नयाँ दिल्ली । नेपाली एकता समाज, भारतको मध्य दक्षिण राज्य समिति अन्तरगत उत्तर तथा दक्षिण हैदरावाद नगर समितिको सोमबार सम्पन्न प्रथम संयुक्त सम्मेलनका प्रमुख अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परि थापाले सम्मेलनको भव्य सफलताको सुभकामना व्यक्त गर्दै दलाल शासकहरु नै नेपाली जनताको दुश्मन रहेको टिप्पणी गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै थापाले सुगौली सन्धिको प्रक्रिया हुंदै आजसम्म आईपुग्दा नेपालका सबै शासकहरुले राष्ट्रघात र जनघातका कामलाई तीव्रता दिएका कारण देशमा राष्ट्रिय स्वाधिनता र जनजीविका समस्या अरु विकराल बनेको उल्लेख गरे । नेता थापाले अमेरिकी साम्राज्यवाद र मुख्यतः भारतीय विस्तारवादको निर्देशनमा घरेलु प्रतिक्रियावादको पक्षपोषण गर्ने दलालहरुको नेतृत्वको सत्ता नै नेपाली जनताको दुश्मन रहेको कुरा ठोकुवा गरे । कम्युनिस्ट नामधारी वर्तमान ओली सरकार पनि पहिलेका सरकार जस्तै जनघाती र राष्ट्रघाती रहेको भन्दै नेपालमा आमुल परिवर्तनका लागि नयाँ जनवादी क्रान्ति आवश्यक रहेको र उक्त क्रान्तिको सफलताको लागि भारतमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहने कुरा पनि सो अवसरमा स्मरण गराए ।
उक्त सम्मेलनका विशेष अतिथि तथा बरिष्ठ वामपन्थी नेता इन्द्रमोहन सिग्देलले सम्मेलनको भव्य सफलताको सुभकामना व्यक्त गर्दैे नेपालमा आजसम्म पनि राजनीतिक क्रान्ति पुरा नभएको र मजदुर, किसान तथा आम उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको हातमा सत्ता नआएको कुरा बताए । ओली सरकारको आर्थिक समृद्धिको नारा जनता ढाँट्न अगाडि सारिएको भन्दै नयाँ जनवादी क्रान्तिको सफलता पछि मात्र राष्ट्रिय पुँजीको विकास हुने र त्यसले मात्र देशमा आर्थिक समृद्धिको ढोका खोल्ने कुराको पनि उनले स्मरण गराए ।
नेपाली एकता समाज, भारतका केन्द्रीय अध्यक्ष आनन्द बहादुर थापाले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भारतभरि संगठनको विस्तार गर्नुपर्ने कुरामा जोड दिए । यस संगठनले भारतभरि छरिएर बसेका नेपालीहरुको हितमा काम गर्ने र नेपालमा हुने आमुल परिवर्तनका लागि महत्वपूर्ण भूमिका रहने कुरा समेत उल्लेख गरे ।
उक्त सम्मेलनमा प्रतीक लामा, छविलाल थापा, लक्ष्मी प्रसाद आचार्य, वालकृष्ण सापकोटा, राम कुमार कार्की र दिलमाया थापा लगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत दैलेख जिल्ला समिति सदस्य र विद्यार्थीको जिल्ला समितिका अध्यक्ष रहेका भुपेन्द्र बहादुर शाहीसहित हाल हैदरावादमा काम गर्ने १० जना कार्यकर्ताले माके परित्याग गरी नेपाली एकता समाज भारतमा प्रवेश गरेका थिए । आफ्नो मन्तव्यको क्रममा शाहीले माकेले क्रान्तिप्रति गद्दारी गरेको र प्रतिक्रियावादी कित्तामा सामेल भएको भन्दै माकेमा भएका क्रान्तिकारीहरुलाई क्रान्तिकारी ध्रुवीकरणमा सामेल हुन समेत अनुरोध गरे ।