कहाँबाट जुट्छ त केरुङ–काठमाडौं रेलमार्गको बजेट ?

कहाँबाट जुट्छ त केरुङ–काठमाडौं रेलमार्गको बजेट ?

 

काठमाडौं । प्रम केपी ओलीको चीन भ्रमणका क्रममा बहुचर्चित हुन पुगेको केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि आवश्यक बजेटबारे सरकार मौन छ । उक्त रेलमार्गलाई देशको ‘समृद्धिको ढोका खोलेर विकासमा कायापलट ल्याउने’ भनेर चर्चा पनि गरिएको छ । तर लगानी कसको हुने छ ? यसबारे मुख न त चीनले खोलेको छ, न त नेपालले नै ।

नेपालमा रेल आवश्यक छ । तर रेल त्यत्तिकै पनि त आउँदैन । रेल ल्याउनका लागि भौगर्भिक अध्ययन अनुसन्धान र त्यहाँ रहेका संभावना वा जोखिम, प्रयोग हुने वा गरिने टेक्नोलाजी, आवश्यक जनशक्ति आदिका बारेमा पनि छलफल आवश्यक छ ।
नेपालका ससाना आयोजना पनि वैदेशिक ऋणमा सञ्चालन हुने गरेका छन् । यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व भए तापनि हाल लगानीका लागि कसले पहलकदमी लिने भन्ने कुरा अन्यौलतामा छ ।

भन्न त नेपालको तर्फबाट चीनले केरुङ–काठमाडौं रेल बनाइदिन आग्रह गरिएको भनिएको छ । भारतबाट आउने रेल भारतले नै बनाइदिने पनि भनिएको छ । तर वास्तवमा ओली सरकारले संझौता वा सहमति गर्दा यसबारे के गरेको छ ? यो कुराको जनसाधरणलाई पनि जानकारी हुनुपर्छ ।

नेपाल जस्ता अल्पविकसित वा विकासोन्मुख देश विकासका नाममा वैदेशिक ऋणबाट शासित भएका छन् । पछिल्लो पटक विश्व नै खाएको कर्पोरेट पुँजीवादको आर्थिक चुसाइबाट निकै आक्रान्त छन् । यस्ता देशहरुमा आर्थिक विकासका नाममा भित्र्याइएका वैदेशिक ऋण भ्रष्टाचार, अनियमितता र कमिसनमा स्वाहा पारेर सिध्याएका छन् । देशमा समृद्धि र विकास हुनेछ भनेर आशामा बाँचेका जनता उल्टै गरिबी र विपन्नताको सिकार हुन पुगेका छन् ।

एक आँकडाअनुसार सन् १९६०को दशकताका भर्खरै उपनिवेशबाट मुक्त भएका अफ्रिकी देशहरुले देश विकास र जनताका नाममा विसाल धनराशी ऋण लिए । उनीहरुले नेपालको वर्तमान ओली सरकार जस्तै राजनीतिक स्थायित्व, समृद्धि र आर्थिक विकासका कुरा निकै गरे । त्यहाँका जनता निकै मन्त्रमुग्ध भए । तर ती देशहरुमा अन्धाधुन्ध वैदेशिक ऋण लिएका कारण आर्थिक ऋण र भ्रष्टाचार तथा कमिसनखोरीका कारण दशकौं पछाडि धकेलिए । यो र यस्तै घटनाक्रम ल्याटिन अमेरिकी देशमा पनि बारम्बार दोहोरिइरहे ।

देशमा कृषि उद्योगहरुका साथै अन्य साना र केही ठूला उद्योगहरु स्थापना गरेर देशको आर्थिक सम्बन्धमा तात्विक भिन्नता ल्याउने गरी आधार तयार नपारेर विदेशी ऋणमा चामत्कारिक विकास खोज्ने विकासे प्रवृत्ति दलाल र परनिर्भरमुखी सोच हो । यसले अफ्रिकी तथा ल्याटिन अमेरिकी फेलर मोडेललाई पछ्याइरहेको छ । यसबारेमा पूर्व सतर्कता अपनाउनु वुद्धिमानी होला ।