अनेमसंघ (क्राान्तिकारी) को अध्यक्षको हैसियतले सांगठनिक गतिविधि कसरी अघि बढाउने सोच्नु भएको छ ?
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वैठक बस्ने तयारीमा छौं । हालै संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानमा स्थानीय स्तरमा केही संगठनहरु निर्माण पनि भएका छन् । निर्मित ती संगठनहरुलाई गति दिन वैठकले केही ठोस निर्णयहरु लिने छ । त्यसपछि अलि केही नयाँ ढंगले गतिविधिहरु अघि बढाउने छौं ।
क्रान्तिकारी महिला संगठनको केन्द्रमा सधै नेततृत्वको समस्या परिरहनुका पछडिको कारण के हो ?
नेतृत्व भनेको जुनसुकै संगठनमा पनि संघर्ष, आन्दोलन र वैचारिक छलफल तथा बहसबाट मात्र हुँदो रहेछ । नेपालमा ठूलाठूला आन्दोलन र युद्धहरु हुने तर छोटो समयमा नै ती बिघटनतिर जाने र विसर्जित हुने गरेका छन् । यस को प्रभाव सबैखाले संगठनहरुमा परेको पाइन्छ । तर सबैभन्दा बढी प्रभाव नेपालको महिला संगठनमा पर्न गएको देखिन्छ ।
समाजको आधारभूत हिस्सा र तप्का भएका कारणले महिला क्षेत्रमा यो समस्याले त घर नै गरेको देखिएको छ । महिला नेतृत्वको विकासको समस्या भनेको जुनसुकै भए पनि हरेक संगठनभित्रको आधा हिस्साको समस्या हो । यो समस्याको हल भनेको समग्र आन्दोलन जसलाई हामी वर्गीय आन्दोलन भन्छौं, त्यसैको हलबाट मात्र संभव छ ।
अहिले क्रान्तिकारी वृत्तमा मात्र होइन, जहाँ पनि महिला नेतृत्वको खडेरी छ । यो भनेको मूलतः वर्गीय आन्दोलनले धक्का खाँदै जानु र प्रतिगमनकारी तथा पश्चगामी व्यवस्थाको पुनस्थापना हुँदै जानु आदि कारणले हो ।
आन्दोलन र सङ्घर्षका बेला संभावित महिला नेतृ तथा नेतृत्वको पङ्क्ति नै देखा पर्दछ । तर जब आन्दोलन सेलाउँछ, नेतृत्वले धोखा दिन्छ र वा परिवर्तनशील, अग्रगामी तथा क्रान्तिकारीहरुको हार हुन्छ, सबै ठाउँमा नेतृत्वको संकट पैदा हुन्छ । महिला हिस्सामा त अभाव जस्तै हुन जान्छ । तर एउटा सोचनीय विषय के हुन गएको छ भने पुरुष नेतृत्वको पनि अभाव हुन गएको छ । धेरै मानिसहरु यो आन्दोलनबाट पलायन भएका छन् । यसको कारण आर्थिक समस्या पनि हुन गएको छ ।
महिला नेतृत्वको उठान कसरी होला ?
महिला नेतृत्वको उठानका कुरा वर्ग संघर्षको उठानसँग जोडिएको छ । संसारको आधा हिस्सा ओगटेका महिला वर्गका हिसाबले शोषित र उत्पीडित वर्गका हुन् । यिनको मुक्तिको प्रश्न यस अर्थमा सिधै वर्गीय मुक्तिसँग गाँसिन पुगेको छ । माओवादी पार्टीले वर्ग संघर्षको उठान गर्दा एक हदसम्म साचो अर्थमा महिला र महिला आन्दोलनको उठान भएकै हो ।
तर यसले सेटव्याक खाइसकेपछि चौतर्फी रुपमा दक्षिणपन्थीहरुको दबदबा बढेर गएको छ । यसले महिला, जनजाति, दलित र अन्य नेतृत्वहरुलाई निकै किनारामा पुर्याएको छ । वास्तविक अधिकार प्राप्तिका लागि आन्दोलनको उठान नहुँदासम्म महिला नेतृत्वको विकास असंभव जस्तै छ । कसैले दिएको आरक्षण, कोटा वा समावेशिताका कारणले महिला नेतृत्वको विकास असंभव छ । सचेत पहलकदमी जरुरी छ ।
त्यसो भए अब गरिने वर्गसंघर्षका क्रममा कुनकुन थप कदमहरु चालिएमा महिला नेतृत्वको ग्यारेन्टी गर्न सकिएला ?
साँचो हो, महिला नेतृत्व निर्माणको विषय अहिले असाध्यै खड्किएको विषय हो । महिला नेतृत्वलाई बनाउने, बचाउने र अघि बढाउने कुरा निकै महत्वको विषय हो । हाललाई हामीले चितवनको वैठकबाट केही साचेका पनि छौं । व्यवस्थापनको पक्षमा केही कुरा जोडिएको पनि छ । यसलाई पनि लिएर जाने र संगठन निर्माण तथा परिचालनका लागि जनस्तरमा पुग्ने पनि कार्यक्रमहरु बनाइएको छ ।
टिम निर्माण र टिम रक्षाको कुरालाई पनि ख्याल गर्दै राजनीतिक, वैचारिक, सांगठनिक तथा साँस्कृतिक रुपमा कार्यक्रमहरु निर्माण गरिने सोचिएको छ ।
आजको सामाजिक परिवेशमा अलि केही नयाँ ढंगको उत्पादन प्रक्रियासँग जोडिएर पनि महिला नेतृत्वको विकास गर्न सकिन्छ कि भनेर सोचिएको छ । धेरैधेरै विकल्पहरु बारेमा पनि सोचिएको छ ।
जनयुद्धको पछिल्लो चरणमा आएर केही साम्प्रदायिक प्रकृतिका आन्दोलन पनि देखा परे । महिला नेतृत्वका सन्दर्भमा यसले कत्तिको प्रभाव पार्यो ?
माओवादी पार्टीले आफ्ना जातिय मुक्ति र क्षेत्रीय मुक्ति र लिंगीय मुक्तिका केही एजेण्डाहरु छोड्न पुग्दा यस्तो अवस्था सिर्जना हुन गएको हो । यसले गर्दा जनयुद्धमार्फत् स्थापित गरिएका मुद्दाहरु ओझेलमा पर्न गए । ती एजेण्डा र मुद्दाहरु एनजीओ÷आइएनजीओहरुले आफूले ल्याएका स्वतन्त्र एजेण्डाहरु जस्तो गरी जनतामा भ्रम छर्दै लगे ।
हाम्रा हातबाट ती नारा र मुद्दाहरु खोसिए पनि । यसका लागि देशी विदेशी प्रतिक्रियावादीहरुले भएभरको ताकत पनि लगाए । यसको निकै नै नकारात्मक छाप जनतामा पर्न गएको छ ।
यसले महिला आन्दोलन र महिला नेतृत्वको विकासको प्रक्रियालाई रोकिदिएको पनि थियो । किनकि समग्र वर्गीय आन्दोलन नै धुमिल हुन पुगेपछि यो अवस्थाको सिर्जना हुन गयो । यो भनेको डलरबाट प्रभावित गर्ने र विचार राजनीतिबाट अलग गर्नु रहेको थियो । नारीवादी आन्दोलनको पनि अभ्यास गरिएको थियो ।
(मुडभरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष हुन् ।)