१.धान दिवस
अचेल नेपाल मण्डलमा असारे पन्ध्रमा धान दिवस मनाउने चलन आ’छ । सरकारका हरेक अड्डाखानाहरूमा धान दिवस धुमधडकाका साथ मनाइन्च । दही च्युरा खाएर गमला समलामा धान रोपेर उल्लासपूर्ण वातावरणमा मनाइन्च । एनजिओ र आइएनजिओहरूको त डलर फलाउने महत्वपूर्ण अवसर र खेती हो यो धान दिवस । उनीहरूले झन् नमनाउने कुरै भएन । सरकारवादी राजनीति गर्ने पाटीहर्ले पनि यस्लाई उत्सवका साथ आफ्ना चवन्नी कार्यकर्तासम्मलाई सर्कुलर गरेर अनिवार्य मनाउँचन् । यसरी देशैभरी जताततै धान दिवसै दिवस हुन्च । धान दिवसले गर्दा हाम्रो देश संसारलाई पु¥याउने धान उत्पादन गर्च ।
पैला पैला नेपाली जनमनलाई खान पुग्ने धान नेपालका मैदानी भागमै उत्पादन हुन्थ्यो । अझ पाहाडी भागमा पनि फोगटाफागटीमा धान खेती गरिन्थ्यो । त्यसैले नेपालले धान बेच्न सक्थ्यो । नेपाली जनको अर्थतन्त्र खेतिपातीमै निर्भर थ्यो’ । खेतिपाती नै धेरै भएको हुनाले नेपाल मण्डललाई कृषिपर्धान देश भनेर प्रचार गरिन्थ्यो । तर पनि त्यो बेला धान दिवस मनाउने चलन आ’थेन । गाउँमा हलो जोत्ने तन्नेरीहरू सस्तै भेटिन्थे । जताततै खेतिपातीको चटारोले किसानलाई यो धान दिवस मनाउने फुर्सदै हुन्नथ्यो । मानो छरेर मुरी फलाउने मौसममा बरालिएर उपद्रो गर्ने चासो पनि थे’न ।
ऐले घरघडेरीको ब्यापार गर्नेहर्लाई सम्मो ठाउँ देख्नै हुन्न । डोजर लगेर नालासाला कोरकार पार्चन् र बगर लगेर खन्याई हाल्चन् । सम्मो ठाउँमा घरैघर मात्रै फलेका छन् । त्यै भ’र धान रोप्ने खेत जति सबै घरघडेरीमा विकास भए । यो हाम्रो देशको सबैभन्दा ठूलो विकास हो । अब कृषिपर्धान हैन घडेरीपर्धान देशको रूपमा विकास भयो । अघि कृषिपर्धान देश हुँदा देशको राजस्व कृषिबाट धेरै आउँथ्यो । अब घडेरी किनबेच गर्दा राजस्व धेरै उठ्छ । त्यसैले अब नेपाल मण्डललाई घडेरीपर्धान देश भन्नु सोह«ैआना मुनासिव ठहर्च । अलिअलि बचेखुचेका खेतमा पनि धान रोप्नलाई खेती गर्ने मनुखे पनि छैनन् । तन्नेरी जति खाडितिर छिरे । पैसा हुने जति अम्रिका, अस्ट्रेलिया, नर्वे, क्यानाडा, बेलायत कताकता पुगेका छन् । पाखुरा हुने जति खाडितिर, मलेसिया, कोरियातिर भासिएका छन् । देशमा त बूढाबूढी, अर्धअपाङ्ग, बालबच्चा र सत्ता चलाउने ठेकेदार नेताहरू मात्रै छन् । देशै बृद्धाश्रममा बदलिसकेको छ । त्यसैले सर्खारले पैलापैलाको कृषिकार्य सम्झेर त्यसको सम्मान गर्नका लागि गमलामा धान रोपेर, मन्त्रीका टाउका र रोपार्नीका छातीमा धान रोपेर धान दिवस मनाइन्च ।
२.असारे विकास
नेपाल मण्डलको विकास गर्ने काइदा पनि गजबको छ । यहाँको सर्खारका मन्तरी र मान्नेहरू, सर्खारी कारिन्दाहरू, ठेकेदारहरू, इञ्जिनियरहरू एघार मैनासम्म देश देशाटन घुमेर, विभिन्न कार्यक्रमहरूमा भाषण भिषण गरेर, दिवसहरू मनाएर, बड्डे मनाएर बिताउँचन् । जब असार मैना आउँच त्यसपछि धमाधम विकासका मूल फुट्छन् । असारे झरीले असारे पानीका मूल र विकासे मूल फुट्ने होडबाजी नै हुन्च । असारमा मात्रै त देशको सम्पूर्ण विकासे बजेट सकिन्च भने बाह«ै मैना खर्च गर्ने बजेट हुने हो भने नेपाल मण्डलको विकास त संसारमा सबै भन्दा बढि हुने थियो । यो मण्डल संसारमै पैला हुने थियो । हामी नेपाली रैतीहरू गरिब भएको त विकास गर्ने पैसो नै नभएर हो । जम्मा एक महिनालाई पुग्ने विकासे बजेट हुन्च हाम्रो सर्खारसित । यहाँ काम नपाएर नै हाम्रा तन्नेरीहरू सबै विदेश भासिन रुचाएका हुन् भन्ने कुरा त जगजाहेरै छ ।
एक मैनामा बजेट सक्यो सर्खारले भनेर पत्रकारहर्ले कोकोहोलो मच्चाउचन् । बिनासित्ती कुरो नबुझिकन भँगेरा टाउके अक्षरमा वान्ता गरेर छाप्नी, घोक्रो च्यात्तिने जोरसित रेडियो र टिभीबाट खोक्नी गर्चन् । बाह«ै मैनालाई पुग्ने न हामीसित काम छ न खर्च गर्नी दाम छ । एकै मैनामा सफाचट भैहाल्च भने बाह« मैनासम्म किन समय खेर फाल्नु । भुक्ने कुकुर भुक्दै रन्च हात्ती आफ्नै चाल । लौ है सर्खार कसैको विरोध सिरोधका खोकखाक नसुन्नू विकास त असारमै गर्ने चलन छोड्न हुन्न । यो त हाम्रो नित्तान्त मौलिक संस्कृति पनि त हो । मौलिक संस्कृतिको जगेर्ना गरे पो त्यो हेर्न खैरे कुइरेहरू आउँचन् । यो त हाम्रो पर्यटक भित्र्याउने गजबको अवसर पनि हो । यसलाई सदासर्वदा बाचर्य राख्न पर्च ।
३. स्मार्ट सहर
गएको वर्ष रैथाने चुनाउमा सरकारवादी पाटीले स्मार्ट सहर बनाउने घोषणा पत्र जारी गरेका थिए । काठमाण्डु महानगरका मुखियाले स्मार्ट गराउँचु भनेर पैला घोषणा गरे । त्यसपछि ललितपुर, पोखराका, हुँदै देशै भरीका मुखियाहरूले स्मार्ट बनाउँचम् भनेर बाचा कवोल खाए । अहिले देशैभरीका सहर स्मार्ट बनेका छन् । सबै भन्दा राम्रो स्मार्ट सहर काठमाण्डु भएको छ । अझ त्यसमा पनि पर्धानमन्तरीले गुज्जर भैयासित पानीजहाज चलाउने सम्झौता समेत गरेको र मान्नेहरूलाई पुसबाट पानीजहाज चढ्न तयार हुन निर्देशन समेत दिए । अहिले राजधानीमै जलमग्न भएर पानीजहाज काठमाण्डुसम्मै आउने व्यवस्था भएको छ । प्रत्येकका घरघरमा पानीजहाज जान सक्ने व्यवस्था हुनु स्मार्ट सहरको पहिलो नमुना हो । संसारका समुन्द्रको किनारामा भएका सहरमा समेत घरघरमा पानीजहाज जान सक्दैनन् । तर हाम्रो देशाँ त पाहाडै छिचलेर राजधानीमा समेत प्रत्येकका घरघरमा पानीजहाज आउन सक्ने भएको छ ।
अस्ति थाइलैण्डका केटाकेटीलाई गोताखोरहरूले पानीभित्रको गुफाबाट उद्धार गरेको भन्ने समाचार आ’थ्यो । यहाँ पनि पानीजहाज आयो र कहिले भन्दा जहाज समुन्द्रमा डुब्यो भने उद्धार कसरी गर्ने भनेर त्यसको परीक्षण तालिम समेत गरियो । भक्तपुर, चावहिल र बौद्धमा उद्धारकार्यको पूर्व तयारीको तालिम गर्ने व्यवस्था यहाँको स्मार्ट सहरको निर्माणकर्ताले गरेका थिए । अहिले काठमाण्डु लगायत देशका थुप्रै सहरहरूमा ढल निर्माण गर्ने, बाटो पिच गर्ने, नाला खन्ने, बिजुली, खानेपानी, टेलिफोनका तारहरू जमिनभित्रबाटै लैजाने व्यवस्था भइरहेको छ । सहर होस् त काठमाण्डु जस्तो भनेर विश्वभरी देखाउन मिल्ने स्मार्ट सहर बनेको छ ।
४. सगरमाथाको पानी
सर्खारका खानेपानी मन्तरीले हाम्रो सगरमाथाको पानी संसारभरी बेचेर देशलाई समृद्ध बनाउने घोषणा गरेकी छन् । यो सर्खारको मुख्य योजना नै देशलाई समृद्ध बनाउने भएको हुनाले समृद्ध बनाउन धेरै पैसा चाहिन्छ । त्यो पैसा जम्मा गर्ने महत्वपूर्ण आम्दानी सगरमाथाको पानी हुने भएको छ । उदार पूँजीवादले सरकारी उद्योगधन्दा जति सबै बेचेर पूँजीवादको विकास गरिसकेको थियो । कृषिपर्धान देश भएकाले पहिला कृषि उपज बेचेर विदेशी पैसा आउँथ्यो । अहिले खेतीपाती हुँदैन । रासन र तरकारीसमेत विदशबाट आउँछ । भएका प्राकृतिक साधनश्रोत पनि अरूले नै कब्जा गरिसकेका छन् । त्यसैले नेपालबाट विदेशमा निर्यात गर्ने एक मात्र भरपर्दो जिनिस भनेको सगरमाथाको पानी नै हो । अब त्यो पानी वोतल र जारहरूमा भरेर संसारभरी फैलाउन सकियो भने देश त एकै वर्षमा अम्रिका जापान, चाइना, बेलायत जस्ता देशलाई उछिन्न सकिन्छ । त्यसपछि त देश समृद्ध बनिहाल्च ।
३० असार २०७५