काठमाडौं । हालै छिमेकी देश भारतको राजधानी दिल्लीमा बसेको तेस्रो सुरक्षा सहयोग सम्बन्धि वैठकले दुवै देशको सीमा नाकामा हेल्पडेस्क निर्माण गर्ने भनी सहमति गरेका छन् । यो हेल्प डेस्कमा दुवै देशका सुरक्षाकर्मीहरु रहने छन् । हेल्प डेस्कले संयुक्त रुपमा काम गर्ने पनि जनाइएको छ ।
खुला सीमा भएका कारणले नेपालमा भारतीय नागरिक र भारतमा नेपाली नागरिकहरु कमाइ गर्नका लागि बाक्लो आउजाउ गर्ने गर्दछन् । वर्षभरि कमाइ गरे पनि चाडपर्वमा घर आउने र जाने प्रचलन पनि रहिआएको छ । यसरी चाडपर्वहरुमा घर आउँदा र जाँदा सीमा नाकामा सीमा प्रहरीहरुले गर्न गरेको दुव्र्यवहार आम जनताको आलोचनाको विषय बन्ने गरेको छ ।
त्यसमा पनि भारतीय सुरक्षाकर्मीहरुको दुर्व्यवहार, रकम असुली, अनावश्यक केरकार र बेकसुर हिरासतसम्मका कुराहरु निकै नै विचारणीय छन् । नेपाली तथा भारतीय नागरिकहरु भारतीय सीमा सुरक्षाकर्मीहरुबाट बढी प्रताडित हुने गरेका छन् ।
हाल नेपाल र भारत दुवै देशका सीमा सुरक्षाकर्मीहरुबाट सहमतिमा हेल्प डेस्क निर्माण गरेपछि भारत नेपाल आउजाउका लागि सहज हुने अपेक्षा गरिएको छ ।