खुल्ला गरिएला आरोहणका लागि माछापुछ्रे हिमाल ?

खुल्ला गरिएला आरोहणका लागि माछापुछ्रे हिमाल ?

काठमाडौं । माछापुछ्रे हिमाल आरोहणका लागि खुल्ला गर्ने वा नगर्ने भनेर अहिले पोखरामा ठूलो बहस चलिरहेको छ । यो ३ नम्बर गण्डकी प्रदेशको सिंगो बहस पनि हो । आजका दिनसम्म माछापुछ्रे चुचुरो आरोहणका लागि खुल्ला गरिएको पनि छैन । तर यो खुुल्ला गरिनु पर्छ भनेर दुई परस्पर विरोधी मत र बहसहरु सतहमा आएका छन् ।

माछापुछ्रे पोखराको मुटु पनि हो । पोखरा आफैमा पर्यटकीय नगरी भएकाले पनि माछापुछ्रेको फेवातालमा पर्ने छायाँ आफैमा चित्ताकर्षक र मनमोहक दुवै छ । यसको पर्यटकीय सौन्दर्य पनि उत्तिकै रहेको छ ।

खुल्ला गरिनु पर्छ भन्नेहरुको मत उदार, पुँजीवादी र पर्यटन प्रवद्धनमुखी छ । उनीहरुले यो चुचुरो खुला गरिनु पर्छ भन्दै स्थानीय जनताका जनजीविकासँग आफ्ना मतहरु जोडेका छन् । यो चुचुरो खुला गरिएमा त्यहाँ पर्यटन व्यवसाय मौलाउने र स्थानीय जनताले व्यवसाय गरेर पैसा कमाई आफ्नो जीविका चलाउन सक्ने भन्ने रहेको छ ।

अर्को मत राख्नेहरु परम्परावादी र अध्यात्मवादी रहेका छन् । उनीहरुका अनुसार माछापुछ्रे हिमाल आफैमा सजीव देवता हुन् । त्यसैले उनको शीरमा पाउ टेक्नु हुँदैन । यदि यसो गरियो भने पोखरावासीका लागि अनिस्ट सुरु हुने छ । यिनीहरुका अनुसार अन्नूर्ण पनि अन्नका देवता हुन् । उनीमाथि पनि पाइला टेक्नु हुँदैन ।

माछापुछ्रे गाउँपालिकाले निर्णय गरेर संघीय सरकारलाई आरोहणका लागि खुल्ला गरिनु पर्ने अनुरोध पत्र पठाएपछि यो बहसले सार्वजनिक रुपमा ठाउँ पाएको हो । माछापुछ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गरुङ भने यो चुचुरो आरोहणका लागि छिट्टै खुल्ला गरिनु पर्ने पक्षमा रहेका छन् । स्थानीयका अनुसार आज भन्दा ६१ वर्ष पहिले नै बेलायती पर्वतारोही जीमी रोबर्टस् माछापुछ्रे चुचुराको नजिकै पुगेर फर्किएका थिए ।

नेपालका यस्ता धेरै हिम चुचुराहरु छन्, जसलाई हालसम्म आरोहणका लागि खुल्ला पनि गरिएको छैन । तीमध्ये माछापुछ्रे हिमाल र साथैमा रहेको अन्नपूर्ण पनि पर्दछन् ।