काठमाडौं । ललितपुरको खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा एक निजी कम्पनीलाई भाडामा दिएपछि त्यस वरपरको सघन वस्तीमा रहेको जनताका लागि आपत्विपद्मा ज्यान जोगाउन निस्कने सार्वजनिक ठाउँ पनि खोसिएको छ । स्थानीय जनता यस अघि निरन्तर गइरहेको भूकम्पका बेला रातदिन पाल टाँगेर यसैमा बसेका थिए । वैकल्पिक वासस्थानका रुपमा रहेको यो सरकारी जमिन जनताका हातबाट खोसिन नदिन स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । क्रोशित जनताको भनाइ छ– सरकारले नै अब निकासपकास दिने भएन ।
रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा सरकारले एक निजी कम्पनीलाई दिएपछि उक्त कम्पनीले त्यहाँ हाउजिङ निर्माण गर्ने भएको छ । उसले आफूले भाडामा लिएको जमिन जेजसरी पनि उपयोगमा ल्याउन पाउने सर्त सरकारका लागि स्वीकार्य भएपछि यो स्थानीय जनताको समस्या बन्न गएको हो । स्थानीय जनता भन्छन्, पोहरपरारको सरकारले पनि दिएको थियो रे तर हाउजिङ निर्माण नगर्ने भनेर दिएको थियो रे । जनताको आपत्ति यहाँ हाउजिङ निर्माण भएपछि वरपरका वस्तीहरुको निकास र आश्रयको समाप्त हुन्छ ।
सरकारले लिने निर्णय स्थानीय जनताका भलाइमा हुनु पर्छ । यो सबै भन्दा बढी त उनीहरुका सरोकार र चासोको विषय हो । आफूलाई देखाएर भन्दा जनताले निर्वाचित गरेका, बहुमत दिएका र जनताका लागि आफूहरुले काम गर्ने कुरा निकै नै गर्ने । तर व्यवहारमा जाँदा र कार्यान्वयन गर्दा आफ््नो स्वार्थ कहाँबाट पूरा हुन्छ, कहाँबाट रकम कुम्ल्याउन पाइन्छ र मौका परेका बेला कहाँबाट के हात लाग्छ भनेर कदमहरु चाल्ने छद्म र नक्कली सोंचले निकै खेल्ने र खेलाउने गरेको छ ।
चीन र भारतबाट रेल ल्याउने बाहनामा जनताको नाममा विदेशबाट महंगो ऋण भित्र्याउने चालबाजी गरिरहेका छन् । नेपालमा विदेशी लगानीकर्ताहरुलाई भित्र्याएर यहाँका फलाम तथा चुनढुंगा बेच्ने दाउँमा छन्् । नेपालको पानी पूरै डोलाएर भारतलाई दिएर सातपुस्ते रकम आफ्नो हातमा लिंदै छन् । मेडिकल कलेजहरु विस्तार गरेर खर्बौ रकम लिन थालेका छन् । वनजंगलमा वन सुधार र पुराना रुख बेच्न दिने नाममा पहाड, हिमाल र तराइका पुख्र्यौली रुखहरु आफ्ना कार्यकर्ता लगाएर बेच्न खुल्ला गरेका छन् ।
अहिले वन मासेर स्वाहा पारिएको छ । जहाँ पनि माफियाको बिगबिगी छ । स्वास्थ्यमा मेडिकल माफिया, कृषि वनमा काठ माफिया, नदीमा जलमाफिया, शिक्षामा पनि माफिया, वैदेशिक रोजगारमा माफिया, जमीनहरुमा भूमाफिया, सुन तस्करीमा पनि माफिया, नदी र जमीन तथा जनता बेच्ने सरकार स्वयम् नै माफिया भएपछि देश कसरी उँभो लाग्छ ?
देश अहिले माफियाको सञ्जालमा चलिरहेको छ । हरेक कुरा माफियाकरण भएरहेको छ । ओलीको सरकार बनाउनेमा होइन, बेच्नेमा उद्दत छ । जे पनि बेच्ने । पानी जहाजका कुरा गर्यो, नदी बेच्यो । रेलका कुरा गर्यो, जमीन बेच्यो । फ्रि वाइफाइका कुरा गर्यो, इन्टरनेट बेच्यो । आखिर विदेशीका हातमा बेचिएका यी शासकहरुलाई बेच्ने र बेचिने भन्ने त सामान्य नै भयो ।
फेरि सरकारी नीति नै यस्तो बनेको र बनाइएको छ कि एनिहाउ, बिक्रि भएसम्म जेपनि बेच र बेचेर खाऊ । सन् १९५० देखिका असमान सन्धिसंझौता विना पुनरावलोकन कार्यान्वयनमा हालेको छ यो ओली सरकारले । यसले राष्ट्रका सिमाना बेचिरहेको छ । नदीनाला बेचिरहेको छ । वनजंगल बेचिरहेको छ । जनता (युवायुवती) बेचिरहेको छ । राष्ट्रिय स्वाभिमान बेचिरहेको छ । वौद्धिक जनशक्ति पलायन गराइरहेको छ ।
देशका एजेण्डा बेचिरहेको छ । चीन भ्रमणमा सबै भारतीय प्रधानमन्त्री मोदीले पहिल्यै गरिदिएका थिए नेपालका लागि । ओली प्रोटोकलमा हस्ताक्षर पनि गर्न नपाएर आए । कत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जतको कुरा । ओली सरकार मौलिकता बेचिरहेको छ । विश्वमा नेपाल के र नेपालीपन के त ?
देशलाई भागबण्डा लगाउन दिएको छ । काठमाडौंसम्म चीन झर्ने, काठमाडौंसम्म भारत चढ्ने । ओलीको दिमागमा हाम्रो देश नेपाल कहाँ छ ? प्रधानमन्त्री भएका केपी ओलीको आफ्नै पहिचान के हो ? यिनी कुन माटो र कुन जनताका लागि प्रधानमन्त्री भएको छु भन्ने सम्झन्छन् ?
आखिर एउटै प्रश्न बाँकी रहन्छ– जे पनि बेच्ने प्रम ओली, आफू बेचिएका छन् कि छैनन् ?