दोरम्बाका सहिदहरुको नाम लिने अधिकार छैन प्रचण्डलाई : पवनमान श्रेष्ठ

प्रकाशित मिति : २०७५ भाद्र १

रामेछाप । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य पवनमान श्रेष्ठले दोरम्बा हत्याकाण्डका सहिदहरुको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डहरुलाई दोरम्बा हत्याकाण्डका सहिदहरुको नाम लिने अधिकार नभएको विचार व्यक्त गरेका छन् । क्रान्तिकारी माओवादी रापेछापले दोरम्बा हत्याकाण्डको १५ औं स्मृति दिवसको अवसर पारेर घटनास्थल रामेछाप दोरम्बाको डाँडाकटेरीमा आयोजना गरेको ‘१५ औं दोरम्बा स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता श्रेष्ठले यस्तो विचार व्यक्त गरेका हुन् ।

महान जनयुद्धमाथि गद्दारी गर्दै तत्कालीन रुपमा प्रतिक्रियावादी करार गरिएको एमालेमा जनयुद्धबाट आएको पार्टीलाई समेत विलय गराएका पु्ष्पकमल दाहाल प्रचण्डलाई दोरम्बालगायत जनयुद्धका सहिदहरुको नाम लिने अधिकार नभएको नेता श्रेष्ठको तर्क थियो । नेता श्रेष्ठले भने, “जनयुद्ध र जनयुद्धले अगाडि सारेका एजेण्डासँग सम्बन्ध विच्छेद् गरिसकेका प्रचण्डले जनयुद्ध र जनयुद्धका महान सहिदहरुको नाम लिने नैतिक अधिकार समेत गुमाइसकेका छन् ।” दोरम्बाको स्मृति दिवसकै सन्दर्भ पारेर सत्तारुढ पार्टीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रचण्डतर्फ लक्षित गर्दै नेता श्रेष्ठले भने, “प्रचण्ड आउँदैछन् भन्ने बुझिएको छ, गोहीको आँशु चहाउन नआउँदा हुन्छ । उनी जनता, देश र सहिद, वेपत्ता परिवार तथा घाइते अपाङ्गका गद्दार नै हुन् ।”

कार्यक्रमको प्रमुख अतिथिको आशनबाट नेता श्रेष्ठले तत्कालीन रुपमा राज्यपक्षसँग दाङको हापुरेमा वार्ता चलिरहेको अवस्थामा वार्ता भंग हुने स्थितिको बारेमा तत्कालीन व्यूरो इन्चार्जले समयमै सतर्क गराएको भए दोरम्बा हत्याकाण्ड हुनबाट बचाउन सकिने स्थिति रहेको पनि बताए ।

पार्टीका रामेछाप सेक्रेटरी लाङ्घालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सहिद परिवारहरुको तर्फबाट बोल्दै सहिद ठूलोराम तामङकी श्रीमति मेन्दु तामाङले सहिदका सपनामा धोका नदिन आग्रह गरिन् । पार्टी केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज गगन, केशव ढलकोटी संकल्प र स्वरुपसिंह मोक्तानलगायतका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहिद परिवारहरु सहिद सानुरामकी श्रीमती माया तामाङ, सहिद लक्ष्मन तामाङकी श्रीमती काइली तमाङ, सहिद युवराज मोक्तानको छोरा अमर मोक्तान, सहिद विष्णु मगरको दाई डम्बर मगर, सहिद चतुरमान थामीको छोरा भक्त थामी, सहिद बुद्धिमान तामाङको छोरा ज्ञानबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।


तत्कालीन नेकपा (माओवादी) र सरकार पक्षको बीचमा दाङको हापुरेमा वार्ता चल्दै गर्दा रामेछापको एरिया कमिटिको बैठक दोरम्बाका एक स्थानीय युवराज मोक्तानको घरमा बसिरहेको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले घेरा हाली २१ जनालाई कब्जामा लिएर निर्ममतापूर्वक यातनापश्चात १ घण्टाको पैदल यात्रापछि आउने डाँडाकटेरी भन्ने ठाउँमा तत्कालीन रापेछापका जनसरकार प्रमुख बाबुराम लामा, अम्बिका दाहाल ‘ललिका’, प्रदीप दोङ ‘रक्तिम’, उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, युवराज मोक्तान, लिला मोक्तान, चतुरमान थामी, सोमई थामी ‘संगिता’, टेकबहादुर थापामगर ‘विवेक’, विष्णु थापामगर ‘विमा’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायत २१ जनाको कायरतापूर्वक गोली हानी हत्या गरेको थियो ।