स्टिमर चलाउने नाममा जलमाफियासँगको चलखेलमा मन्त्री ज्ञवाली ?

स्टिमर चलाउने नाममा जलमाफियासँगको चलखेलमा मन्त्री ज्ञवाली ?

काठमाडौं । नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेपालको पानी पूरै डोलाएर भारतलाई दिने चलखेलमा लागेका छन् । यो अभिस्ट पूरा गर्नका लागि उनले नेपालमा अबको २ वर्षभित्र गण्डकी, कोशी र कर्णाली आदि नदीहरुमा स्टिमर चल्ने संभावना भएको कुरा फलाक्न थालेका छन् । महाकाली नदी भारतलाई दिएपछि नेपालका घरघरमा त के सारा वन, जंगल र रुखका पातपातमा पनि विजुली बल्नेछ भन्ने तात्कालीन एमाले नेता केपी शर्मा ओलीको पदचिन्ह पछ्याउन थालेका छन् । सुदुर पश्चिमका नेपाली जनताले पूर्वे केपी ओलीले हाम्रो नदी बेचेर खाइदियो भनेर अहिले पनि सराप्ने गरिरहेका छन् ।

नेपाली जनता पहिलेका जस्ता अबोध छैनन् । अहिले नेपालको तर्फबाट केपी ओलीले के के गोप्य सम्झौता गरेर आएका छन्, त्यो नेपाली जनताले केपी र उनका आसेपासे मन्त्रीहरुको हाउभाउ र अभिव्यक्तिहरुबाट बुझिरहेका छन् । उनका निकट मानिने विदेश मन्त्री ज्ञवाली आजभोली नेपालमा स्टिमर भित्र्याउने नाममा नेपालको पानी पूरै डोलाएर भारत पुर्याउन दाम्लो छिनाएर लागि परेका छन् ।

उनले प्रस्ट गर्नु पर्छ कि स्टिमरमार्फत् नेपालका लागि के नै त्यस्तो नौलो कुरा आउँछ र यहाँका कुलो, नहर तथा सिंचाई अनि खानेपानीको मुहानसम्म सोहरेर पानी डोलाएर भारतमा पुर्याई स्टिमर भित्र्याउनु पर्यो त ? यसका पछाडि लुकाइएका तथ्यहरु खोजेर जल तथा सत्तामाफियाहरुलाई बेलैमा चिनेर जनताका सामु ल्याउनु जरुरी भएको छ । विदेश मन्त्री ज्ञवालीको स्टिमर मोह र खानेपानी मन्त्री विना मगरको सगरमाथाको पानी भारतमा लगेर बेचिने भन्ने अभिव्यक्ति ख्यालठट्टा जस्तो भएर एकै ठाउँमा मिल्न पुगेका होइनन् ।

चालु वर्षहरुमा नै भारतमा खाने पानीको अभाव कल्पना गरे भन्दा निकै नै बढी छ । नेपालका सीमासँग जोडिएका उत्तरप्रदेश र बिहारमा नै यो समस्या अझ बढी देखिएको छ । अर्बौ जनसंख्या भएको भारतलाई खाने पानी पुर्याउन पनि निकै धौ धौ परेको छ । त्यसैले खाने पानी तथा सिंचाइका लागि पानी आपूर्ति गर्न भारतले नेपालको हिमालय तथा महाभारतका अटुट पानीका स्रोतहरुमाथि अधिपत्य जमाउन निरन्तर केशिस गरिरहेको छ ।

मन्त्री ज्ञवालीका अनुसार यसका लागि भारतले आफ्ना अधिकारीहरुको टोलीगठन गरी नेपाल पक्षसँग आइतबारदेखि नै वार्ता गरिरहेको छ । उनका अनुसार २ वर्षभित्र नारायणीमा त स्टिमर चल्ने नै भयो थप अरु नदीमा पनि जहाज चलाउने गरी कुराकानी भइरहेको छ ।

भारतीय पानीजहाज प्राधिकरणका अधिकारीहरु नेपालको जल तथा उर्जा आयोगसँग यसबारेमा छलफल गरिरहेका छन् । ज्ञवालीका अनुसार, करिव ३ सय मेट्रिक टन सामान बोक्ने क्षमताको जहाज नारायणी नदीमा चलाइने छ । यसका लागि चाहिने प्राविधिक सहयोग भारत सरकारले दिने छ, स्टिमर पानीजहाज, त्यसको इन्धन र चलाउने ड्राइभर पनि इण्डियाबाट भाडामा ल्याइने छ । अझ थप मजाको कुरा त के पनि छ भने त्यो स्टिमरले भारतीय सामानहरु नेपाल ल्याउने छ ।

विश्लेषकहरुको चासो र चिन्ता कहाँ छ भने भारतकै जहाज, भारतकै इन्धन, भारतकै चालक र भारतकै सामान ल्याउन नेपालले किन राष्ट्रिय ढुकुटी खर्च गर्ने ? किन नेपालको झण्डा राखेर शान देखाउनु पर्ने ? नेपालको डोलाएर भारत पठाएको पानीको लेखाजोखा र हिसाब खोई ? यति गहिरो र लामो बहावयुक्त जलाशय निर्माण गरेपछि प्रति घनमिटर पानीको पैसा कति दिन्छ भारतले ? र, पूरै पानीको मूल्य प्रति घण्टा र प्रति दिन कति पर्न आउँछ ? यसको जवाफ छैन । यसबाट मन्त्री ज्ञवालीको अन्तर्राष्ट्रिय जलमाफियासँग घनिस्टतम सम्बन्ध र चलखेल प्रस्ट देखिन्छ ।  

स्मरण रहोस् स्टिमरका लागि डेढ देखि ५ मिटरसम्मको पानीको गहिराइ चाहिन्छ भने चौडा न्युनतम ४ देखि ५ मिटरसम्म आवश्यक हुन्छ । कल्पना गरौं, यो गहिराइ र चौडाइ भएको पानीको मात्रा नदीमा बहाउन नेपालका कुलाहरु, नहरहरु, कुवाहरु र पोखरीहरु तथा ससाना जलाशयहरु सबै खोलेर बगाउनु पर्छ ।