सरकार र डा. केसीबीच बढ्दै श्रृङखलावद्ध वार्ता

सरकार र डा. केसीबीच बढ्दै श्रृङखलावद्ध वार्ता

काठमाडौं । लगभग एक महिनादेखि अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न वार्ताका लागि पहिलो वार्ता मंगलवार साँझ भएको थियो । पूर्व सभामुख तथा पूर्व न्याय मन्त्री सुवासचन्द्र नेम्वाङ तथा पूर्व उपकुलपति केदारभक्त माथेमाको सहजीकरणमा उक्त वार्ताका लागि वार्ता भएको थियो । उक्त सहजीकरण र दुई पक्षीय भेटघाट कार्यक्रममा नेपाका अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल पनि सहभागी थिए ।

बुधवार बिहान पनि वार्ता दुबै पक्षका बीचमा जारी रह्यो । तर निष्कर्ष भने निस्किएको छैन । सरकारी पक्षले डा. केसीका मागहरु निकै राम्रा र मेडिकल शैक्षिक गुणस्तरका लागि भएकाले ग्राह्य भएका सकारात्मक प्रतिक्रिया दिएको छ । डा. केसीका तर्फबाट सहभागी वार्ता टोलीले पनि कुराकानी आशालाग्दो र केसीको जीवनरक्षाका साथै मेडिकल शिक्षा क्षेत्रमा सुधार ल्याउने खालको भनी बताएका छन् ।

तर सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्शको नाममा वार्ता लम्ब्याउन थालेको छ । वार्ता प्रक्रिया अब संसदमा पेस गरिएकोे चिकित्सा शिक्षा विधेयकमा के गर्ने भन्ने कुरामा गएर अडिएको छ । सामान्य पूर्व आँकलनअनुसार विधेयक संशोधनका बुँदाहरुको तयारी गरिन थालिएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आफूहरु सहमतिका बुँदाहरुको खोजीमा लागेको बताएका छन् । सकारात्मक बन्दै गएको वातावरण नधमिलियोस् भन्नेमा आफूहरु पनि सजग रहेको बताएका छन् ।

वार्ता टोलीहरुले जेसुकै कुरा गरे पनि त्यो अन्तिम नहुने र अन्तिम निस्कर्षका लागि डा. केसी तथा सरकारका मन्त्रीहरु नै बस्नुपर्ने भएकाले त्यस अघिका वार्ताले श्रृङ्खलाको रुप धारण गर्ने देखिन्छ ।