ओली सरकार जनघाती र राष्ट्रघाती : परि थापा

प्रकाशित मिति : २०७५ भाद्र १


नयाँ दिल्ली । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले ओली नेतृत्वको सरकार विगतका सरकार जस्तै जनघाती र राष्ट्रघाती भएको बताएका छन् । १५ अगस्त, २०१८ मा नेपाली एकता समाज, भारतको दिल्ली राज्य अन्तर्गतको नोयडा नगरको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेता थापाले यस्तो बताएका हुन् । सुगौली सन्धिदेखि सुरुभएको राष्ट्रघातको प्रक्रिया राणा, नेपाली कांग्रेस, एमाले र माके हुँदै आज नेकपाको कार्यकालसम्म आईपुग्दा उत्कर्षतिर गैरहेको उनले बताए । उनले आजसम्म पनि देशमा जनतन्त्र, राष्ट्रिय स्वाधिनता र जनजीविका समस्या समाधान हुनुको सट्टा झन विकराल बन्दै जानुको कारण आजसम्मका सत्ताधारीहरुको वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद भएको ठोकुवा गरे । वाह्य शक्ति त्यसमा पनि मुख्यतः भारतीय विस्तारवादको निर्देशनमा चल्ने र घरेलु प्रतिक्रियावादको प्रतिनिधित्व गर्ने दलालहरुको नेतृत्वको सत्ता नै नेपाली जनताको दुश्मन रहेको पनि उनको ठहर थियो । उनले भने, “कम्युनिस्ट नामधारी वर्तमान ओली सरकार पनि पहिलेका सरकार जस्तै जनघाती र राष्ट्रघाती रहेको छ । जनतन्त्र, राष्ट्रिय स्वाधिनता र जनजीविका समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको र उक्त क्रान्तिको सफलताको लागि भारतमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहन्छ ।”

उक्त सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्ने अर्का वामपन्थी नेता तथा सम्मेलनका विशेष अतिथि इन्द्रमोहन सिग्देलले नेपाल प्राकृतिक साधनस्रोतले सम्पन्न र नेपाली जनता मेहनती भए पनि आजसम्मका सत्ताधारी वर्गको राष्ट्रिय आत्मसमर्पणवादी चरीत्र नै नेपाली जनताको दुःख र पराधिनताको कारण भएको कुरा बताए । उनले नेपालमा आज सम्म राजनीतिक क्रान्ति पुरा नभएको र मजदुर, किसान तथा आम उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको हातमा सत्ता नआएको कुरा बताउंदै वर्तमान ओली सरकारको आर्थिक समृद्धिको नारा जनता ढाँट्न अगाडि सारिएको भ्रमपूर्ण वकवास रहेको कुरा औंल्याए । नयाँ जनवादी क्रान्तिको सफलता पछि मात्र राष्ट्रिय पूंजीको विकास हुने र त्यसपछि मात्र देशमा आर्थिक समृद्धिको ढोका खोलिने कुरामा उनको विशेष जोड दिएका थिए ।

नेपाली एकता समाज, भारतका केन्द्रीय उपाध्यक्ष शोभाखर अधिकारीले सम्मेलन सफलताको सुभकामना व्यक्त गर्दै यस संगठनले स्थापना कालदेखि नै भारतभरि छरिएर रहेका नेपालीको हितमा संघर्ष गर्दै आएको कुरा दावी गरे । त्यसै गरी अर्का केन्द्रीय उपाध्यक्ष राजु शर्माले प्रवाशमा रहेका नेपालीको भूमिका नेपालमा हुने आमुल परिवर्तनका लागि पनि त्यत्ति कै आवश्यक हुने कुरा उल्लेख गरेका थिए ।

यसका साथै, नेपाली एकता समाज, भारतका केन्द्रीय नेताहरु महासचिव विष्णु शर्मा, सचिवालय सदस्य सुरज कुमार, सचिवालय सदस्य शिव दाहाल, सचिवालय सदस्य तथा दिल्ली राज्य समितीका अध्यक्ष हरि थापा लगायत अन्य नेताहरुहरुले पनि सम्मेलनलाई सम्बोधन गर्दै त्यसको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य प्रतीक लामा लगायत सामना परिवारका केन्द्रीय कलाकारहरुले प्रदर्शन गरेका गीत तथा नृत्यहरुले सम्मेलनलाई निकै भव्य र रोचक बनाएको थियो ।