‘आज २०७४ साल चैत ९ गते चार पार्टी– नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका विषयहरूमा संयुक्त आन्दोलन गर्ने ठेगान भएको छ । आन्दोलनको ठोस कार्यक्रम बनाउन अर्काे बैठक बस्ने निर्णय भएको छ ।’ यो भनाइ उक्त मितिमा नेकपा (मसाल)का महामन्त्री क.मोहनबिक्रम सिंहले जारी गर्नु भएको वक्तव्यमा भनिएको हो । यही निर्णयअनुसार चार पार्टीको बीचमा संयुक्त बैठकहरू बस्दै गए र संयुक्त संघर्षका कार्यक्रमहरू पनि सम्पन्न भए । चार पार्टीको बीचमा दुई पक्षीय पनि बस्ने र पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्ने निर्णयहरू भए । त्यसै अनुसार नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी)को बीचमा दुई पक्षीय बैठकहरू पनि भए । तर नेकपा (मसाल)ले पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्ने कुरा तत्कालको विषय हुन नसक्ने र कार्यगत एकताको लागि मात्र छलफल गर्ने कुरा आएपछि नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) को बीचमा पार्टीको एकताको लागि आधार तयार पार्न छलफल र बहस गर्ने कुरा तत्कालको लागि स्थगित भएको छ ।

नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी)को बीचमा रणनैतिक विषयहरू अहिलेको न्युनतम कार्यक्रम नयाँ जनवाद हुनुपर्ने, नयाँ जनवादी क्रान्ति बलप्रयोग (सशस्त्र संघर्ष) बाट मात्र प्राप्त हुने, वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, महान् सर्वहारा सांस्कृतिक क्रान्तिजस्ता विषयहरूमा मूलतः समान दृष्टिकोणहरू छन् । यसैको आधारमा कतिपय कार्यनीतिक विषयहरूमा समान दृष्टिकोण नहुँदानहुँदै पनि नेकपा (क्रान्तिकारी माओवादी)ले नेकपा (मसाल)सँग पार्टीको एकताको आधार तयार पार्न छलफल र बहस गर्ने प्रस्तावलाई अगाडि बढाएको हो । पार्टी एकताको लागि आधार तयार पार्न छलफल बहस अगाडि बढेको भए समान दृष्टिकोण नभएका कार्यनीतिक विषयहरू दुई पार्टीको बीचमा आन्तरिक छलफलको विषय हुने थियो । तर त्यो सम्भव नभए पछि समान दृष्टिकोण नभएका कार्यनीतिक विषयहरू सार्वजनिक बहसको विषय बन्न पुगेको छ । यहाँ केही विषयहरूमा छलफल चलाउने प्रयास गरिएको छ ।

राजनैतिक शक्तिहरूको विश्लेषण एउटा महत्वपूर्ण विषय हो । नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी)को बिचमा नेपाली कांगे्रसलाई हेर्ने विषय मूलतः समान छ । तर हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई हेर्ने दृष्टिकोण समान छैनन् । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भनेको छ, ‘माकेको एमालेमा विलय भई कथित नेकपाको रूपमा निर्मित घोर दक्षिणपन्थी अवसरवादी गठबन्धन वर्तमान दलाल तथा नोकरशाही पुँजीपति एवं समान्त वर्गीय पश्चगामी राज्य सत्ताको रक्षाकवच मात्र होइन स्वयम नवप्रतिक्रियावादी शक्तिको रूपमा सरकारमा आसिन बन्न पुगेको छ ।’ २०७५ असार १२ देखि १६ गते सम्म सम्पन्न केन्द्रीय समितिको बैठकमा महासचिव क. ‘किरण’ द्वारा प्रस्तुत र पारित तत्कालिन राजनीतिक प्रस्तावबाट । नेकपा (नेकपा) को बारेमा नेकपा (मसाल)को दृष्टिकोण यस्तो छ, ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकतालाई नेकपा (मसाल)ले सकारात्मक रूप लिन्छ र त्यसलाई स्वागत गर्दछ । ……अहिले त्यो एकता सम्पन्न भएकोमा हामीलाई धेरै नै खुशी लागेको छ ।…… उक्त पार्टी एकतालाई हामीले राजनीतिक कारणले नै समर्थन गरेका छौं । सैद्धान्तिक कारणले होइन । माक्र्सवादका आधारभूत सिद्धान्तहरूबाट उनीहरूको विचलन भएको वा उनीहरूले दक्षिणपन्थी बाटो समातेको पृष्ठभूमिमा उनीहरूको बीचमा भएको पार्टी एकताबाट देशमा सच्चा र एकीकृत कम्युनिष्ट पार्टीको निर्माण हुन नसक्ने कुरा निश्चित छ ।’ नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहद्वारा मिति २०७५ जेठ ४ गते प्रेसित वक्तव्यबाट ।

ओली–प्रचण्डले नेतृत्व गरेको नेकपालाई हेर्ने दृष्टिकोणमा अन्तर यही नै हो । नेकपा (मसाल)को २०६३ मा सम्पन्न सातौं महाधिवेशमा पारित प्रस्तावमा नेकपा (एमाले) र तत्कालिन नेकपा (माओवादी)को विषयमा भनिएको छ, ‘एमाले दक्षिणपन्थी अवसरवादी दल हो र माओवादीहरूको पनि त्यही दिशामा संक्रमण भइरहेको छ ।’ त्यतिबेला उनीहरूले एमालेलाई दक्षिणपन्थी अवसरवादी दल भन्थे तर अहिले उनीहरूले दक्षिणपन्थी बाटो समातेको भन्न थालेका छन् । त्यति मात्र होइन नेकपा (मसाल)ले अब एमालेलाई वामपन्थी भन्न थालेको छ । जस्तो २०७४ मंसीर २३ गते प्रकाशित माहेनबिक्रम सिंहको वक्तव्यमा भनिएको छ, “एमाले र माओवादीसित सैद्धान्तिक र राजनैतिक रूपमा हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । तैपनि मतभेदहरूबारे आवश्यकताअनुसार संघर्ष चलाउने अधिकारलाई सुरक्षित राख्दै नेपाली कांग्रेस पक्षीय गठबन्धनहरूको विरुद्ध वामपक्षीय गठबन्धन सित तालमेल गर्ने हाम्रो पार्टीले नीति अपनाएको थियो ।’ यहाँ वामपक्षीय गठबन्धन भनेको नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई नै हो । त्यसकारण वक्तव्यमा उल्लेखित उक्त भनाईबाट के प्रष्ट हुन्छ भने नेकपा (मसाल)को दृष्टिमा एमाले र माओवादी वामशक्ति हुन् । २०६३ मा दक्षिणपन्थी अवसरवादी भएको एमाले र त्यही दिशामा संक्रमण भइरहेको नेकपा (माओवादी) अहिले कसरी वामपक्ष भए भन्ने विषयमा भने कतै विश्लेषण भएको पाइन्न । अहिले नेकपा (मसाल) ले ओली–प्रचण्डले नेतृत्व गरेको नेकपालाई दक्षिणपन्थी दिशा समातेको (दक्षिणपन्थी भई नसकेको) वाम पक्ष भन्दछ भने नेकपा (क्रान्तिकारी माओवादी)ले त्यसलाई घोर दक्षिणपन्थी अवसरवादी भन्दछ । यो दुईवटा दृष्टिकोणले राजनैतिक कार्यदिशालाई दुई अलग दिशातिर निर्देशित गर्दछ । नेकपा (क्रान्तिकारी माओवादी)को दृष्टिकोणले ओली–प्रचण्डले नेतृत्व गरेको दल जो सत्तासीन दल हो त्यो सँग भण्डाफोर र संघर्षको विषय प्रधान भएर जान्छ । आज नेकपा (क्रान्तिकारी माओवादी)ले त्यहि कार्य गर्दै आइरहेको छ । नेकपा (मसाल)को दृष्टिकोणले अहिले सत्तासिन दल नेकपासँग सहकार्य र एकताको पक्ष प्रधान भएर जान्छ । नेकपा (मसाल)ले ओली र प्रचण्डले नेतृत्व गरेको नेकपालाई वाम शक्ति देख्नुको परिणाम त्यो सत्तासीन नेकपाले समाजवाद उन्मुख र प्रगतिशील नीति लागु गर्दछ भन्ने निष्कर्षमा पुग्दछ । कमरेड मोहनविक्रम सिंहले २०७४ साल पुस २२ मा प्रकाशित वक्तव्यमा भनिएको छ– ‘वाम पक्षधर शक्तिहरूको विजयबाट समाजवाद उन्मुख र प्रगतिशील नीतिहरूलाई व्यावहारिक रूप दिन प्रयत्न गर्नका लागि पनि सम्भावना देखा परेको छ ।’ ओली–प्रचण्डले नेतृत्व गरेको नेकपाको सरकार बनेपछि समाजवाद उन्मुख र प्रगतिशील कार्य कुनै पनि हुन सकेका छैनन् । जनता महँगीको मारमा परेका छन् । जनतामाथि कैयौं गुणा कर बढाइएको छ । जनताले आफ्नो विरोध प्रदर्शन गर्न शान्तिपूर्ण रूपमा जुलुस प्रदर्शन गर्न पनि निषेधित क्षेत्र घोषणा गरेर उनीहरूको मौलिक हकमाथि नै बन्देज लगाउन थालिएको छ । ओली सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले कहीं पनि समाजवाद उन्मुख र प्रगतिशील नीतिको प्रतिनिधित्व गर्दैनन् । स्वयं क.मोहन विक्रम सिंहले २०७५ जेठ १६ गते प्रकाशित गरेको वक्तव्यमा भन्नुभएको छ– ‘त्यो बजेट वक्तव्यमा समाजवाद उन्मुख आर्थिक प्रणालीलाई अगाडि बढाउने प्रश्नलाई पूरै उपेक्षा गरिएको छ । त्यसरी त्यो बजेट संविधान र स्वयं एमाले–माओवादी केन्द्रको ६ बुँदे घोषणाले समाजवाद उन्मुख नीतिको स्पिरिटलाई समात्न सकेको छैन ।’ यस्तो हुनुको पछाडिको कारण ओली–प्रचण्डले नेतृत्व गरेको पार्टी घोर दक्षिणपन्थी अवसरवादी पार्टी हुन् र वर्तमान दलाल तथा नोकरशाही पुँजीपति एवं सामन्तवर्गको रक्षाकवच हुनु नै हो । जब सत्ता दक्षिणपन्थीको हातमा जान्छ, त्यतिबेला समाजवाद उन्मुख कार्यक्रम त हुँदैन नै बरु भएको समाजवादी सत्तालाई पनि भत्काइदिंदै लगिन्छ र पुँजीवादको पुनस्र्थापना गराइन्छ । रुस र चीनमा पार्टीको नेतृत्व जब दक्षिणपन्थी संशोधनवादीको हातमा गयो, तब त्यहाँ लेनिन र स्टालिन र माओको नेतृत्वमा स्थापना गरिएका समाजवादी संरचना र सत्तालाई ध्वस्त पारियो र पुँजीवादको पुनस्र्थापना गरियो । संसारभरको इतिहासको अनुभवले दक्षिणपन्थी अवसरवादीहरूको नेतृत्वमा समाजवाद उन्मुख कार्यक्रमहरू लागू हुन सक्दैनन् भन्ने कुराको नै पुष्टि गरिसकेको छ । त्यसैले नेकपा (मसाल)ले घोर दक्षिणपन्थी अवसरवादी शक्तिलाई वामपक्ष देख्नु नै गल्ती भएको छ ।

नेकपा (मसाल)ले ओली–प्रचण्डले नेतृत्व गरेको नेकपालाई वामशक्ति देख्नुले उनीहरूको बीचमा कार्यगत एकता र सहकार्यको कुरा मात्र होइन पार्टी एकताको दिशामा लैजाने सम्भावना छ । मोहनविक्रम सिंहले २०७४ पुस २२ गते प्रकाशित गर्नुभएको वक्तव्यमा भनिएको छ– ‘एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने घोषणा गरेका छन् । तर हामी त्यसप्रकारको एकतामा सामेल हुने निर्णय गरेका छैनौं । तैपनि पार्टी एकतासित सम्बन्धित सैद्धान्तिक, राजनीतिक वा संगठनात्मक प्रश्नहरूमा एमाले, माओवादी केन्द्र वा देशमा अन्य कुनै वाम पक्षधर शक्तिहरूसित सार्वजनिक रूपमा पनि बहस गर्नका लागि हाम्रो ढोका खुल्ला रहनेछ । त्यस प्रकारको बहसको दौरानमा कुनै पनि पक्षसित पार्टी एकता हुनेछ वा हुनेछैन ? त्यो कुरा प्रष्ट हुँदै जानेछ ।’ वक्तव्यको यो भनाइले नेकपा (मसाल)को अब एमाले–माओवादी अहिलेको यो अवस्थामा नेकपा (नेकपा)सँग पनि पार्टी एकताको ढोका खुल्ला गरेको कुरा नै प्रष्ट हुन्छ । अर्थात पार्टी एकतालाई केन्द्रमा राखेर सैद्धान्तिक, राजनीतिक, संगठनात्मक प्रश्नहरूमा बहस गर्न सक्ने छन् । हामीलाई के विश्वास छ भने नेकपा (मसाल)ले आफ्नो सातौं महाधिवेशनमा एमाले र माओवादी केन्द्रलाई जुन सही विश्लेषण गरेको थियो, त्यो विश्लेषणलाई पुनः अँगाल्ने छ र माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई छोडिसकेका शक्तिहरूसित होइन कि सच्चा क्रान्तिकारी कम्युनिष्टहरूको बीचको एकतामा सामेल हुनेछन् । नेकपा (मसाल)सँग कार्यनीतिक सवालहरूमा अरु पनि थुप्रै मतभेदहरू छन् । ती विषयहरूमा पनि अवस्थाअनुसार मैत्रीपूर्ण रूपमा छलफललाई अगाडि बढाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर