काठमाडौं । बुधवार नयाँ दिल्लीको एक साँगुरो गल्लीभित्र रहेको एक घरमा छापा मारेर १६ जना नेपाली महिलाहरुको उद्दार गरियो । उनीहरु १६ देखि २२ वर्ष उमेरका थिए । उनीहरुलाई दिल्लीको एयरपोर्टबाट अफ्रिकी वा खाडी देशहरुमा पठाइँदै थियो । उद्दार गरिएका भनिएका उनीहरु रोजगारीको सिलसिलामा दलालहरुमार्फत् त्यहाँ पुगेका थिए ।
माइती नेपाल, नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त सहभागितामा यो उद्दार कार्य सफलतापूर्वक गरिएको थियो । भारतीय प्रहरीसँग सम्पर्क गरेर त्यहाँ छापामार्न पुगेका नेपाली प्रहरीहरुले भने सफलता पाउन सकेनन् । उनीहरु त्यहाँ पुग्नु भन्दा पहिल्यै ती नेपाली महिलाहरुलाई अन्यत्रै सारिसकिएको थियो । यसै गरी केही दिनअघि मात्र अफ्रिकी देश केन्याका डान्सबारहरुमा पुगेका नेपाली चेलीहरुलाई त्यहाँको प्रहरीले छापामारी नेपाल फिर्ता गरिदिएको थियो ।
यी सबै श्रृङ्खलाहरु जोडेर हेरियो भने तत्काल यो समस्या समाधानका लागि पुरुषसरह महिलामैत्री श्रमसम्झौताको आवश्यकता देखिन्छ । यसो भएछ भने बेचिने, बेपत्ता पारिने, हिंसामा ज्यान जाने, बधुँवा मजदुरीमा लाग्न बाध्य हुने र घर फर्कने वैधानिक र कानुनी हैसियत गुमाउने जस्ता समस्याबाट नेपाली महिलाहरुले छुटकारा पाउने छन् ।
तर दीर्घकलीन हिसाबले देशभित्रै महिला स्वरोजगारका कार्यक्रमहरुको विकास गरिनु अति जरुरी छ । देशको कूल गार्हस्थ उत्पादनको ८० प्रतिशत हिस्सामा जोडिएका महिला नै आर्थिक विवशताका कारण घर छाडेर विदेशिन थालेपछि नेपाल कङ्गालीकरण हुने निश्चित छ ।
विदेशिएका नेपाली महिलाहरुको हातमा सीप छैन, तिनीहरु तालीम प्राप्त पनि छैनन् । कतिपयले त नेपालभन्दा बाहिरको संसार के हो र कस्तो छ भन्ने थाहपत्तोसम्म पाएका पनि छैनन् । बाहिरी संसारका बारेमा सामान्य जानकारी पनि नभएपछि उनीहरु त्यहाँ पुगेर कसरी घुलमिल हुने मनोवैज्ञानिक तयारीमा रहलान् ?
यस्तो निर्दोषिता, अबोलापन, अनभिज्ञता, अनजानपन र निरीहताको परिस्थितिको फाइदा उठाएर विदेशमा रोजगारदाताहरुले कसरी श्रम शोषण र अन्याय तथा अत्याचार गरिहेका होलान् ? यसको गाम्भीर्यता सम्बन्धित पक्षहरुलाई विना ढिलाई बोध हुनु जरुरी छ ।