काठमाडौं, साउन १ । मुलुकमा आयत हुने वस्तुमध्ये पेट्रोलियम पर्दाथ पहिलो स्थानमा पर्ने गर्छ यो हुँदै गर्दा आर्थिक वर्ष २०७४/७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढेकोले यो वर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । अहिलेको स्थिति हेर्दा निर्यातको तुलनामा दोब्बर रुपैयाँ बराबरको इन्धनमात्र आयात हुने गर्छ ।
०७४/७५मा नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र खाना पकाउने एलपी ग्यास खरिद गरेबापत १ खर्ब ६० अर्ब रुपैयाँ भुक्तानी गरेको छ । प्रत्येक महिना निगमले इन्धन खरिद गरेबापत आईओसीलाई १५ अर्ब रुपैयाँका दरले रकम भुक्तानी गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढ्दा पछिल्लो ६ वर्षयताकै सबैभन्दा बढी रकमको इन्धन आयात भएको तथ्यांकले देखाएको छ । तीव्र रुपमा बढ्दो सवारी साधनको प्रयोगसँगै अन्य पूर्वाधारको कामले गर्दा इन्धनको खपतदर वर्षेनी १५ देखि २० प्रतिशतका दरले बढ्दै गएको निगमको भनाई छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अघिल्लो वर्ष १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको थियो तर यो वर्ष अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले इन्धनको खरिद रकम ४८ प्रतिशतले बढ्न गयो । बढ्दो सवारी साधनको प्रयोगसँगै इन्धनको खपत बढ्दै गएकाले पनि इन्धनको आयात २० प्रतिशतले बढ्न गएको उनको भनाइ छ ।
गत वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकोे मूल्य प्रतिब्यारेल ४५ देखि ५० डलर रहेकोमा यो वर्ष बढेर ७५ देखि ८० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमको खरिद रकमसमेत बढ्दै जान्छ । निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । यस्तै, पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग छ ।






























