काठमाडौं । आखिरमा गृहमन्त्री रामबहादुर थापा आफू मातहतका गृह प्रशासन र प्रहरीका भीआईपीहरुलाई कञ्चनपुरबाट फिर्ता बोलाउन बाध्य भएका छन् । गृहका सहसचिवको नेतृत्वमा एक छानबिन समिति गठन गर्दै थापाले त्यहाँस्थित भीआईपीहरुलाई फिर्ता बोलाएका हुन् ।
१३ वर्षीया निर्मला पन्तको बलात्कारी तथा हत्यारा पत्ता लगाउन भएको ढिलाइको विरुद्धमा कञ्चनपुरमा विहीवार २८ औं दिन पनि आम जनस्तरबाट भएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाएर सर्वसाधरणलाई हत्या गर्ने मनशाय राख्न थालेपछि सिंगो देशका सबैको त्यतातिर ध्यानाकर्षण भएको थियो ।
विरोधको यो प्रक्रिया स्थानीय स्तरमा मात्र नभएर संघीय संसदमा पनि प्रवेश गरेपछि बाध्य भएर गृहमन्त्री रामबहादुर थापाले आफू मातहतको प्रहरी प्रशासनका भीआईपीहरुलाई फिर्ता बोलाएका छन् । फिर्ता बोलाइएका भीआईपीहरुमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र रहेका छन् । एसपी डिल्लीराज विष्ट लाई फिर्ता बोलाएको छ । खड्काका ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको छ भने एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई पठाइएको छ । त्यससे गरी डीएसपी ज्ञानबहादुर क्षेत्रीको ठाउँमा कृष्णराज ओझालाई पठाइएको छ ।
विरोधले उग्ररुप लिन थालेपछि बिहीबार नै निष्पक्ष छानबिनको माग गर्दै प्रदेश नम्बर ७ बाट संघीय संसदमा निर्वाचित सांसदहरु लेखराज भट्टसहितको टोली गृहमन्त्री थापालाई भेट्न पुगेको थियो । त्यसपछि निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न गृहले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा एक उच्च स्तरीय छानबिन समिति समेत् गठन गरेको छ ।
गत साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको भेटिएपछि लामो समय प्रहरी प्रशासनले आलटाल गरेर दिन बिताएको थियो । तर धेरै विरोध र स्थानीयको असीमित आक्रोश सडकमा पोखिन थालेपछि मानसिक सन्तुलन नभएका एक स्थानीय दिलिपसिंह बिस्टलाई प्रहरीले दोषी बनाएर उभ्यायो । यो नाटक पछि जनताको आक्रोशको भेल सम्हाल्न नै नसकिने गरी पोखिन थाल्यो । निर्मला पन्तका बुवालाई प्रहरीले विनाप्रमाण किटानी जाहेरी नदिन भन्दै दबाब दिने गरिरहेको थियो ।
हाल यसलाई थेग्न नसकेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ । यो आदेश साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि जारी गरिएको छ ।