पश्चिम भारत राज्य समिति अन्तर्गत सिल्बासा नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न

पश्चिम भारत राज्य समिति अन्तर्गत सिल्बासा नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न

नयाँ दिल्ली । नेपाली एकता समाज भारतको पश्चिम भारत राज्य समितिअन्तर्गत सिल्बासा नगर समितिको प्रथम नगर सम्मेलन शुक्रवार भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले बेदबहादुर सारुको अध्यक्षतामा २३ सदस्यीय नगर समिति गठन गरेको छ । नगर समितिको उपाध्यक्षमा चुडामणि फाल, सचिवमा ओम बहादुर थापा, सह–सचिवमा भीमबहादुर खाङ्गा र कोषध्यक्षमा ध्रुव थापासहित जम्मा २३ जना सदस्य रहेका छन् । निर्वाचित नगर समितिमा ३ जना सल्लाहकार समेत् रहेका छन् ।

सम्मेलनमा प्रमुख अतिथि तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परि थापाले सम्बोधन गर्दै सम्मेलनको भव्य सफलताको कामना गरे । उनले सुगौली सन्धिको प्रक्रियाहुँदै आजसम्म आइपुग्दा नेपालका शासकहरुले राष्ट्रघात र जनघातका कामलाई तीव्रता दिएका कारण देशमा जनतन्त्र, राष्ट्रियता, स्वाधीनता र जनजीविका समस्या अझ विकराल बन्दै गएको उल्लेख गरे । अमेरिकी साम्राज्यवाद र मुख्यतः भारतीय विस्तारवादको निर्देशनमा चल्ने र घरेलु प्रतिक्रियावादको प्रतिनिधित्व गर्ने दलालहरुको नेतृत्वको सत्ता नै नेपाली जनताको दुश्मन रहेको उनको निस्कर्ष रहेको थियो । कम्युनिस्ट नामधारी वर्तमान ओली सरकार पनि पहिलेका सरकार जस्तै जनघाती र राष्ट्रघाती रहेको भन्दै नेपालमा आमूल परिवर्तनका लागि नयाँ जनवादी क्रान्ति आवश्यक रहेको र उक्त क्रान्तिको सफलताको लागि भारतमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहने कुरा स्मरण गराए ।

उक्त सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दै विशेष अतिथि तथा नेता ईन्द्रमोहन सिग्देलले नेपाल प्राकृतिक साधनस्रोतले सम्पन्न र नेपाली जनता मेहनती भए पनि आजसम्मका सत्ताधारी वर्गको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रका कारण नेपाली जनताको दुःख र पराधीनताको कारण भएको कुरा बताए । उनले नेपालमा आजसम्म राजनीतिक क्रान्ति पूरा नभएको र मजदुर, किसान तथा आम उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको हातमा सत्ता नआएको कुरा बताउंदै वर्तमान ओली सरकारको आर्थिक समृद्धिको नारा जनता ढाँट्न अगाडि सारिएको भ्रमपूर्ण वकवास मात्र रहेको कुरा औंल्याए । नयाँ जनवादी क्रान्तिको सफलतापछि मात्र राष्ट्रिय पुँजीको विकास हुने र त्यसपछि मात्र देशमा आर्थिक समृद्धिको ढोका खोलिने कुरामा उनको विशेष जोड रहेको थियो ।

नेपाली एकता समाज, भारतका केन्द्रीय सचिवालय सदस्य हेमराज ढुङ्गानाले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै यस संगठनले भारतभर छरिएर रहेका नेपालीको हितमा काम गर्दै आएको कुरा दाबी गरे । उनले नेपालमा हुने आमूल परिवर्तनका लागि समेत प्रवासमा रहेका नेपालीको पनि महत्वपूर्ण भूमिका रहने कुरा उल्लेख गरेका थिए ।

यसका साथै, मञ्चमा आसिन नेपाली एकता समाज, भारतका केन्द्रीय सदस्य लगायत अन्य नेताहरुले पनि सम्मेलनलाई सम्बोधन गर्दै त्यसको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतीक लामा लगायतका सामना परिवारका केन्द्रीय कलाकारहरुले प्रदर्शन गरेका गीत तथा नृत्यले सम्मेलनलाई निकै भव्य र रोचक बनाएका थिए ।

प्रताप थापाको उद्घोषणमा सञ्चालित यस कार्यक्रमको अध्यक्षता केमबहादुर सारुले गरेका थिए ।