यसरी गर्थ्यौं बरुवा नाकामा घाइते जनसेनाको स्याहार

यसरी गर्थ्यौं बरुवा नाकामा घाइते जनसेनाको स्याहार

हामी बरुवा नाकामा बस्ने गर्दथ्यौ । यो नाका भनेको नेपाल र भारतको सिमानामा पर्दछ । नेपाल–भारत सिमानाको दश गजाभन्दा अलि केही भित्र नेपाल तिरको भाग हो यो । साथै, यो दाङ जिल्लाको सीमा नाका पनि हो । यो कोइलाबासदेखि पश्चिममा पर्दछ । हामी त्यहाँ जाँदा दाङको पश्चिम देउखुरी राजपुरको मतेनी खोलाबाट जाने गर्दथ्र्योै । त्यहाँबाट देउखुरीको दक्षिणतिरको चुरे पर्वत चढ्नु पर्दथ्यो । चुरे चढेर फेरि दक्षिणतिरको फेदीमा आह्रालो झर्नु पर्दथ्यो ।

बाटो जङ्गलको थियो । मतेनीखोला तर्दै माथि पुगेर फेरि अर्कोतिर पर्ने दक्षिणतिरको खोला पनि पूरै पार गर्नु पर्दथ्यो । खोला निकै डरलाग्दा थिए । पानी सानो बग्ने तर रह र दह भने निकै ठूलाठूला र नीला पनि । गोही बसेका होलान् जस्ता । तर तिनेै खोला र रहहरु तरेर जानु पर्दथ्यो ।

हामी प्राणको माया मारेर हिँड्ने गर्दथ्यौ । खोलाका घारी र कयराहरु पार गर्नु पर्दथ्यो । नाग र अजिङ्गरहरु बस्ने ठाँहरु थिए । जंगलमा भालुहरु बस्दथे । बाघहरुले बाटो छेक्दथे । हरिया घासेँ पाखाहरुमा भुइँ घास पन्छाउदै हिड्नु पर्दथ्यो । दाङबाट देउखुरीहुँदै मतेनी खोला पुगेपछि पुलिसबाट प्राण जोगिएको जस्तो अनुभूति हुन्थ्यो । तर प्राकृतिक भौगोलिक विकटता र जङ्गली जनावरको डर भने रहिरहन्थ्यो । त्यही पनि पुलिस र सेना भन्दा त जङ्गलका दुश्मन सहयोगी जस्ता हुँदा रहेछन् । आज ती सबै सम्झदा हिपहिप डर लाग्छ । तर त्यति बेला यी सबै दैनिक दिनचर्या नै थिए । सामान्य थिए र मुकाबिला गर्नै पर्ने कामहरु थिए 

हामीहरु यसरी चुरे पहाडहुँदै झरेर साना तर डरलाग्दा रह भएका खोला भएर फोहरी नाका पुग्दथ्यौ । सम्म परेको जमिन, सुस्ताएर बगेको खोला । त्यसको वरिपरि बाक्लो जङ्गल । कहिले यता त कहिले उता गर्दै खोलैखोला सयौं पटक तरेर पुग्दथ्यौ फोहरी नाका । फोहरी नाकाको वरिपरि पातलो बस्ती भेटिन्थ्यो । बसोबास गरेका ती मानिसहरु प्रायः पहाडियाहरु नै थिए । र, हामी पनि पहाडिया भएकाले छिट्टै घुलमिल भइहाल्यौं । कतिपयसँग त साइनो सम्बन्ध नै पर्दथ्यो । सिमाक्षेत्रमा बस्ने भएकाले भारतीय बजारको प्रयोग गर्न पर्दथ्यो । भारतीयहरुको हेपाहा प्रवृत्ति भएकाले पनि सीमानाकामा बस्ने ती नेपालीहरुको हामीप्रति राम्रो र सजीव सम्बन्ध हुन्थ्यो । हेर्दा नेपाली मूलतः पहाडी मूलका भएका हुनाले भारतीयहरुले स्थानीय र हामी माओवादीहरुलाई झट्ट छुट्याउन सक्दैनथे । हामी पनि निडरका साथ बस्ने र काम गर्ने गर्दथ्यौं ।

भेषभूषा, बोलीचाली, रहनसहन, जीवनशैली, अनुहार र उत्पादन सम्बन्ध र जीविकाका गतिविधिहरु एउटै हुने भएकाले भारतीयहरुले आशंका गरिहाल्ने ठाउँ पनि थिएन । तर अलि केही पछि त माओवादीहरुको दिनदिनै बाक्लो आउजाउ हुन थाल्यो । नाकाका सीमित घर र गाउँमा चहलपहल पनि बढ्दै जान थालियो ।

भारतीय शासक वर्ग र सीमा सशस्त्र बल तथा भारतीय पुलिस अलि बढी नै सतर्क हुन थालेको आभाष हुन थाल्यो । नेपालमा माओवादीको प्रभाव र कार्यक्रम तथा आक्रमण दिन गुणा र रात चौगुणा भएर जान थाल्यो । भारतले पनि यसलाई चुनौतीका रुपमा लिन थाल्यो ।
नेपालमा तात्कालीन शाही सेनाको ब्यारेकहरुमाथि आक्रमण हुन थालेपछि भारतीय सीमा सुरक्षाबल नियमित जसो सीमा नाकाहरुमा गस्ती गर्न थाल्यो । अब सजिलैसँग भारतको हर्रैया बजार जान पनि नसकिने भयो ।

भारतले सीमा नाकामा नेपालीहरुमाथि पनि निगरानी राख्न थाल्यो । नेपालीलाई पनि रासन कार्ड बनाएर मात्र दाल, चामल र अन्य सामानहरु दिन थाल्यो । दैनिक उपभोगका सामानहरु पनि ल्याउन मुस्किल हुन थाल्यो । हामी र हाम्रो उपचार पोस्टको तल अलि ठूलो गाउँ थियो, नेपाली बस्ती । गाउँमा सबैले रासन कार्ड बनाएका थिए ।

प्रत्येकलाई महिनामा १० नम्बरी चामल, दाल तथा अन्य सामानहरु भारतीय हर्रैया बजारमा किन्न दिने गर्दथ्यो । त्यो पनि रासन कार्ड हेरेर मात्रै । गाउँलेहरु सबैले भारतीय रासन कार्ड अनुसार चामल, दाल र तरकारी ल्याउने गर्दथे । त्यसै रासनबाट हामीले गुजारा चलाउने गर्दथ्यौं ।
हामी रातदिन ड्युटी बसेर घाइते तथा बिरामी जनमुक्ति सेनाको स्याहारसुसार गर्दथ्यौं । हामी बसेको बरुवा नाकाको पोस्टमा प्रायः राप्ती र कर्णालीभित्र पर्ने रुकुम, सल्यान, जाजरकोट, कालीकोट र कहिलेकाहीं बाग्लुङका पनि विरामी र घाइतेहरु आउँथे । फौजी आक्रमणका बेला यी घाइते तथा बिरामी जनसेनाको चाप निकै बढेको हुन्थ्यो । बस्ने ठाउँ पनि कम हुन जान्थ्यो । हिउँद होस् या वर्षाद्को समय घाइते बिरामीहरुको सुरक्षा र हेरचाहको काम प्रमुख हुन्थ्यो हाम्रा लागि ।

त्यसैले जंगली जनावर तथा सर्प, बिच्छी र लामखुट्टेको टोकाइ आदिको प्रवाह नै हुँदैनथ्यो । हरेक दिन शुभ रहोस् भन्नेमा हामीहरु सतर्क रहन्थ्यौं । ड्युटीमा लापरवाही नहोस् भनेर ख्याल पुर््याइरहन्थ्यौं ।

केइलाबासको नाकामा रहेको बिरामी पोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलबेलामा आक्रमण पनि गरिरहन्थे । त्यो नाकाको बस्तीमा सीआइडी, सुराकी र फटाहहरु पनि थिए । अर्को कुरा, त्यहाँ बाटोघाटो र यातायातको व्यवस्था भएका हुनाले पुलिसको पहुँच पनि अलि नै छिटो हुने गर्दथ्यो । त्यसैले त्यहाँको पोस्टमा बिरामी तथा घाइतेहरु कम राख्न थाल्यौं ।

हामी बसेको सँगैको नाका फोहरी नाका थियो । त्यो नाका अलि बढी आउजाउका लागि खुल्ला गरिएको थियो । पार्टीका नेताहरु, सेनाका डफ्फाहरु र कार्यकर्ताका ठूला समूह त्यो नाकाबाट पास गरिन्थ्यो । अहिले फर्केर हेर्दा त्यो भिन्न खालको क्षण र समय जस्तो लाग्छ । तर त्यतिबेला हामीहरुका लागि त्यो एक सामान्य जीवन जस्तै भएको थियो । घरमा बसेर घाँसदाउरा गरे झैं, खेतीपाती गरे झैं थियो । आतंकित हुने अवस्था थिएन । बरु काम गरेकोमा खुशी थियौं ।

बिरामीहरु कसैको हात, कसैको खुट्टा र कसैको नाककान नै थिएनन् । कसैको पेटबाट गोली छिरेको हुन्थ्यो । कसैको छाती छेंडेर गोली लागेको हुन्थ्यो । कसैको टाउकामा गोली हुन्थ्यो । र, गोली पनि नझिकिएको हुन्थ्यो । हामीले औषधी दिने मह्लमपट्टी गर्ने र खानाको बन्दोबस्त मिलाउने गदथ्यौं । परिवारका सदस्य झैँ बस्दथ्यौ ।

कतिपय साथीहरुले पीडा हुँदा गीत गाउँथे । कालीकोट, जाजरकोटका साथीहरुले कर्णालीको लोकलय देउडा त लामै स्वरमा धेरै बेरसम्म गाइरहन्थे । घाइते, विरामी र अपाङ्हरुको जीवन त भयो ! रुँदारुँदै हाँस्थे र हाँस्दाहाँस्दै रुन्थे पनि । सम्झाउँथ्यौ, फकाउँथ्यौँ र मुक्तिका सपनाहरु एकआपसमा बाँड्थ्यौ । दुःखका दिन काटेपछि सुखका दिन आउँछ भन्थ्यौ । हाम्रा लागि घाइते जीवन, दुःख र पीडा नगद जस्तै थियो । मुक्तिको सपना उधारो जस्तै थियो । तर पनि मुक्तिको सपना नगद जस्तै लाग्दथ्यो । चहराइरहेका दुःखका जीवन बिर्सन खोज्दथ्यौं ।

कहिलेकाहीं नेपाली पुलिस, कहिलेकाहीं भारतका सीमा सुरक्षा बल हामीलाई लखेट्न र हत्या गर्न आउँथे । पोस्टहरु जलाइदिन्थे । रासनपानी लुटेर लगिदिन्थे । हामी पोस्टबाट पहिल्यै निस्किसकेका हुन्थ्यौं । ड्युटीमा बसेका साथीले सुचना गरेपछि हामी जोगिन सफल हुन्थ्यौं । घाइते बिरामीको सङ्ख्या धेरै भएका बेला निकै नै गाह्रो हुने गर्दथ्यो । मर्न दिन पनि भएन र छाडेर जान पनि भएन । कसैलाई हातमा, कसैलाई खुट्टामा बोकेर लतार्दै, पोस्टबाट माथि चुरेको डाँडामा पुर्याउने गर्दथ्यौं । घाइते विरामी साथी घुँडाले, कुहिनाले टेकेर पनि घिस्रिदैघिस्रिदै सुरक्षित स्थानमा पुग्दथ्यौं । कति दुःख र पीडा हुन्थ्यो । तर सबै साथीहरु बचेपछि घुँडा, कुहिना तथा घाउहरुबाट बगेको रगत पुछ्दै घना जंगलका बीचमा ठूलाठूला सालका रुखहरुमुनि बसेर एकअर्काका आँशुले भिजेका आँखाहरु पुछेर हाँस्दथ्यौं ।

एक दिनको कुरा हो, दिउँसोको दोप्रहर हुँदै थियो । भारतीय सीमा सुरक्षा बल आफ्नो ठूलो शक्ति लिएर हाम्रो पोस्ट तल रहेको ठूलो गाउँमा घेराबन्दी गर्दै पस्यो । हामीले ती गाउँलेबाट सूचना पाएर माथिको चूरेको डाँडामा उक्लनका लागि बाहिर निस्कियौं । ओछ्यानमा परेका हलचल गर्न पनि नसक्ने, अरुले नै उठाउने र सुताने गर्ने विरामी घाइते साथीहरु धेरै थिए । हामी हातखुट्टा सग्ला भएकाहरुले खाने दाना र पिउने पानी बोकेर हिंड्थ्यौं । बिचरा ती घाइतेहरु एकले अर्काको सहारा लिएर कमिलाको लश्कर झैं गरी लुरुलुरु हिंड््न थाले ।

अपाङ्ग साथीहरु घिस्रन थाले, उकालो बन्जर र अप्ठ्यारो जमीनमा । कोही छेपारो झैं घिस्रिएका छन्, कोही सर्प झैं त कोही गङ्गटा झैं । कतिपय ढिकमाथि चढ्न खोज्दा झन् तल ढिकमुनि खस्न पुग्छन् । आफ्नो भने हातहरु खाली छैनन्, डोर्याउँ भने पनि । मेरो मुटु भक्कानिएर आयो । हिक्का छाडेर रुन मन लाग्यो । के गर्नु सम्हाले आफैंलाई । अरुहरु माथिको डाँडाको थुम्कोमा पुगिसकेका थिए । मैले घाइते बिरामी र अपाङ्गको पछिपछि लागेर ‘हिंड्नुस् भाइ, नडराउनुस् म छु’ भन्दै बोलेर भरोसा दिंदै लगे । बिचरा ती सबै जङ्गलभित्र उकालोमा घिस्रदै माथिमाथि चढ्न थाले । माथि थुम्कोमा पुगेपछि ‘दिदी’ भनेर सबैले मलाई च्याप्प समाए । ‘हाम्रो आमा भने पनि, अभिभावक भने पनि तपाई नै हो दिदी’ भनेर रोए । मैले नरुन र सम्हालिन भनेर सम्झाए । त्यो सम्झदा आज पनि उनीहरुसँगै त्यही बरुवा नाकामा लखेटिएको अवस्थामा छु कि झैं लाग्छ । आज ती साथीहरु कहाँ छन् र के गर्दै होलान् । अब ती दिन केवल सम्झनामा कैद भए । एकजना भाइलाई त अझै पनि सम्झन्छु, ती थिए बाग्लुङका किरण नेपाली ।

स्थानीय जनताले निकै ठूलो सहयोग गरेका थिए । उनीहरुले हामीहरु त्यहाँ नभएको भनेर भारतीय सशस्त्र बललाई फिर्ता गराएका थिए । जनताले कहिल्यै पनि दुःख दिएनन्, बरु सधैं हामीलाई सहयोग नै गरिरहे । आज त्यो बाटो हिंड्ने नेताहरु, कार्यकर्ताहरु र कतिय जनसेनाका कमाण्डरहरु वर्तमान वाम र जनताको भनेर पुकारिने सरकारमा छन् । तर उनीहरुलाई आफ्ना जीवन बलिदान गरेर, शरीरका अङ्गहरु दिएर माथि पुर्याउने ती घाइते बिरामीहरु कहाँ छन् शायद थाह छैन होला । भेटघाट पनि छैन होला ।

ठीकै छ, सुखदुःख जे होला, हामी बाँचेकै छौं । तर ती घाइते अपाङ्ग र विरामीहरुको खोजी गर्नु अहिले सरकारमा बसेका नेताहरुको कर्तव्यभित्र पर्छ कि पर्दैन ? युद्ध आन्दोलन सबै सिध्याइसकेपछि यो त अब केवल मानवीय र नैतिक प्रश्न वा जिम्मेवारीका रुपमा मात्र रहन गयो होला शायद । हाम्रो गुनासो र थप भन्नु पनि केही छैन ।

मलाई अझैं पनि लाग्छ, बरुवा, फोहरी, खङ्रा र कोइलाबास जस्ता नाकामा बसेर कठीन जीवन यापन गर्दै अहिले पनि सीमा रक्षा र त्यतिबेला सिंगो जनयुद्ध र नेता, कार्यकर्ता, घाइतेअपांग र जनसेना सबैको सेवा सुरक्षा र लालनपालन गरेका सिमानाका जनताको ऋण तिर्न मात्र भए पनि र भार कटाउन मात्र भए पनि एकदुईवटा विकासका योजना दिनेसम्म यी नेताहरुले सोचेका होलान् कि होओइनन् ? केही अत्तोपत्तो छैन त है !?