ठूलो रणनीतिक योजनासँग जोडिएर आएको छ बेलायती भूमिगत रेलमार्गको कुरा

ठूलो रणनीतिक योजनासँग जोडिएर आएको छ बेलायती भूमिगत रेलमार्गको कुरा

 

झट्ट सुन्दा त नेपालमा चीनले रेल ल्याइदिने भयो त्यो पनि काठमाडौंसम्म । भारतले रेल ल्याइदिने भयो, त्यो पनि काठमाडौंसम्म । गर्दा गर्दा त अब बेलायतले काठमाडौंभित्रै भूमिगत रेल नै घुमाइदिने भयो । सुन्दा रमाइला लाग्ने र ओली सरकारका त्राण धान्ने कथा तथा किम्बदन्ती त यी सबै हुन सक्लान् नै । तर यथार्थमा नेपाल र अझ त्यसमा पनि राजधानी शहर काठमाडौं अब क्रमशः विश्व शक्ति राष्ट्रहरुको सघन खेलमैदानमा परिणत हुँदै छ ।

भारतीय तथा युरोपीय योजनाबद्धतामा बाहिर हेर्दा स्वरुपमा ‘वाम’ सरकार निर्माण गरिदिएका छन्, तर भित्रभित्र भने नेपाललाई विश्व शक्ति राष्ट्रहरुको रणनीतिक ट्रान्जिट बनाउने काममा यी सबै लागि रहेका छन् । वर्तमान सरकार भारतयुरोप मिलेर बनाइदिएका हुनाले यो ओली सरकारमाथि उनीहरुको स्वामित्व, निर्देशन र दबाब नाङ्गै देखिन्छ । चीन भ्रमण जानुपूर्व ओली दिल्ली गएर नेपालका सबै कूटनीतिक तथा वैदेशिक स्वत्व, एजेण्डा र मौलिकता हस्तान्तरण गरेर आएका थिए ।

यसैका आधारमा भारतीय प्रम मोदी चीन गएर सारा नेपाली हित, मौलिकता र स्वत्व सबै ‘सेबोटेज’ गरी हैसियतरहित बनाएर आएका थिए । ओली यतिसम्म निकम्मा र निरीह बनाइएका थिए कि उनले चीन भ्रमणमा देखाउनका लागि निकै ठूलो तामझाम गरे पनि केके न केके संझौताहरु गरिए भनेर डंका पिट्दासम्म पिटेर आखिर स्वतन्त्र र सार्वभौम राष्ट्र र राष्ट्र प्रमुखको हैसियतअनुसार गरिनु पर्ने ‘प्रोटोकल’मा समेत हस्ताक्षर गर्नबाट च्युत भई खाली हात नेपाल फर्केका थिए । बिडम्बना ! आजसम्म त्यो प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन ।

छिमेकी देश नेपालमा चीनविरोधी रणनीति र गतिविधिले जरो गाड्न थालेको अवस्थामा चीनले पहिले ल्हासा–काठमाडौं–लुम्बिनीसम्म रेल ल्याइदिने कुरा गर्यो । तर प्रम ओलीले ‘लुम्बिनी लैजान भारतले नमान्ने भो’ भनेर चीनसँग रोइधोइ गरेपछि ल्हासा–काठमाडौं रेल ल्याइदिने कुरामा सीमित भयो । चीनको पनि आफ्नै स्वार्थ छ । यसले भित्रीरुपमा आफूविरुद्धका गतिविधि हुन नदिन काठमाडौंसम्म रेल ल्याइदिने कुरा गरेको छ ।

भारत र पश्चिमा देशहरु पहिल्यैदेखि नेपालमा के गरी रणनीतक अड्डा जमाउने भनेर उपयुक्त मौका निर्माण गर्न लागि परिरहेका थिए । उनीहरुले दिल्लीमार्फत् विभिन्न ट्रायल र प्रयोगहरु पनि गरे । यसअघिको ओली–दाहालको सरकारबाट दाहाललाई झिकेर ओलीलाई सत्ता च्यूत गरेर पनि हेरे । तर त्यसको नमीठो स्वाद भारतले भूटानको दोक्लाममा चाख्यो । चीनले विश्वमा बेइज्जत हुने गरी भारतलाई ठूलो झड्का थियो । त्यसपछि भारत लगायत पश्चिमाहरु रक्षाकवजको खोजीमा लागे ।

देउवा–दाहालको स्थानीय सरकारको निर्वाचनमा राम्रै गठजोड थियो । यसलाई प्रदेश र संघीय चुनावमा निरन्तरता दिने र देउवा–दाहालको सरकार निर्माण गरिदिने दिल्लीको सोच पछिसम्म पनि रहेको देखिन्छ । तर अमेरिका, बेलायत र युरापीय युनियन भने ओलीदाहालको सरकार निर्माण गरेर त्यसलाई आफूहरुको योजना लागुगर्ने चीन विरोधी रक्षाकवजका रुपमा प्रयोग गर्ने सोचमा थिए । निकै लामो छलफल भएको थियो उनीहरुमा । आखिरमा ओलीदाहालकै गठजोड बनाएर चीनविरुद्ध लड्नेबेला सहयोगी सिद्ध हुने वामपन्थी धाराको ‘क्यामोफ्लेज’ सबैभन्दा उचित हुने निष्कर्षमा उनीहरु पुगे ।

यसमा अमेरिका र बेलायत तथा युरोपीय युनियनले भारतको एउटा शर्त स्वीकार गरे । त्यो थियो, वाम नामको ‘सिखण्डी’को सरकार भारतको प्रत्यक्ष हस्तक्षेप र निर्देशनमा बनाउने तर अमेरिका, बेलायत र युरोपीय युनियन पर्दा पछाडि रहने । यो कुरा पारित भयो । क्षणभरमा ओली–दाहालको एकताको नाटक मञ्चन भयो । वाम गठजोडहुँदै पार्टी एकता पनि भयो । बहुमतको सरकार निर्माण गरियो ।
चीन आफूलाई कम्युनिष्ट भन्छ । उसलाई छल्न, छक्याउन, फसाउन, सहकार्य गर्न, नतर्सन र घुलमेल हुन कम्युनिस्ट नै चाहिन्छ । साम्राज्यवादीहरुलाई ‘भेंडाको छाला ओढेको ब्वाँसो’ आवश्यक थियो । उसले नेपालको भूराजनीतिक अवस्थिति, नेपाली जनताको भावना र कम्युनिस्ट बाहुल्य मतका साथै चीनको प्रत्यक्ष स्वार्थ आदिलाई गंभीरतापूर्वक मनन् गर्दै कांग्रेस नभएर ‘वाम’ खोल निकै उपयुक्त ठहर गरेको थियो । त्यही बनाइयो ।

अहिले देश महंगीले आक्रान्त छ । विकासको नाममा सिन्को पनि भाँचिएको छैन । निर्माणाधीन पुरानै कामहरुलाई निरन्तरता पनि दिइएको छैन । भूकम्प पीडितका लागि आएको विदेशी अनुदान रकम आफ्ना मानिसहरुलाई बाँडेर स्वाहा पारिसके । बाटाघाटा काठमाडौंमा पनि हेर्न लायकका छैनन् । सामान्य यात्रा पनि सहज छैन । जे कुरामा पनि कर लगाउने भन्दा अर्को विकल्प नै नदेखेको यो सरकारका विरुद्धमा जनता सडकमा ओर्लिइ रहेका छन् । देश डुब्दै छ ।

तर आश्चर्यको कुरा, नेपालमा ‘बुलेटप्रुफ’ लगायतका ‘मेट्रो’, ‘मोनो’ र भूमिगत रेलहरु चलाउने भनी संभाव्यताको खोजी भइरहेको छ । चीनको टोली आएको छ, भारतको रासोबासो यहीं छ । अहिले त झन् बेलायत पनि थपिएको छ । नेपालमा रेल कुदाउने संभाव्यता र सुरुङको खोजी हो कि संभावित साम्राज्यवादी लडाइँको संभाव्यता र सुरुङको खोजी हो ? ओली–दाहालको मुखमा चुकुल र नाकमा ठेंडी किन लागेको छ ?

नेपाली जनता बेलैमा सतर्क हुनुपर्छ । अब देश अन्तर्राष्ट्रिय साम्राज्यवादी युद्धको खेल मैदानमा परिणत हुँदै छ ।