यसरी पाक्ने र सेलाउने गरिरहेको छ ओली–दाहाल खिचडी

यसरी पाक्ने र सेलाउने गरिरहेको छ ओली–दाहाल खिचडी

काठमाडौं । नेकपामा अहिले ओली–दाहालबीच खिचडी पाक्न थालेको छ । त्यो खिचडीको जोहो पार्टी अध्यक्ष द्वय ओली र दाहाल बने देखिको हो । दाहालले मनमनै सोचेका थिए– आली सरकार प्रमुख, म पार्टी प्रमुख । तर ओलीले पार्टीको वास्तविक अध्यक्ष आफै र ‘डमी’ अध्यक्ष दाहाललाई बनाएर कार्यक्रम जोतेर अघि बढाए । नेकपाको सचिवालय तथा स्थायी समितिको वैठक बालुवाटारमा बस्न थाल्यो । दाहाल जिल्लिए । ओली सिल्लिए ।

त्यसपछि दाहाल रकम चलखेलतिर हात बढाउन थाले । ओलीले पार्टी कोष स्थापना गरेर दाहालको मोटो रकमको सिह्रानी हालेर लिने गरेको मस्त निद्रा भङ्ग गरिदिए । न त पार्टी हातमा न त रकमकलम हातमा ? दाहाल दोधारमा फसे । दाहालको खुब खेल्ने बानी । ओली खुब खेलाउने बानी ।

त्यसपछि दाहालले अन्तविरोध चाहार्न थाले । पराजित बामदेव गौतमलाई मान्छे बनाइ छाड्ने प्रण जाहेर गरे । बामदेवले यसै मौकामा राखे– अब बूढेसकालको समय सीमा नराखौं । नेकपामा ७० वर्ष काटेपछिको समयसीमा हट्यो । त्यसले मात्र चित्त बुझेन दाहाल र गौतमलाई ।

दाहालले ओलीको विकल्प खोज्न थाले । उनले गौतमलाई जुम्लाबाट एक सांसदलाई राजीनामा गर्न लगाई नयाँ निर्वाचन गर्न प्रस्ताव गरे । यो पनि मनासिब भयो पार्टीमा । यो गठजोड अब आन्तरिक रुपमा ओलीका लागि टाउको दुखाइको विषय भयो ।

तर लामै समय कुर्नु परेन ओलीलाई । जब नेपाली कांग्रेसले नेकपा र उसको सरकारमाथि धावा बोल्न थाल्यो, ओलीले सुर्याए दाहाललाई ‘प्रचण्डको टाउकाको मूल्य तोक्नेहरुले उहाँलाई आज यो ठाउँमा भएको देख्न चाहिरहेका छैनन् ।’ क्या बात् ! प्रचण्ड राँकिइहाले– ‘डा. केसीको जीवनरक्षा गर्ने दायित्व सरकारको हो, अर्को पक्ष गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ । के काङ्ग्रेसले लासको राजनीति गर्न चाहेको हो ? काङ्ग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ? काङ्ग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’

ओलीको ढुस्स भएको मन स्याम्मै घट्यो । कति सज हगि ? ओलीले एक त कांग्रेससँगको दाहालको पानी सम्बन्ध पनि तोडिदिए, अर्कोतिर आन्तरिक रुपमा आफ्नै विरुद्ध लागेका दाहाललाई ढालका रुपमा प्रयोग गरे । नाटकीय रुपमा बदलिएको देखियो ओली–दाहाल सम्बन्ध ।

कांग्रेसको मुखै बैरी । महतले भनिहाले– ‘ओलीभन्दा प्रचण्ड केही सुझबुझका साथ बोल्नुहुन्छ भन्ने हामीलाई लागेको, उहाँको बोली ओलीको भन्दा फरक भएन, हामीलाई पनि अचम्म लाग्यो ।’ नेका प्रवक्ता विश्वप्रकाश शर्माले त विज्ञप्ति नै जारी गरे । ओली र प्रचण्डका अभिव्यक्ति ‘दयनीय र आपत्तिजनक’ भएको भन्दै ‘दम्भयुक्त शब्दको लफ्फाजीभन्दा माथि उठ्न’ आग्रह पनि गरे ।

बामदेव यी सबै घटनाक्रमलाई ‘ट्वाँ’ परेर हेरिरहे । कानुन मन्त्री शेरबहादुर तामाङको राजीनामा आएपछि वामदेवको पनि त्यति जाँगर चलेको छैन जुम्ला चुनावमा होमिन ।