नेपाली हुनुको नियति बेचिनु मात्र हो ? यो प्रश्नले नेपाली युवाहरुको मनमस्तिस्क नराम्रो गरी अठ्याएको छ । शारीरिक रुपमा गरिने काम भन्दा मानसिक रुपमा उठ्ने गरेको योे प्रश्नले युवाहरुको क्रियाशीलता, सिर्जनात्मकता र कार्यमा हुने गुणत्मकतामा निकै ठूलो असर पारेको छ । स्वदेशमा काम गर्न पनि पाइएन भनेर चिन्ताले चाउरिएर युवाहरु सडक र गल्लीहरुमा भौतारिएर हिँड्न थाले भने त्यो देशको हालत के होला ?
आज नेपाल त्यही बिडम्बनापूर्ण हालतबाट गुज्रिरहेको छ । हरेक दिन उज्यालो हुन नपाउँदै हजारौंको संख्यामा युवाहरु हातमा पासपोर्ट समाएर विदेशिन ताँती लागेर उभिन जान्छन् । त्यो पनि निराश, हतास र चिन्तित मुद्रामा । देशको सुरक्षाकर्मी प्रहरी लाइन मिलाउन ‘यता पुरुष’, ‘यता महिला’ भन्दै कराइरहेको हुन्छ । उसले मिलाइरहेको लाइनको छेउँनेरबाट लामालामा राता कफनका बाकसहरु आफन्तहरुले रुँदै र चिच्याउँदै बोकेर ओसारिरहेका हुन्छन् ।
देशमा वाम भनिनेहरुको बहुमतको सरकार छ । उसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएको छ । त्यो नारा चाउरिएर लाइन लागेका युवायुवतीहरु छेवैको भित्तामा गोरुको टाउका जत्रा अक्षरमा लेखिएको छ । त्यो पनि कलात्मक र संगीन ढंगले । कुनै पनि युवा वा युवतीको त्यो नाराप्रति न त अकर्षण छ, न त आस्था र विश्वास नै । बस् यो लेख्नका लागि लेखिएको हो । यो त केवल भन्ने कुरा न हो ।
आज खाडीको तातो बालुवामा लाखौं नेपाली युवायुवतीहरु सस्तो र लिलाम बढाबढको भाउमा हाड र छाला खियाइरहेका छन् । तातो हावामा साहुको ऋणको व्याजको हिसाब गरिरहेका छन् । युवतीहरु असैह्य वेदना र अपमानित व्यवहारबाट अस्पट अस्पट छटपटाइरहेका छन् । यता घरमा बूढा बाबा र आमा दिन गनेर बसिरहेका छन् । ससाना छोराछोरीहरु फेसबुकका वालहरुमा आफ्ना बाबाआमा खोजिरहेका छन् ।
सरकारी कर्मचारीहरु यो वर्षको रेमिटेन्स यति र उति भनेर हिसाब राखिरहेका छन् । एकहप्ते पासपोर्ट बिक्रिबाट यति र एक महिने पासपोर्ट बिक्रिबाट उति भनेर हिसाब मिलानमा व्यस्त छन् । दलाल अहिलेको कमाइले एउटा कार किनियो, पोहरको कमाइबाट घडेरी जोडियो भन्दै सेकुवा पसलतिर हुँकिइरहेको छ । सरकारका मन्त्रीहरु एक दुई हप्ताभित्रै अर्बौ बजेट आफन्तहरु र आफन्तहरुका संघसंस्थालाई प्रदान गर्न रातारात रिबन काट्न, मान्यता दिन र बजेट निकासा गर्न आतुर छन् ।
उता नेपाली चेलीहरु अफ्रिकी मुलुक केन्याका डान्सबारहरुमा रुँदै र नाच्दै गरिरहेका छन् । केपी ओलीको सरकारलाई लागेको छ नाच्न पाएको मान्छे पनि रुन्छ र ? तर साच्चै नेपाली चेलीहरु रुँदैरुँदै अफ्रिकी डान्सबारहरुमा नाचिरहेका छन् । अष्ट्रेलियाका वासस्थानहरुमा रुँदैरुँदै नेपाल फर्कने सपना देखिरहेका छन् । उनीहरुको बाध्यता, नग्नता र त्यसबापत आएको रेमिटेन्स यो सरकारका रात्री भोज, महंगा गाडीको मोज र आफन्तहरुको घरघडेरीको खोजमा भरपूर उपयोग भएको छ । हाल केन्या र तान्जानियामा मात्र करीब ३०० भन्दा बढी नेपाली महिलाहरु होटल तथा डान्स बारमा काम गरिरहेका छन् । उनीहरु दलालको फन्दामा परेर बाध्यताबस त्यहाँ पुगेका छन् ।
दलालका कर्तुतमा त्यहाँ पुर्याइएका युवतीहरुको पासपोर्टलगायतका अरु वैधानिक प्रमाणपत्रहरु जफ्त गरिएको छ । ती प्रमाणपत्रहरु मालिक वा रोजगारदाताले लुकाइदिएको छ । उनीहरुलाई लुकेर बस्नुपरेको छ । एयरपोर्टसम्म आउजाउ संभव छैन, उनीहरुको । घर फिर्तीका कुरा त धेरै टाढा छन् । रोजगारदाताले जे गर्न भन्छ, त्यही गर्न बाध्य छन् उनीहरु ।
आखिर देशमा फर्केर वा बसेर पनि केही काम छैन । के सरकारले स्वदेशमा नै युवाहरुलाई रोजगारी दिन सक्ला ? कि नेपाली हुनुको नियति बेचिनु नै हो र ?