हेर्दाहेर्दै प्रचण्डजी एमालेमा बिलाएर सिद्धिनु भो

हेर्दाहेर्दै प्रचण्डजी एमालेमा बिलाएर सिद्धिनु भो

यो देशमा पहिचान सत्तासिन जातिलाई होइन, मधेशी, थारु, आदिवासी, जनजाति र उत्पीडित जनसमुदायलाई चाहिएको हो । भन्दा र लेख्दा समावेशी लोकतन्त्रको कुरा गरिएको छ । तर व्यवहारमा त्यो छैन । आदिवासी जनजातिले जातिय पहिचानका लागि उठाएको मुद्दालाई पूर्ण समर्थन गर्दछौं । यो देश हाम्रो हो । यो राष्ट्रिय देश हो, बहुराष्ट्रिय देश हो । आजको प्रस्तुत कार्यपत्रमा पनि यो कुरा उल्लेख गरिएको छ ।

नेपाल बहुराष्ट्रिय देश हो भन्ने राष्ट्रिय जनता पार्टीको ठहर छ । पृथ्वीनारायण शाहको पालामा भएको नेपालको एकीकरण होइन, विस्तार भएको हो । केवल भौगोलिक विस्तार हो । यसमा भावनात्मक एकता छैन । सबै जातजाति र भाषाभाषीले गरेका आन्दोलनको संयुक्त प्रतिफल हो यो संविधान ।

हामी आदिवासी, जनजाति र मधेशी आफ्नो कुरामा कम विश्वास गछौं र अरुको कुरामा बढी विश्वास गर्छाैं । अरुको लहलहैमा बढी लाग्छौं । मेरो अनुरोध आफ्ना कुरामा बढी विश्वास गरौं । आफूले आफूलाई विश्वास गरौं । जुन समुदाय वा जातिले आफ्नो इतिहासलाई ख्याल गर्दैन, त्यसको पहिचान नै मेटिन्छ । भविष्य नै रहँदैन । जुन दिन हामी आफ्नो इतिहास सम्झन्छौं, त्यहि दिन हाम्रो पहिचान आउने छ र भविष्य हाम्रो हातमा हुने छ ।

हामी आदिवासी, जनजाति र मधेशी केन्द्रीय शासनको उत्पीडन र एकल जातिय राज्यसत्ताविरुद्ध उभिएका छौं । हामीले भोगिरहेका समान पीडालाई एकताबद्ध भएर अन्त्य गरौं । जातिय समस्या नै हल नभइकन वर्गीय समस्याको हल संभव छैन ।

प्रचण्डजी एमालेमा जानु भयो । मैले उहाँलाई भनेको थिए– तपाईँले पहिचानको आन्दोलन उठाउनु भयो, तर एमाले पहिचान विरोधी छ । तपाईँ सिद्धिनु हुन्छ । उहाँ हेर्दाहेर्दै त्यहाँ गएर सिद्धिनु भयो । उहाँको पार्टीले अहिले एकल जातिय सरकार चलाइरहेको छ । नेकपाको यो सरकार महेन्द्रीय राष्ट्रवादको विस्तावादी रुप हो । यस्तो अवस्थामा संघीय संविधान नै लागु हुँदैन ।

हाम्रो छिमेकी देश भारतमा आज ७० वर्षपछि पहिचानको जागरण आउन थालेको छ । हिन्दुवादी किनारा लाग्दै छन् । मायावती भारतको प्रधानमन्त्रीको उम्मेदवार बन्दै छिन् । भारतमा पहिचानको मुद्दा उठ्दैछ । हामी मधेशी, जनजाति मिलेमा देशको शासन व्यवस्था हाम्रो हातमा आउने छ ।

त्यसैले मेरो सल्लाह हामीले आफ्नै जनजातिको पार्टी खोलौं । आफ्नो आन्दोलनलाई अघि बढाऔं । प्रचण्डजी, ओलीजी र कांग्रेसबाट यो समस्या समाधान हुँदैन । प्रचण्डजी यही बस्नु भएको छ, उहाँले केही पनि गर्दै हुनुहुन्न । जसको मुद्दा हो, उही नै उठ्नु पर्दछ ।

हामी धोखामा परेका जनसमुदाय हौं । हामीले आफ्ना मित्र र शत्रु चिन्नु पर्छ । यदि चिन्न सकिएन भने हामी हराइन्छौं । लखेटिन्छौं । जनजातिहरु सबै पार्टीहरुमा रहेका छौं । यहाँ मोर्चाका कुरा गछौं, तर पार्टीमा गएपछि त्यही पार्टीको ह्विप स्वीकार गर्छौं । अनि कसरी हुन्छ जनजातिका मुद्दाको समाधान ? यता आएर जनजातिका समस्या समाधान भएन भनेर आँशु चुहाउने तर पार्टीमा गएर चाकरी भजाउने ? यता जोजोल्पा, उता प्रचण्डजी र ओलीजीलाई लालसलाम !

मधेशी जनता पनि देशको स्वाभिमानको पक्षमा छन् । हामी मधेशीले यही काठमाडौंमा शासन गरेको इतिहास साक्षी छ । हामी चाहन्छौं, मधेशी र जनजाति मिलेर केपी ओली र प्रचण्डको वामसत्ता ध्वस्त गरिदिनु पर्छ । ध्वस्त भन्ने शब्द प्रचण्डजीको हो । अब हाम्रा बैरी र मित्र चिन्नै पर्छ । काठमाडौंमा हामी मधेशी र आदिवासी जनजातिको संयुक्त आन्दोलन चलाउन चाहन्छौं ।

ओली र प्रचण्डजीको राष्ट्रवादी चेहरा हामीले देखिसकेका छौं । उहाँहरुको चेहरामा विभिन्न कुराहरु लुकेका छन् । केपी ओलीले बयलगाडामा चढेर अमेरिकाबाट गणतन्त्र आउँछ भनेर तात्कालीन गणतन्त्रका आन्दोलनकर्तालाई प्रश्न गरेका थिए । आज नेपालमा आएको गणतन्त्र केपी ओलीको बयलगाडा चढेर आएको गणतन्त्र जस्तै भएको छ ।

अब हामीले मिसाइलबाट गणतन्त्र ल्याउन जरुरी छ । त्यो आदिवासी, जनजाति र मधेशीको एकताबाट मात्र संभव छ । हिंजो लड्दा प्रचण्डको सिको गर्यौं । तर आजका दिनमा भने हामी प्रचण्डको सिको गर्दैनौ । प्रचण्ड र ओलीको सिको र अनुशरण गर्नु हाम्रालागि हितमा छैन ।