइएको छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको विभत्स हत्याको अभियुक्त भनेर नक्कली अभियुक्त खडा गरेकोमा स्थानीयवासीहरुले २८ औं दिनसम्म पनि विरोध प्रदर्शनका कार्यक्रम जारी राखेका छन् । त्यहाँको प्रशासनले बलात्कारी र हत्यारा भनी मानसिक सन्तुलन नभएका एक स्थानीय दिलिपसिंह बिष्टलाई खडा गरेपछि विरोध प्रदर्शनले उग्ररुप लिएको हो ।

क्रान्तिकारी माओवादी कञ्चनपुरका सेक्रेटरी विक्रान्तको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘२०७५ साउन १० गतेका दिन कन्चनपुर जिल्ला भीमदत्त नगरपालिका–२ महोलियास्थित स्थानीय उच्च माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा निर्मला पन्तको बलात्कारपछि विभत्स शैलीबाट गरिएको हत्यालाई लिएर आज अट्ठाइँसौं दिनमा पनि आम सर्वसाधरण फिल्डमा उत्रन बाध्य भएका छन् । वास्तविक दोषी पत्ता लगाई सार्वजनिक गर्नुको सट्टा प्रहरी प्रशासनले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिस्टलाई जबर्जस्त रुपमा बोलकबोल गराई सार्वजनिक गर्नुले घटना थप रहस्यमयी बन्दै गएको छ ।’

प्रहरी प्रशासन नै गम्भीर रुपमा यस मामलामा मुछिंदै गएपछि स्थानीय जनता थप आक्राशित भएका छन् । जनताका अनुसार प्रशासनले दोषीलाई बचाउन र पीडितलाई न्याय नदिन ठूलो चलखेल गरिरहको र बलात्कार तथा हत्याको घटनामा उपल्लो तहको वा ठूलै मान्छे रहेको आशंका पनि गरिरहेका छन् । विज्ञप्तिमा थप भनिएको छ– ‘प्रहरी प्रशासनको यो लज्जास्पद तथा घृणित कार्यले सिंगो प्रहरी प्रशासनप्रति गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । हत्यारालाई सार्वनिक गर्न दबाब दिन उठेको न्यायिक आन्दोलनकारीमाथि अश्रुग्याँस प्रहार गर्ने, धरपकड र लाठी चार्जगर्ने र गोली बर्षाउने जस्ता गलत क्रियाकलापप्रति हाम्रो पार्टीको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । यस्तो व्यवहारले राज्यपक्ष कति निरीह, कमजोर र लाचारी छ भन्ने कुरा प्रस्ट भएको छ । दोषी पत्ता लगाउनुको सट्टा उल्टै आम जनतामाथि गरिएको दमनको घोर भत्र्सना गर्दछौं ।’

त्यसैगरी विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘विभिन्न तह र तप्काबाट यो न्यायिक आन्दोलनमा सहभागी हुन आएका सबैलाई हार्दिक धन्यवाद दिंदै यो न्यायपूर्ण आन्दोलनमा हामी र हाम्रो पार्टीको ऐक्यबद्धताका साथै सदा साथ रहने जानकारी गराउँदछौं ।’

त्यसै गरी कञ्चनपुर जिल्लाको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले एक विज्ञप्ति जारी गरी प्रहरी हस्तक्षेपको घोर भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । विद्यार्थी संयोजक रामबहादुर महतराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– निर्मला पन्तको हत्यारा पत्ता लगाउनु त कहाँ हो कहाँ उल्टै सर्वसाधारणलाई गोली हान्ने प्रशासन दोषीको रक्षक र जनता र पीडितको विरुद्धमा उत्रिएको छ ।’

यदि प्रशासनले यस्तो कुरा जारी राखेमा यो जनताका लागि र विद्यार्थीका लागि सैह्य नभएको भन्दै यसका लागि जनताका साथमा आफूहरु रहने बताइएको छ ।